आज विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा गुज्रिरहेको छ । यस्तो वस्तुगत अर्थराजनीतिक धरातलमा वस्तुतः कम्युनिष्ट विचारधारा रक्षा गर्ने सवाल मुख्य बन्दछ । माक्र्सवादी भाष्यमा वस्तु वा सत्ताको गति वा चाल एकनाश हुँदैन । यो परिस्थिति र आवश्यकताअनुसार आक्रामक र रक्षात्मक, दृश्य र अदृश्य अनि व्यक्त र अव्यक्तरूपमा प्रकट भइरहन्छ । माक्र्सवादी द्वन्द्ववादको सार यही हो । यस्तो रक्षात्मक स्थिति असाध्यै चुनौतिपूर्ण हुने गर्दछ । यता समाज विकासको विशिष्ट ऐतिहासिक मोडहरूमा सचेततापूर्वक र योजनाबद्ध रूपमा नै माक्र्सवादको विकास गर्नुपर्ने हुन्छ । तर आधारभूत प्रस्थापनालाई बिर्सेर गरिएको विकासको भने कुनै अर्थ हुँदैन । विकासको नाममा वर्गीय विचार र आदर्शहरूमा सम्झौता गर्ने र नगर्ने नाममा यान्त्रिकतामा फस्ने सम्भावना हुन्छ । यसले आन्दोलन नै निष्प्रभावी र विसर्जन हुने खतरा रहन्छ ।
मूलतः आज नेपाली कम्युनिष्ट आन्दोलन पनि नयाँ कार्यदिशा विन्याश गर्नुपर्ने ऐतिहासिक दोबाटोमा आइपुुगेको छ । आज लेनिन र माओको सूत्र र पदचिन्हले मात्र नपुग्ने अवस्था देखिन्छ । यही वस्तुगत सच्चाइलाई आत्मसात गर्दै तत्कालीन माओवादी केन्द्र र एमालेबीच पार्टी एकता गरी नेकपा गठन भइसकेको छ । नेकपाले २१ औं शदीको दलाल पुँजीवादले थिलथिलो पारिएको विश्वजगत्मा समाजवादी अर्थराजनीति सञ्चार गराउने ऐतिहासिक जिम्मेवारी पूरा गर्न जरुरी छ । यो चानचुने सवाल होइन । यसको लागि नेकपाले सैद्धान्तिक–वैचारिक, राजनैतिक, साङ्गठनिक, आर्थिक, साँस्कृतिक, सामाजिक, कूटनैतिक अनि सरकार सञ्चालनलगायतका ऐतिहासिक मुद्दाहरूमा गम्भीर हुनुपर्ने देखिन्छ ।
(क) सैद्धान्तिक–वैचारिक कामः वस्तुतः कम्युनिष्ट आन्दोलन माक्र्सवादी मार्गदर्शक सिद्धान्तबाट निर्देशित हुन्छ । यो निरन्तर सङ्घर्षको ऐतिहासिक प्रक्रियामा आधारित हुन्छ । समाजवाद हुँदै साम्यवादसम्म पुग्ने आन्दोलनको आक्रामक र रक्षात्मक ऐतिहासिक शृङ्खला नै कम्युनिष्ट आन्दोलन हो । यसको लागि आम जनतामा समाजवादी चेत, चिन्तन, मनोविज्ञान, आचार, जीवनशैली र कार्यशैली जरुरी हुन्छ । वास्तवमा निरन्तर सङ्घर्षबाट कार्यदिशाको सृजनात्मक विकाससँगै समाजको आमूल रूपान्तरण गर्नु नेकपाको मूलभूत काम हो । यसले गलत चिन्तन, संस्कार र संस्कृतिलाई अभियानकै रूपमा निरुत्साहित गर्नुपर्दछ । यो वर्गसङ्घर्ष