नेपालको कुल जनसङ्ख्याको ६५ प्रतिशत युवापुस्ताको रहेको छ । देश निर्माण गर्ने पालो र जिम्मेवारी अब युवापुस्ताकै हो । नेपालमा यो दशक युवापुस्ताको भएको छ । झण्डै एक करोड ८० लाखभन्दा बढी युवाहरू हाम्रो मुलुकमा रहेका छन् । नेपाललाई अहिले युवाहरूको देश भनेर विश्वमा चिनिन्छ । जनसङ्ख्या उत्पादनको अनुपात हेर्दा हाम्रो मुलुकमा युवाको उपस्थिति भने दिन प्रतिदिन घट्दो क्रममा छ । अबको ३० वर्षपछि युवाहरूको उपस्थिति २० देखि २५ प्रतिशत मात्र हुनेछ । त्यतिखेर हाम्रो मुलुकमा वृद्धहरू बढी र युवाहरूको सङ्ख्या कम हुनेछ अर्थात् अहिलेको ठीक उल्टो हुनेछ । नेपालको विकास र समृद्धिका लागि यो ठूलो अवसर र मौका हो । अबको १० देखि १५ वर्षभित्रमा जति सक्दो चाँडो विकास गर्नु पर्छ । अहिलेदेखि नै युवाहरूलाई देश सञ्चालनको नेतृत्वदेखि राजनैतिक, दल, सरकारी तथा गैरसरकारी कार्यालयहरू, सेना, प्रहरी, सामाजिक सङ्घ–संस्थाहरूलगायत सबै क्षेत्रको नेतृत्व प्रदान गर्नु पर्छ । वृद्ध अभिभावकहरूको अनुभव र आशिर्वाद तन्नेरी युवाहरूको मेहनत, रगत र पसिनाबाट नेपाललाई १० वर्षभित्र विश्वकै सफल र समृद्ध राष्ट्र बनाउनु पर्छ ।
समृद्ध नेपाल सम्पन्न नेपाली बनाउन युवाहरूको नेतृत्व आवश्यक छ । मुलुकको विद्यमान समस्यासँग जुझ्ने र विकृति विसङ्गतिलाई अन्त्य गर्ने शक्ति अनि नयाँ प्रविधिहरूसँग खेल्ने सीप युवाहरूमा मात्र छ । मुलुकलाई सफलताको मार्गमा हिँडाउन मुलुकको सबै क्षेत्रमा युवापुस्ताको सहभागिता मात्र होइन, नेतृत्व नै अनिवार्य भएको छ । युवाहरूलाई हरेक क्षेत्रको नेतृत्व प्रदान गरी अवसर दिनुपर्छ । नेपाली तन्नेरीहरू युवाहरूले विदेश गएर जाँगर लगाएर सीप, रगत र पसिना बगाएर अमेरिका, जापान, दक्षिण कोरिया, इङ्ल्याण्ड, जापान, बेलायत, अष्ट्रेलिया, फ्रान्स, कतार लगायतका खाडी राष्ट्रहरू बनाउन सक्नेले आफ्नै मुलुक नेपाल पनि सजिलै बनाउन सक्षम छन् । हाम्रो देशले चाँडै नै सफलता प्राप्त गर्ने हो भने सबै क्षेत्रमा युवापुस्तालाई नेतृत्वको जिम्मेवारी सुम्पिनु पर्छ । नेपाली राजनीतिबाट यसको अब शुभारम्भ गर्नुपर्छ । राजनैतिक दलमा पहिलो पुस्ताका अभिभावकहरू अब सल्लाहकार भएर अभिभावकत्व ग्रहण गर्दै युवाहरूलाई नेतृत्व प्रदान गर्नुपर्छ । नयाँ युगसँगै दिन प्रतिदिन आइरहेको नयाँ–नयाँ प्रविधिसँग पुरानो पुस्ताले आफूलाई रूपान्तरण गर्न नसकेकोले हरेक क्षेत्रमा नेतृत्व गरिरहेको पुरानो पुस्ता असक्षम बन्दै गएको छ । परानो पुस्ताको नेतृत्व असक्षम हुँदा हाम्रो देश नेपाल नै दिन प्रतिदिन पछि पर्दै गएको छ । जनसङ्ख्याको हिसाबले पनि हाम्रो देशको कुल जनसङ्ख्याको ६५ प्रतिशत अहिले युवाहरूको उपस्थिति छ ।
