उप–निर्वाचनको नजिकै आइसकेको अहिलेको समयमा राजनीतिक दलहरू मत परिणाम आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड, भेदको नीति अपनाएर लागि परेका छन् । धरान उपमहानगरपालिकाको मेयरका लागि हुन लागेको निर्वाचनका लागि २३ जनाले नाम दर्ता गराएपछि मुख्य प्रतिस्पर्धा नेकपा र नेपाली काङ्ग्रेसका उम्मेदवारबीच हुने देखिएको छ । तीन दशकदेखि कम्युनिष्ट पार्टीका उम्मेदवारले जित्दै आएको ठाउँ हो धरान । कम्युनिष्टको गढ भन्ने गरिएको धरान विकासको गतिमा भने धेरै अघि बढ्न सकेन । यहाँ भएका क्षेत्रीय स्तरका सरकारी कार्यालयहरू अन्यत्र सारिए । उपमहानगरले धरान सभागृह जस्ता आफ्नै सम्पत्तीहरूको राम्रो संरक्षण गर्न सकेन । लामो समयदेखि पर्याप्त पानीको अभाव भोगिरहेको धरानले अहिलेसम्म समाधान पाउन सकेन । धरानमा बन्न लागेका ठूला आयोजनामा कम्युनिष्ट पार्टीकै कार्यकर्ता र नगरपालिकाकै कर्मचारीको हालीमुहाली हुँदा विवाद उत्पन्न भयो । धरानमा धेरै योजनाहरू विवादमा परे र अधुरा बने । यस्ता विविध कारणले धराने मतदातामा निराशा छाएको छ । त्यसकारण पनि यसपटकको उपनिर्वाचनमा नेकपालाई चूनौती छ । उता कम्युनिष्टका यिनै गलत कार्यलाई मुद्दा बनाएर अघि बढेको नेपाली काङ्ग्रेसलाई पनि यो उपनिर्वाचन ठूलो परीक्षाका रूपमा अगाडि आएको छ । यसपटक जिते धरानमा नयाँ इतिहास बन्ने आशामा काङ्ग्रेसले केन्द्रीयस्तरका नेताहरू निम्त्याएर कार्यक्रम गरिरहेको छ ।
विशेषगरी नेकपा र नेपाली काङ्ग्रेसका लागि यसपटकको चुनाव चूनौतिहरूको पहाडका रूपमा खडा भएको छ । त्यसैले पनि उनीहरू जित्नका लागि सबै प्रकारका हत्कण्डाहरू अपनाइरहेका छन् । यो क्रममा आचार संहिताको व्यापक उल्लङ्घन पनि भइरहेको छ । निर्वाचनमा आफ्नो पार्टी वा पक्षले जितोस् भन्ने कामना स्वाभाविक हुन्छ तर निर्वाचनको नाममा राज्यले तोकेका नियम उल्लङ्घन गर्नु गलत हो । तर, अचम्म चाहिं आचार संहिता लागु गर्ने निकाय नै कार्यान्वयनमा सक्रिय देखिंदैन । यसले कार्यान्वयन गर्ने निकाय नै दलहज्ञको प्रभावमा परेको भान हुन्छ ।
यो उपनिर्वाचनले सबैभन्दा प्रभाव धरानका सञ्चारकर्मीलाई पारेको छ । सञ्चारकर्मीहरू निष्पक्ष हुनुपर्नेमा अधिकांश सञ्चारकर्मी राजनीतिक दलका कार्यकर्तामा रूपान्तरित भएका छन् । एउटा दलको प्रचार प्रसार समितिमा रहेर काम गरिरहेका सञ्चारकर्मीले कसरी निष्पक्ष रूपमा लेख्न सक्ला ? केही दिनअघि दलका प्रचार समितिमै रहेका सञ्चारकर्मीहरूले साम्प्रदायिक हिंसा भड्काउने किसिमका समाचार पनि लेखे । आचार संहिताको समेत ख्याल गरेनन् । दलहरूले सञ्चारकर्मीको यसरी दुरुपयोग गरेर ठूलो गल्ती गरेका छन् । यसले धरानको पत्रकारिता जगतलाई राम्रो बाटोमा अवश्य अघि बढाउने छैन ।
दलहरूलाई उपनिर्वाचनका नाममा जे पनि गर्ने छुट छैन । उनीहरू पनि नियममा बस्नु जरुरी छ । यो समयमा आचार संहिता लागु गर्ने र नियमन गर्ने निकायले सक्रियता देखाउनु जरुरी छ ।