वा बल प्रयोगको सिद्धान्तमा आधारित हुन्छ । यो वर्ग रहेसम्म विभेद रहने अनि विभेद रहेसम्म जारी रहने सङ्क्रमणकालीन आन्दोलन हो । यसकारण यो वर्ग र विभेद उन्मूलनको समग्र ऐतिहासिक प्रक्रियामा आधारित महाआन्दोलन हो । त्यसैले नेकपाले न्यूनतम् रूपमा माक्र्सवादी शिक्षाबाट हरेक नागरिकलाई दीक्षित गर्नु पर्दछ ।
यसका अतिरिक्त नेकपाले समयसापेक्ष राजनैतिक कार्यदिशा विन्यास गर्नुपर्ने देखिन्छ । विशेष अवस्थामा सही कार्यदिशा तय गर्न सकिएन भने आन्दोलन धरासायी बन्दछ । कम्युनिष्ट स्कुलिङ सञ्चालन गर्नुपर्दछ । आम नेता, कार्यकता र जनतालाई माक्र्सवादी शिक्षाले प्रशिक्षित गर्नुपर्दछ । माक्र्सवाद र समाजवाद के हो ? यसमा सैद्धान्तिक, राजनैतिक, आर्थिक, सांस्कृतिक र सामाजिक पक्षहरू कसरी परिभाषित गरिन्छ ? यिनीहरूको वर्गचरित्र कस्तो हुन्छ ? ब्रह्माण्डमा रहेका वस्तु, घटना, घटना प्रक्रिया, प्रकृति र सामाजिक सत्ताको विकास निरन्तर आन्दोलनको प्रक्रियाबाट मात्र सम्भव हुन्छ । सैद्धान्तिक–वैचारिक स्पष्टतासहितको आन्दोलनको निरन्तर प्रक्रिया विना समाजवाद सम्भव हुँदैन । समाजवाद आफैमा एउटा ऐतिहासिक प्रक्रियागत कष्टसाध्य आन्दोलन हो । त्यसैले नेकपाले कम्युनिष्ट अर्थराजनीतिक मूल्यमा आधारित समाजवाद बारे बहस चलाउनु पर्दछ । गैरकम्युनिष्टहरूले भन्दै आएको समाजवादको नारासम्बन्धी वैचारिक भ्रमलाई चिरफार गर्नुपर्दछ ।
(ख) राजनैतिक कामः समाजवाद र पुँजीवाद विचको सैद्धान्तिक, राजनैतिक, आर्थिक, सांस्कृतिक र सामाजिक भाष्यलाई योजनाबद्ध स्कुलिङमार्फत् प्रष्ट गर्नु पर्दछ । सबै राजनैतिक कार्यहरूलाई आन्दोलनको ऐतिहासिक प्रक्रियाको रूपमा ग्रहण गर्नु पर्दछ । पार्टी तथा राजकीय सत्ताको संरचना उत्पीडितमैत्री अनि समानता र न्यायमा आधारित हुनुपर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समाजवादी अर्थराजनीति सम्बन्धी दृष्टिकोण पेश गर्नुपर्दछ । सबैखाले हेला, होचो, विभेद, शोषण र उत्पीडनविरुद्ध मिहीन अभियान सञ्चालन गर्नु पर्दछ । उत्पीडित जनताको अधिनायकत्व र जनवादबीच वैज्ञानिक र वस्तुवादी संयोजन गर्नुपर्दछ । उत्पीडितहरूमध्ये पनि सबैभन्दा उत्पीडित र आधारभूत जनतालाई प्राथमिकतामा राख्नु पर्दछ । पुँजीवादमा जस्तो शक्ति, पैसा, सत्ता र चाकडीको भरमा स्वार्थ लुट्ने परिपाटी अन्त्य गर्नुपर्दछ ।
