श्री कृष्णबहादुर महरा - सभामुखमा पदासीन सम्माननीय ! उहाँलाई प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति तीन पदले पर्खिरहेको मानिन्थ्यो । रोल्पाली हुनुको विरासतले उहाँ छिटोछिटो उकालो चढेर पूर्ववर्ती माओवादी केन्द्रमा सबैभन्दा धेरै अवसर पाउन सफल हुनु भयो । उपराष्ट्रपति पुन, अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईबाहेक उहाँले वरिष्ठ हैसियतवाला राजकीय जिम्मेवारी सम्हाल्ने र पार्टीको महासचिवसमेत बन्ने अवसरहरु पाउनु भयो । कहिलेकाहीँ मान्छेहरूले टिप्पणी गरेको सुनिन्थ्यो- उहाँ क्षमता र भूमिकाभन्दा धेरै माथि पुग्नुभयो ! कतिबेला दुध उम्लिएर अगेनामा पोखिएजस्तो स्थिति आउने हो ! त्यस्तो भनेको सुन्दा व्यक्तिगत पूर्वाग्रहको तितो यसरी ओकलेको होला भन्न सकिनेजस्तै लाग्दथ्यो । विनम्र, शालीन र भद्र महरा माओवादी आन्दोलनले विकास गरेको एकजना देखाउनलायक पात्र मानिनुहुन्थ्यो । म उहाँको व्यक्तिगत रूपमा ठूलो प्रशंसक नै थिएँ । कहिलेकाहीँ लाग्दथ्यो- रोल्पा रुकुमले माओवादी जनयुद्धमा चुकाएको बलिदानको मूल्यमा उहाँ प्रचण्ड कमरेडपछि कुनै दिन प्रधानमन्त्रीको सहज दावेदार पनि बन्न सक्नुहुन्छ होला ! तर उहाँको मूलतः २०५२ पछि रकेट स्पिडमा उकालो लागेको व्यक्तित्व छङ्गाछुर भीरबाट खुर्मुरिएर त्रिशुलीमा दुर्घटनामा परेजस्तै पो हुनपुग्यो । उहाँ किन यस्तो हुनुभयो ? केही दिनयता उहाँप्रति प्रकट तीब्र रोषको कारण केवल रोशनी मात्र अवश्य होइनन्। रोशनी बाह्य प्रमुख कारक त हुन् नै । उनले बोलेको कुरा बदलून वा नबदलून ? त्यसको कुनै अर्थ अब हुँदैन। यस प्रकरणमा 'सम्माननीय' महराको असामयिक पतन ठूलो क्षति र क्षोभको विषय हो । यो प्रकरणमा उहाँको नाम जोडिएको क्षणदेखि नै म स्तब्ध भएको छु । र , धेरैलाई पत्याउनै गा-हो परेको छ । तर उहाँले सभामुख पदबाट राजीनामा दिँदा प्रयोग गरेको भाषा र काइते शैली तथा सांसद पदबाट राजीनामा दिन पार्टी सचिवालयले निर्देशन दिइसकेको स्थितिमा पनि यतिका दिनसम्म गरिरहेको अवज्ञा, अटेरी र ढिट प्रदर्शन किमार्थ मान्य छैन । र, मान्य हुन पनि सक्दैन । सबभन्दा टिठलाग्दो कुरा त महराको यस पतनसॅगै सति जान तम्सिनेहरूको संविधान, कानुन र सामाजिक मर्यादाविपरितको क्रियाकलाप बनेको छ । महराले आफै यो खाडल खनेको तिनीहरूले किन बुझिरहेका छैनन ? जबकि तथ्य, प्रमाण र वारदातले महराको पक्षपोषण गर्ने कुनै ठाउँ बाँकी छैन । नेकपाको सचिवालयले त्यस्तो ठाउँ हुँदाहुँदै उहाँलाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन निर्देशन किन गर्नुपर्थ्यो र ! छानविन र फौजदारी कारबाहीबाट उहाँले सफाई पाउनुहोला ? ०.००१ प्रतिशत मात्र पनि त्यस्तो संभावना देखिँदैन । यो नियति कसैको कारणले होइन, उहाँकै आचरण र क्रियाकलापको परिणामले निम्त्याएको हो । अर्थात्, कसले हो मंगले आफ्नै ढंगले भनेजस्तो ! यो राजनीतिक मतान्तरको विषय भए पो पक्षविपक्ष र न्यायअन्याय भनिकन तर्कबहस गर्न सकिन्छ ! यो त फौजदारी अपराध हो । अपराधको प्रतिरक्षा, ढाकछोप र पैरवी सभ्य मानिसहरूलाई सुहाउदैन ! अरूतिर जबर्जस्ती औला तेर्स्याएर त झनै उन्मुक्ति पाउन संभव छैन । किनभने, हरेकले आआफ्नै कर्मको परिणाम भोग्नु अनिवार्य छ !
(सूर्य थापाकाे फेसबुकबाट)