राजनीति आफ्नो स्वार्थप्रतिको प्रोपोगाण्डामा मात्र मच्चिरहने हो भने देशले मुहार फेर्न सक्दैन र बास्तविक विकासको स्थुलता केवल स्वच्छ दिमागका कल्पनामा मात्र सीमित रहनेछन् र रहेका छन् । हामीले मान्नुपर्छ राजनीतिको एउटा क्षेत्र छ । समाजका अन्य महŒवपूर्ण पाटाहरू स्वतन्त्र र शक्तिशाली हुनुपर्छ । जब स्वतन्त्र र शक्तिशाली हुनुपर्ने पाटाहरूमाथि राजनीतिक हस्तक्षेप हुन्छ तब नीति, मूल्य र मान्यतामाथि कुठाराघात हुन्छ । विद्यार्थीका सादा कापीभरि सिर्जनाका लहर हुनुपर्छ, आदर्श अनि व्यावहारिक शिक्षाको उपस्थिति हुनुपर्छ ।
सेताकापीमाथि राजनीतिका काला धब्बाहरू लाग्छन् भने त्यसलाई विद्यार्थी मस्तिष्कमाथिको ट्युमर मान्नुपर्छ । एउटा आदर्श व्यक्तित्व निर्माण गर्न नसक्ने शिक्षामाथि लादिएको राजनीतिले बौलाहा व्यक्तिको उत्पादन गर्छ । जब विद्यार्थी आफ्नै कलेज जलाउँछ, आफ्नै भवन भत्काउँछ र गुरुहरूमाथि अपशब्द बोल्छ भने कुन आदर्श शिक्षाले यस्तो व्यवहार सिकायो ? भोलिका कर्णधार भविष्यमाथि अक्टोपसका बाँगिएका हातले निर्मततापूर्वक प्रत्याक्रमण गर्न खोज्छ भने देशको भविष्य बालुवामा बनेको घरमा पानी परेको झरी जस्तै नै हो । विद्यार्थीलाई नचाएर गरिएको आन्दोलन केही वर्ष बित्न नपाउँदै खाडलमा प¥यो ।
किन प्रजातन्त्रको मूल्य र मान्यतासापेक्ष उन्नयन गर्न सकेनन् राजनीतिक दलहरूले ? किन सल्कियो राजनीतिक समस्या आगो झैं ? हो, यस्ता प्रश्नहरूले उत्तर भेटाउन सजिलो छैन । किनकि, यहाँ स्वच्छ धानका खुराकहरू नै भेटिँदैनन्, आफ्नै मस्तिष्कले बनाएको नियम आफैले मान्दैनन् । वर्षौंसम्म देश चलाउने राजनीतिक दलले जनताको भावना किन बुझ्न सकेनन् । शिक्षालयको कक्षाकोठामा भाषण गरेर नेताको वक्तृत्वकलामा विकास होला तर विद्यार्थीको मस्तिष्कमा चेतना पलाउन सक्दैन । विद्यार्थीलाई परीक्षामा बन्देज गराउने अधिकार राजनीतिलाई छैन । साथै याद राख्नुपर्छ राजनीतिले शिक्षालाई जन्माउन सक्दैन बरु शिक्षाले राजनीतिलाई जन्माउन सक्छ, जन्माएको छ । भर्खर जन्मिएको राजनीतिले जन्माउने जन्मदातालाई खेलाउँछ । त्यसैले शिक्षा राजनीतिको पेवा हुन सक्दैन ।
खोई नेपालमा वैज्ञानिक दार्शनिक ? जसले विकास गरोस् विज्ञानको, जसले पत्ता लगाओस् भूगोल, जसले पत्ता लगाओस् नयाँ दर्शन, कला र साहित्य, खोई नेपालमा धार्मिक शिक्षा ? जसले सिकाओस् मूल्य मान्यता, सत्यता र वास्तविकता अनि उचित नियमको पालना । कुनै धर्ममा भेद छैन, विभेद छैन तर नेताको स्वार्थपूर्तिका लागि धर्मको वर्गीकरण भयो तब धर्म निरपेक्ष भयो । धर्ममा वाद छैन, सिद्धान्त छैन । धर्ममा सत्यता छ, प्रेम छ अनि यथार्थ सत्य छ ।