त्यतिमात्र होइन, पार्टीले समानता र न्यायको सिद्धान्तलाई आममा लागू गर्नु पर्दछ । आधारभूत मौलिक अधिकारहरू जस्तैः गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीमा राज्यको दायित्व हुने कुरालाई आममा स्थापित गर्नुपर्दछ । यता पुँजीवादमा जस्तो भनसुन, चाप्लुसी, पैरवी र कोेसेली बोकेर नेताकोमा धाउने परम्पराको अन्त्य गर्नुपर्दछ । योजनाबद्ध रूपमै शोषक, सुदखोर, तस्कर भ्रष्टाचारी, कमिसनखोर र श्रमचोरलाई पूर्णरूपमा निरुत्साहित गर्नुपर्दछ । यो साङ्गोपाङ्गो मानव मुक्तिको ऐतिहासिक अभियान हो । समग्र पार्टीको नीति, कार्यक्रम र योजनाहरू समाजवाद हुँदै साम्यवादी आदर्शतर्फ परिलक्षित गर्नुपर्दछ ।
(ग) साङ्गठनिक कामः कम्युनिष्ट पार्टीको सङ्गठन भनेको समाजवाद हुँदै साम्यवादी राजकीय सत्ता स्थापनाको ऐतिहासिक प्रक्रिया अन्तर्गत सङ्गठित अग्रदस्ता हो । यो औषत लोकतन्त्रवादी पार्टीको संरचना र विधिजस्तो मात्र हुँदैन । नेता कार्यकताहरूको निश्चित हिस्सा पूर्णकालीन हुनुपर्दछ । यसको साङ्गठनिक संरचना जनवादी केन्द्रीयतामा आधारित हुनेगर्दछ । कुनै पनि वस्तु वा सत्ता प्रति आलोचनात्मक दृष्टिकोण राख्नुपर्दछ । सृजनात्मक एवम् स्वस्थ बहस र आलोचनामार्फत् सत्य–तथ्य, सही र सार पत्तो लगाउनु पर्दछ । यसलाई दार्शनिक भाषामा दुईलाइन सङ्घर्ष भनिन्छ ।
खास गरेर कम्युनिष्ट सङ्गठन चुस्त–दुरुस्त हुनुपर्दछ । सिद्धान्ततः गुट, उपगुट र नेताकेन्द्रित झुण्डहरू कम्युनिष्ट पार्टीको साङ्गठनिक आदर्श होइनन् । यसमा दुईलाइन सङ्घर्षको पूर्ण अभ्याससहितको बलियो एकीकृत र केन्द्रीकृत पार्टी हुन्छ । यसमा छलफलमा स्वतन्त्रता र काम कारबाहीमा एकरूपता हुनुपर्दछ । कमिटी प्रणालीलाई पूर्णरूपमा संस्थागत गर्नु पर्दछ । तल्लो कमिटी माथिल्लो कमिटी मातहत रहने गर्दछ । केन्द्रीय कमिटी महाधिवेशन मातहत हुन्छ । कम्युनिष्ट सङ्गठन एउटै लक्ष्य र उद्देश्यको लागि गठन भएको हुँदा हरेक प्रक्रियाहरूमा संस्थागत निर्णय गर्नुपर्दछ । स्वस्थ र रचनात्मक आलोचनालाई साङ्गठनिक रूपान्तरणको पद्दति बनाउनु पर्दछ । व्यवहारतः आलोचना र आत्मालोचनाको विधि प्रयोग गर्नु पर्दछ ।
