बालसुधार गृहको झ्याल तोडेर १६ र १७ वर्षीय किशोरहरू फरार भएको घट्नाले पक्कै पनि सुधार गृहको गृह र त्यो गृहको सुरक्षामा खटिएका प्रहरीको अवस्था माथि शङ्का उब्जाएको छ । फरार दुवैजना नेपालको कानूनले बालविज्या कर्ता मानेको छ । उनीहरूलाई अदालतको आदेशपछि पुर्पक्षका लागि उमेर नपुगेकाले बालसुधार गृहमा पठाएको हो । फरार मध्ये एकजना ज्यान मार्ने उद्योग र अर्का जबर्जस्ती करणी मुद्दाको सन्दर्भमा बालसुधार गृहमा राखिएका थिए । उनीहरू बन्दी हुन् । तर, सोमबार विहान तीन तला माथिको झ्याल फोरेर भागे पछि विराटनगरमा रहेको सुधार गृहको बनावट र प्रहरीको सुरक्षा स्थितिलाई दर्शाएको छ । सोमबार विहान ४ बजेसम्म बाल सुधार गृहमा रहेका ‘बाल बिज्याकर्ता’ को अभिलेख सुरक्षामा खटिएको प्रहरीलाई जानकारी गराएका थिए । यसको अर्थ विहान चारबजेसम्म फरार घट्ना भएको थिएन । ती बालविज्याकर्ताहरू उज्यालो भइसकेपछि फरार भएको देखिन्छ ।
वयस्कहरूले जेल फोरेर, सुरुङ बनाएर, हतियार खोसेर, प्रहरीलाई लोभलालच देखाएर, मादक पदार्थ सुँघाएर झुक्याउँदै भागेका समाचारहरू पत्रपत्रिकामा पढ्दै आएका छौँ, डिजिटल मिडिया अनलाइनमा देख्दै आएका छौं, रेडियो टेलिभिजनमा देख्दै आएका छाँै । प्रदेश १ को उक्त सुधार गृहमा १४ जिल्लाका १ सय ४८ विज्याकर्ताहरू रहेका छन् । ती मध्ये जबर्जस्ती करणी मुद्दाका ७९ जना, कर्तव्य ज्यान मुद्धाका २० जना, लागुऔषध मुद्धाका १७ जना, सवारी ज्यान मुद्धाका ६ जना, ज्यानमार्ने उद्योगका ९ जना, डाका मुद्धाका ८ जना, चोरी मुद्धाका ७ जना, अपहरण तथा शरीर बन्धक मुद्धाका २ जना रहेका छन् । ती मध्ये दुइजना झ्याल फोरेर भागेका हुन् । कुनै पनि अपराधमा संलग्न भएका प्रतिवादी १८ वर्षभन्दा मुनिका भए उनीहरूको हकमा थुनामा राखेर कारवाहीको प्रक्रिया अगाडि बढाउनु परे अदालतले बाल सुधार गृहमा पठाउने गरेको छ । सोही नीति अनुसार १८ बर्ष मुनिका बालबालिकालाई सुधार गृहमा राखिएको हो । तर, सुधार गृहलाई नै पहिले सुधार गर्नुपर्ने देखिएको छ ।
यहाँ दुइटा विषयमा खोतल्नु जरुरी देखिएको छ । पहिलो, सुधार गृह (बन्दी गृह) को अवस्था । बन्दी अवस्थामा किशोर किशोरीले नै फोड्न सक्ने झ्याल ढोका हुनु सुधार गृह कति नाजुक रहेछ भन्ने स्पस्ट हुन्छ । झन् जानाजान विभिन्न अपराधमा संलग्न १५ देखि १८ वर्ष छेउछाउका बालबालिकाका मनोविज्ञान पनि सोही अनुसार आक्रामक हुन सक्छ । समाज, परिवार, आधुनिक सूचना प्रविधि, इन्टरनेटले उनीहरूको मन–मस्तिष्कलाई एकप्रकारले वयस्क जस्तै बनाएको हुन्छ । यस्तो अवस्थामा सुधार गृह साँच्चैको सुधार गृह जस्तै हुन जरुरी छ । तर, विराटनगरको सुधार गृह त्यस्तो नभएको देखिएको छ । दोश्रो, सुधार गृहमा रहेका बालबालिकाका सुधार गर्न रातदिन तैनाथ भएर बसेका प्रहरीको प्रस्तुति पनि उदेक लाग्दो देखिएको छ । झ्याल फोरेर तीन तला माथिबाट भागिन्जेल के त्यहाँ प्रहरी सहायक निरिक्षक (असई) को कमाण्डमा साधा पोशाकमा खट्ने १० प्रहरी मुक दर्शक भएर उभिएको थियो होला ? तीन तला माथिबाट उफ्रेर जमिनमा पक्कै झरेनन् । तीन तलामाथिबाट हामफाल्नु भनेको एक प्रकारले आत्महत्या गर्नु सरह हो । हुनसक्छ सिधै हाम नफाली कुनै न कुनै उपायले जमिनसम्म झरेर फरार भए । के सुधार गृह वरिपरि पर्खाल छैन ? पर्खाल र उक्त भवन वरिपरि प्रहरी सुरक्षार्कीहरू थिएनन् ? ड्युटीमा भएका प्रहरी सुरक्षाकर्मी सुतेका थिए ? कि सेटिङ थियो ? यी सबैको उत्तर पाउनकालागि छानवीन हुन जरुरी छ । र, उक्त समयमा बालसुधार गृहको ड्युटीमा खट्ने प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान हुन जरुरी छ ।