बाँसका जराबाट विभिन्न कलाकृति बनाएर चर्चा कमाएका रोजन राई पछिल्लो समय मूर्ति बनाउन व्यस्त छन् । धरान–१५ स्थित उनको रोजन आर्ट ग्यालरीमा अहिले किरात राजा यलम्बर र विभिन्न व्यक्तिका मूर्तिदेखि घोडाका आकृतिसम्म बनिरहेका छन् । यही ग्यालरीमा रोजन अचेल व्यस्त छन् ।
रोजन अचेल ग्यालरीमा मात्र मूर्ति कुँदेर बस्दैनन् । विभिन्न ठाउँमा निर्माण हुने रिसोर्टहरूमा उनी आफ्नो कला पोखिरहेका हुन्छन् । ‘धरानमा हुँदा ग्यालरीमा व्यस्त हुन्छु, नत्र भोजपुर, खोटाङ, ओखलढुङ्गातिर ठूलो पार्कहरूका लागि पनि काम गरिरहेको हुन्छु’ –केही दिनअघि ग्यालरीमा भेटिएका उनले सुनाए । उनले काठमाडौंको शङ्खमूलमा शङ्ख पार्क, भेडेटारको शङ्खेश्वर मन्दिरदेखि सिक्किमका विभिन्न मूर्ति र आकृति कुँदेका छन् ।
पछिल्लो समय मूर्तिमा रमाएका रोजन शुरुका दिनमा बाँसका जरामा आफ्नो कला पोख्थे । अझ त्यसभन्दा अघि उनी बाँसका बाँसुरी बनाउँथे । खोटाङको दिक्तेलमा बाल्यकालमा उकालो ओरालो गर्दा बाँस र मालिङ्गोका झ्याङ भेटिन्थे । लामा आँख्ला भएको सानो बाँस र मालिङ्गो देख्ने बित्तिकै च्वाट्टै काट्थे रोजन । अनि सिधा जतिलाई खोपेर लामा– लामा बाँसुरी बनाउँथे, बाङ्गा जतिलाई लौरो । अलि ठूला बाँसमा चाहिँ ढुङ्गाले कोरेर आफ्नो नाम कुँद्थे ‘रोजन’ ।
बाँसमा कला देख्ने उनलाई विस्तारै बाँसका जरा देख्दा उनलाई काँडा फिँजाएको दुम्सीजस्तो लाग्थ्यो अनि कतै ध्यानमा बसेका बुद्ध । तिनलाई टिपेर घरमा ल्याउँथे अनि आफूले कल्पना गरेजस्तै आकृतिमा ढाल्थे । यसरी उनले खोलामा, पहरामा फ्याँकिएका बाँसका जरा जम्मा पार्न थाले र तिनलाई छेपारो, ड्रागनदेखि बँदेल, मान्छे र भगवानसम्मका आकृति बनाए । कतिलाई घरमै सजाए, कतिलाई उपहार दिएर पठाए । रोजन भन्छन्, ‘म त बाँसका जरा भनेपछि भुतुक्कै हुने, पागलप्रेमीजस्तै भएँ ।’
उनले इटहरीमा ‘मनशान्त’ होटल शुरु गरे तर उनको ध्यान भने बाँसकै जरामा । होटल पनि बाँसकै जराबाट बनेका जीवजन्तुले भरिए । उनले बनाएका बाँसका सामग्री जापान, युके, अमेरिकासम्म पुगे । बाँसप्रेमले यस्ता सामग्री बनाउन थालेका उनलाई एउटै बाँसको जराबाट ५५ हजारसम्म आम्दानी पनि भयो । उनले धेरैलाई आफूले बनाएका बाँसका सामग्री दिए । ‘ठमेलमा एकजनाले मेरै सामान राखेका थिए पछि विदेशीले सामान मन पराएर उनलाई पनि विदेश लगेछन्’ –उनी भन्छन् ।
रोजनलाई व्यवसायभन्दा बढी ध्यान बाँसमै जान थाल्यो । त्यसपछि उनले इटहरी छाडेर भेडेटारमा ‘मनशान्त ग्यालरी रिसोर्ट’ शुरु गरे । बाँसबाटै प्लेट, टेबल, कुर्सीदेखि होटलमा सुत्ने बेडसम्म आफैले तयार पारे । बिग्रिएका टेम्पो, गोरुगाडाका चक्का र सामग्री जम्मा गरेर आकर्षक बस्ने ठाउँ बनाए ।
भेडेटारको आकर्षक मनशान्त ग्यालरी पनि छाडेर उनी पछिल्लो समय मूर्तिकलामा रमाएका छन् । ‘बजारमा चाइनिज फर्निचर महँगो पर्दोरहेछ, त्यसको ठाउँमा सजिलै पाइने बाँसलाई सस्तो र सजिलोसँग प्रयोग गरेँ’ रोजन सुनाउँछन्, ‘बाँस त हाम्रो जन्मदादेखि मर्दासम्म काम लाग्ने र सबै ठाउँमा पाइने चिज हो । यसको प्रयोग सबैलाई लाभदायक छ ।’
काठका सामग्री प्रयोग गर्दा वन जङ्गल नाश हुन्छ, त्यसैले रोजनलाई बाँसबाटै फर्निचरका सामग्री बनाउनुपर्छ भन्ने लाग्छ । उनले पूर्वमा बाँस उद्योग खोल्न पहल पनि गरेका हुन् । धरान औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरेर गाउँमा खेरगएका बाँस किन्ने अनि तिनका फर्निचर बनाएर सस्तोमा बेच्ने योजना थियो । तर खाली ठाउँ भए पनि औद्योगिक क्षेत्रका पदाधिकारीले उनलाई दिएनन् । उनी भन्छन्, ‘यो मेरो फाइदाका लागि गर्न खोजेको होइन, नगरपालिकाले नै गरे पनि हुन्छ भनेँ तर वास्ता गरेनन् ।’
बाँससँगको प्रेमलाई सबैको फाइदाका लागि प्रयोग गर्न खोजे पनि सरकारी तहबाट साथ नपाउँदा उनी निराश छन् तर उनले हरेश खाएका छैनन् । होटल व्यवसायभन्दा बढी कलाकर्ममै रमाइरहेका रोजन अहिले विभिन्न ठाउँमा मूर्ति र मन्दिर बनाउन व्यस्त छन् । ‘पहिला आफ्नो नाम प्रचार गर्न बाँसमा कोर्थें’ उनी भन्छन्, ‘अहिले त्यही बाँसले मेरो नाम देशविदेशमा प्रचार गरिदिएको छ ।’