(घ) आर्थिक कामः नाफा, एकाधिकार र निजीत्वमा आधारित दलाल पुँजीवादी अर्थराजनीतिलाई क्रमिकरूपमा निरुत्साहित गर्नु नेकपाको आर्थिक काम हो । दलालपुँजीलाई विस्तारै समाजवादी अर्थ(राजनीतिद्वारा विस्थापित गर्दै जानु पर्दछ । समग्र अर्थराजनीतिक सम्बन्धमा राजकीय उपस्थिति बढाउनु पर्दछ । आर्थिक क्रियाकलापहरूलाई पनि समाजवाद निर्माण प्रक्रियासँग जोड्नु पर्दछ । श्रमिकलाई क्षमताअनुसारको काम र कामअनुसारको दामको ग्यारेण्टी गर्नु पर्दछ । ठेकेदारी, बिचौलिया र कमिसनतन्त्रलाई पूर्ण रूपमा अन्त्य गर्नुपर्दछ । यता निजी स्वामित्वलाई क्रमशः निरुत्साहित गर्दै उत्पादनको साधनहरूमा सामाजिक तथा सामूहिक स्वामित्वको पद्दति अपनाउनु पर्दछ । मालिक र मजदुर दुवैले उचित हिस्सा पाउने नीति हुनुपर्दछ ।
वस्तुतः दलाल पुँजीलाई विस्तारै विस्थापन गर्नु पर्दछ । राष्ट्रिय औद्योगिक पुँजी विकासको लागि राष्ट्रिय पुँजीपति वर्गलाई लगानीमा प्रोत्साहन गर्नुपर्दछ । त्यसमा पनि उत्पादनमूलक अर्थतन्त्रमा जोड दिनुपर्दछ । आन्दोलनकै रूपमा पार्टीले उद्योग कलकारखानाहरूमा राजकीय उपस्थिति र लगानी वढाउन दिशानिर्देश गर्नुपर्दछ । दलाल तथा निगम पुँजीको एकाधिकारवादी र नाफामुखी चरित्रलाई पार्टी स्कुलिङ् मार्फत् पर्दाफास गर्दै त्यसलाई निरुत्साहित गर्नुपर्दछ । उत्पादनमुखी राष्ट्रिय औद्योगिक पुँजी विकासको अवधारणालाई पार्टी नीति वनाउनु पर्दछ । ठूला दलाल एकाधिकार र निगम पुँजीको राष्ट्रियकरण गराउनेतर्फ सिङ्गो पार्टी संरचना क्रियाशील हुनुपर्दछ । अर्थतन्त्रमा राष्ट्रिय पुँजीपति र सरकारी उपस्थिति बढाउनु पर्दछ । समाजवादी आन्दोलनको ऐतिहासिक प्रक्रियासँगै विकास भएको मनोवैज्ञानिक चेतनासँगै निजीत्वलाई सामूहिक स्वामित्वमा रूपान्तरण गर्नु पर्दछ । वर्तमान निजी अर्थराजनीतिक सम्बन्धलाई राजकीय सामूहिक स्वामित्वमा बदल्नु पर्दछ ।
(ङ) सांस्कृतिक कामः वस्तुतः जनसंस्कृति निर्माण गर्नु नेकपाको मुख्य कार्यभार हो । बुर्जुवा सँस्कृति छाडा, आडम्बरी र ढोङ्गी हुन्छ । कम्युनिष्ट आन्दोलनको रक्षात्मक स्थितिसँगै वर्तमान समाजमा आडम्वरी संस्कृति हावी भइरहेको छ । यो कम्युनिष्ट संस्कृतिसँग मेल खाँदैन । किनकी समकालीन विचार, राजनीति वा अर्थराजनीतिक सम्बन्धको सामाजिक अभिव्यक्ति नै संस्कृति हो । वास्तवमा समाजवादी संस्कृति भनेको बहुसङ्ख्यक उत्पीडित वर्गपक्षधरतामा आधारित हुन्छ । मूलतः समाजवादी संस्कृति वैज्ञानिक, वस्तुवादी र न्यायपूर्ण हुन्छ । कम्युनिष्ट पार्टीले श्रम, उत्पादन, र सृजनालाई जनसंस्कृति निर्माणको आधार मान्दछ । यस्तो संस्कृतिले मानव समाजलाई सामूहिकतामा आधारित उन्नत समाजवादी सांस्कृतिक आदर्श र सभ्यतातर्फ उन्मुख गर्दछ ।