तर, राजनीतिले छुट्यायो धर्मको वर्गीकरण हिन्दू, मुसलमान, इसाई, हिब्रु, बुद्ध । सबै धर्म र शिक्षाको आदर्श शान्ति, अहिंसा, परोपकार,भ्रातृत्व र एकता हुन्। तर स्वार्थवश द्वन्द्वको पराकाष्ठाले धर्मको वर्गीकरण भयो, धार्मिक शिक्षामा पनि राजनीतिकरण भयो, यसरी शिक्षा राजनीतिको पेवा भयो । तर, हैन, यो सत्य छ, शिक्षा राजनीतिको पेवा होइन । विद्यार्थी जगत्को वा विद्यार्थी जीवनको विवशता र मजबुरी हुन्छन् । त्यो पनि नेपाल जस्तो अविकसित मुलुकमा के कस्ता समस्या भोगेर विद्यार्थीहज्ञ पढाइमा तल्लिन हुन खोज्छन् । तर, ती विवशता र मजबुरीलाई हतियार बनाएर लडाइँ लड्नेहरू प्रशस्त छन् । कहिले बन्द, कहिले हड्ताल, तालाबन्दी, आन्दोलन, जुलुस, धर्ना के यी शिक्षा क्षेत्रका लागि उपयुक्त हुने कार्यक्रम हुन् ? कोही राष्ट्रिय समस्याका लागि लड्छ भने स्वतन्त्र भएर लड्नै पर्छ ।
राजनीतिक दलको गुट उपगुटमा लागेर गरिने आन्दोलन राजनीतिक स्वार्थको सिद्धान्तमा आधारित हुन्छ । प्रजातन्त्र पुर्नबहाली पश्चात् राजनीतिक दलहरूप्रति नेपालीहरूको वितृष्णायुक्त भावनाले दर्शाइसक्यो कि राजनीतिक मुखुण्डोभित्रको कालो खेल सधैं सत्ता पक्षको हुन्छ, जनताको पक्षमा, देशको पक्षमा हुँदैन ।
वर्षदिनभरि हड्ताल, आन्दोलन, तालाबन्दी र धर्नाले पढाइ सञ्चालन हुन सक्दैन । फेरि परीक्षामा पनि राजनीति शुरु हुन्छ । फेरि विद्यार्थी समयमा परीक्षा दिन सक्दैन । त्यसैले शिक्षामा आएको अन्योलताबारे राजनीतिक नेताहरूले बुझ्नुपर्छ शिक्षा देशको मेरुदण्ड हो, यसलाई भाँच्न पाइँदैन । राजनीतिले यस्ता खेलहरू बन्द गर्नुपर्छ । अहिलेसम्म राजनीतिक दलहरूको प्राथमिकता शिक्षामा परेन । शिक्षाको शक्तिलाई बुझ्ने चेष्टा गरिएन । उनीहरूका घोषणापत्रले बोक्रे विकास समेट्यो । भौतिक विकासको रटान दियो । सुरुङमार्ग र मोनोरेल जस्ता सपना बाँड्यो । मतदातालाई पाइप, बिजुलीका खम्बा, तार, एक दुई बोरा सिमेन्ट, जाली आदि बाँडेर लोभ्याइयो । जनताको आर्थिक, सामाजिक स्तर अपेक्षित रूपमा उक्सिएन । यसको मुख्य कारण जनतालाई शिक्षित बनाइएन, स्वावलम्बी बनाइएन ।
विकास मानिसको लागि हो । जब मानिस कै विकास गरिँदैन, तब भौतिक विकासले न्याय गर्दैन, सुख दिँदैन । समृद्धि भित्राउने हो भने सबै दलले आफ्ना कार्यक्रम फेर्नुपर्छ । चुनावी घोषणापत्रमा सस्ता आश्वासनभन्दा दीर्घकालीन विकासको जरा समात्नुपर्छ । अशिक्षा नै गरिबीको मुख्य कडी हो भनी स्वीकार गर्नुपर्छ । अबका चुनावी घोषणापत्र मूलतः शैक्षिक ज्ञपान्तरणमा केन्द्रित हुनुपर्छ । माक्र्सवादलाई आदर्श मान्ने वामपन्थीहरूले माक्र्सले भने जस्तो मानिस, मानिस भएर बाँच्न पाउने समाज निर्माण गर्न शिक्षाजस्तो गतिलो हतियार अरू हुनै सक्दैन भन्ने बुझ्नुपर्छ ।
व्यक्तिगत स्वतन्त्रतालाई जोड दिने लोकतन्त्रवादीहरूले अमत्र्य सेनले भनेजस्तै व्यक्तिको क्षमता नै विकासको पूर्वशर्त हो भन्ने स्वीकारोक्ति हुनुपर्छ । अब हामीले विद्यार्थीलाई स्कूल हुल्दैमा चुप लागेर बस्ने अवस्था छैन । हामीले शिक्षाका माध्यमबाट गरिबी उन्मुलन गर्नुपर्नेछ । विश्वपरिवेशसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । स्थानीय सामथ्र्यलाई उजागर गर्नुपर्नेछ । विद्यार्थीमा सीप र जाँगर भरेर सिर्जनाको बिउ रोप्नु पर्नेछ । यसका लागि दलहरूले आफ्ना घोषणापत्रमा गरिबीबाट मुक्त गर्ने शैक्षिक मान्यतालाई आधार बनाउनुपर्छ । गरिबी लक्षण मात्रै हो, शिक्षा कारण हो । लक्षण हटाउन कारणको उपचार गर्नुपर्छ । दिगो विकास पनि शिक्षाको विकासविना सम्भव छैन ।