मूलतः समाजवादी संस्कृति सामाजिक स्वार्थमा आधारित हुन्छ । यसमा आडम्वर, खर्चालु र तडक–भडकभन्दा पनि प्रगतिशील र किफायती नीति अख्तियार गरिन्छ । यसले विभिन्न वर्ग, जाति, लिङ्ग र क्षेत्रमा विभाजन नभएर बृहत् समन्वय र एकताको उद्देश्य राख्दछ । यसमा सबैखाले विभेद र हेलाहोचोहरूको अन्त्य गरिन्छ । तसर्थ, नेकपाले राजा महाराजा र शासकहरूकोे गुणगान र व्यक्तिपूजामा आधारित आडम्बरी संस्कृतिलाई दुरुत्साहित गर्दै प्रगतिशील संस्कृतिलाई स्थापित गर्नुपर्दछ । कम्युनिष्ट आन्दोलनसँगै सांस्कृतिक रूपान्तरणलाई पनि एकाकार गर्नु पर्दछ ।
(च) सामाजिक कामः समाजवादको ऐतिहासिक प्रक्रियालाई बटमलाइन बनाउने पार्टीले सामाजिक कामलाई उच्च महŒव दिनै पर्दछ । सबैखाले सामाजिक विकृति, विसङ्गति र कुरीतिहरूलाई तत्काल निश्तेज गर्नुपर्दछ । छुवाछुत, दहेज, छाउपडी र बोक्सीजस्ता परम्परागत संस्कृतिलाई सचेत र योजनाबद्ध रूपमै बन्द गर्नु पर्दछ । अर्थात्, कम्युनिष्ट पार्टीले कुनै पनि खालको सामाजिक शोषण, विभेद र अन्यायको परिकल्पना गर्दैन । सबैखाले सामाजिक सुरक्षाको ग्यारेण्टी गरिन्छ । सबैलाई समान अवसर हुन्छ । त्यसैगरी शिक्षा, स्वास्थ्य र सूचनामा पनि समान र न्यायपूर्ण विधि र पद्दति लागू गर्नुपर्दछ । खेलकुद, प्रशासनिक, मनोरञ्जन, विकास–निर्माण र सुरक्षाको क्षेत्रमा पनि सवै वर्ग, जाती, क्षेत्र र लिङ्गको समान सहभागित र अवसरको राजकीय ग्यारेण्टी गर्नुपर्दछ । यसतर्फ नेकपाको ध्यान जानु पर्दछ ।
(छ) कूटनैतिक कामः राजनीति र कूटनीति अन्तरसम्बन्धित मुद्दाहरू हुन् । कम्युनिष्ट पार्टीको रणनैतिक र राजनैतिक उद्देश्यहरु हुन्छ । किनकी कम्युनिष्ट आन्दोलन भनेको ऐतिहासिक प्रक्रियामा विकास हुँदै जाने सङ्गठित लम्बे अभियान हो । वर्तमान भूमण्डलीकृत विश्वमा कूटनैतिक सन्तुलन मिलाउन सकिएन भने समाजवादी यात्रा कठिन हुने निश्चित छ । यसकारण चीन, भारत र अमेरिकासँगको कूटनैतिक सम्बन्ध परिस्थिति र आवश्यकताअनुरूप निर्धारण गर्नुपर्दछ । भूराजनीतिको राम्रो सुझबुझ र गम्भीर समीक्षा गरेर मात्र निर्णयहरू लिनु पर्दछ । भावना र निहीत स्वार्थमा बहकिएर कुनै शक्तिकेन्द्रको दलाली गर्नु कम्युनिष्ट मूल्यभित्र पर्दैन । भूराजनीतिक जटिलताको कारण चीन र भारतलाई साथैमा लिएर अघि बढ्नु पर्दछ । समर्थन र विरोध राष्ट्रिय स्वार्थमा आधारित हुनुपर्दछ । त्यसमा पनि चीनको सन्तुलित विदेश नीतिअन्तर्गत कूटनीतिक रणनीति बनाउनु वस्तुवादी हुनसक्छ । अझ तीनवटै मुलुकहरूलाई मिलाएर लाने प्रयत्न गर्नुपर्दछ ।
(ज) सरकार सञ्चालनको कामः सरकार कम्युनिष्ट पार्टीद्वारा निर्देशित हुन्छ । यसकारण नेकपाले सरकारलाई परिचालन गर्नुपर्दछ । कम्युनिष्ट पार्टी समग्र सैद्धान्तिक नेतृत्व हो भने सरकार कार्यान्वयन गर्ने अंशगत मोर्चा हो । यद्यपि यिनीहरूको अन्तरसम्बन्ध जीवन्त हुनुपर्दछ । यसकारण नेकपाले सरकारलाई कम्युनिष्ट मूल्य र आदर्शको परिधिअन्तर्गत अघि बढ्न निर्देशन गर्नुपर्र्दछ । सरकारका काम कारबाहीहरू औषत लोकतान्त्रिक पार्टीभन्दा नितान्त भिन्न ढङ्गले सम्पादन गराउनु पर्दछ । अर्थात्, सरकारको अधिकतम् नीति तथा कार्यक्रमहरू समाजवादी रणनैतिक उद्देश्यसँग मेल खानु पर्दछ ।
तसर्थ, नेकपाले समग्र कार्यक्रमहरू कम्युनिष्ट आन्दोलनको ऐतिहासिक प्रक्रियासँग एकाकार गर्नुपर्दछ । हरेक कार्यनीतिक कदमहरू समाजवादी रणनीतितर्फ परिलक्षित हुनुपर्दछ । सैद्धान्तिक, वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र कूटनीतिक सवालहरूलाई आन्दोलनको भिन्न–भिन्न रूपमा ग्रहण गर्नुपर्दछ । अर्थात् औपचारिक, औषत र दिनदैन्यको कामलाई निरन्तर आन्दोलनको ऐतिहासिक प्रक्रियामा जोड्नु पर्दछ । यो सिलसिलामा गरिने साना तिना कामहरूलाई रणनैतिक उद्देश्यअन्तर्गतको रक्षात्मक, अदृश्य र अव्यक्त कार्यनीति भनेर ग्रहण गर्दै प्रशिक्षित गर्नुपर्दछ । अर्थात् सबै घटना, घटना प्रक्रिया र कामहरूलाई पनि कम्युनिष्ट आन्दोलनको ऐतिहासिक प्रक्रियाकै कार्यनीतिक शृङ्खला भनेर परिभाषित गर्नु पर्दछ ।
यतिखेर नेकपा सम्भावना र चुनौतिको दोसाँधमा रहेको छ । उपयुक्त सैद्धान्तिक तथा राजनैतिक काम पूरा गरे यो निर्विकल्प परिवर्तनकारी शक्तिको रूपमा स्थापित हुनेछ । त्यसो नभए नेकपाले आफ्नो कम्युनिष्ट चरित्र, आदर्श र विश्वास गुमाउँदै जानेछ । समानता र सामाजिक न्यायसहितको समाजवाद पनि कल्पनामै सीमित हुनेछ । तब सार्वभौमतः अर्को अग्रगामी शक्तिले ऐतिहासिक जिम्मेवारी लिनेछ । त्यसबेला नेकपा विसर्जनको सङ्घारमा नपुग्ला भन्न सकिन्न । तसर्थ, नेकपाले निर्मम ऐतिहासिक समीक्षा गर्दै कार्यक्रम, कार्यनीति र रणनीतिहरू विन्यास गरी समाजवाद निर्माणको अभियानमा लाग्न जरुरी छ ।