सबैको नीति राजनीति भएकोले नेपालको राजनीतिलाई सुधार्न पनि युवाहरू नेतृत्वमा आउन जरुरी र आवश्यक भएको छ । राजनैतिक दलहरूभित्र देखिएको विकृति विसङ्गति र अस्वस्थ प्रतिस्पर्धाले अहिले नेपाललाई झन् बर्बादीको दिशातर्फ लगिरहेको छ । हरेक राजनैतिक दलमा पहिलो पुस्ताको असक्षमताले दलहरूभित्र बढ्दै गएको गुट उपगुटले नेता दह्रो बन्दै गए तापनि राजनैतिक दल असफल र कमजोर बन्दै जाँदा देश नै नराम्रोसँग पछाडि परेको छ । नेपालको राजनैतिक दलहरूमा दीर्घरोगको रूपमा रहेको गुट उपगुटलाई पहिलोपुस्ताको वृद्ध नेताहरूबाट फाल्न सम्भव छैन । युवापुस्ताले मात्र शल्यक्रिया गरी पूर्णरूपमा उपचार गर्न सक्छन् । शल्यक्रिया गरी पूर्ण रूपमा गुट उपगुटलाई फाल्न सकेमात्र राजनैतिक दल दह्रो हुन सक्छन्, नत्र समाप्त हुनसक्ने खतरा छ ।
परिवर्तनको हरेक आन्दोलनको सफल नेतृत्व गर्ने युवाहरू परिर्वतनपछि परिर्वतनलाई संस्थागत गर्र्न पहिलो पुस्ताका बूढाहरूलाई नेतृत्व जिम्मा दिएर विश्राम लिने गरेका कारण नै हरेक परिवर्तनबाट प्राप्त भएको उपलब्धिले संस्थागत रूप धारण गर्न सकेन । युवाहरूले परिवर्तनको आन्दोलनको सफल नेतृत्व गरे जस्तै उपलब्धिलाई संस्थागत गर्ने आन्दोलनमा पनि नेतृत्व प्राप्त गरेको भए अधिकारको लागि बाजेदेखि नातिसम्मले बारम्बार आन्दोलन गर्नुपर्ने थिएन । क्रान्ति तथा जनआन्दोलनबाट हामीले ठूलो राजनैतिक परिवर्तन गरी व्यवस्था परिवर्तन गरे तापनि व्यवहार परिवर्तन नहुनु, संविधान परिवर्तन भए ता पनि संस्कार र संस्कृति परिवर्तन गर्न नसक्नु, नीति र नियम परिवर्तन भए पनि नियत र नेतृत्व परिवर्तन हुन नसक्नु, सरकार पविर्तन भए पनि संस्कार र संस्कृति परिवर्तन नहुनु नै हामी र हाम्रो देशको अर्को ठूलो समस्या हो । नेपाली काङ्ग्रेसभित्र अहिले नेतृत्वमा रहेका पहिलो पुस्ता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र नेकपाको अहिलेको पहिलो पुस्ता केपी ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ खनाललगायतका नेताहरूले अब पार्टीको नेतृत्व युवापुस्तालाई सुम्पेर अभिभावकत्व ग्रहण गर्दै प्रधानमन्त्री होइन, आगामी राष्ट्रपति हुने सपना देख्नुपर्छ ।
काङ्ग्रेसको नेतृत्व अब युवापुस्ताका विश्व प्रकाश, गगन थापा, धनराज गुरुङ, भीष्मराज आङ्देम्बे, चन्द्र भण्डारी, गुरुराज घिमिरे, प्रदीप पौडेल, जितजङ बस्नेत र नेकपाको नेतृत्व युवा नेताहरू अब गोकर्ण विष्ट, योगेश भट्टराई, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, हेमराज भण्डारी, रामकुमारी झाँक्रीलगायतले सम्हाल्नु पर्छ । युवापुस्ताले राजनैतिक दलको नेतृत्व सम्हाल्दा देश र पार्टी कमजोर हुने होइन, देश र पार्टी बलियो भएर जान्छ । अहिलेको पहिलो युवापुस्ताले यी सबै कारणहरूलाई विश्लेषण गरेर बीपी र पुष्पलाल को जस्तो विचार र दूरदर्शिता, सुवर्ण शमसेरको जस्तो मन, गणेशमान र मनमोहन अधिकारीको जस्तो त्याग र समर्पण, कृष्णप्रसाद भट्टराई र मदन भण्डारीको जस्तो सादगी र निःस्वार्थीपन र गिरिजाप्रसाद कोइराला र प्रचण्डको जस्तो क्रान्तिकारिपन व्यवहारमा उतार्दै सबैभन्दा पहिला म बदलिन्छु, हामी बदलिन्छौं र नेपाललाई बदल्छौं भन्ने नयाँ सोच चिन्तन र विचारका साथ काम गर्दै अगाडि बढ्ने साहस र ताकत देखाउनु पर्छ ।
जहानियाँ राणा शासनविरुद्धको आन्दोलनको उद्घोष पनि चारजना युवा धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दले गर्दै नेपालीहरूको मुक्तिका लागि हाँसी–हाँसी फाँसी चढ्नु मञ्जुर हुनुभयो । लेनिन, स्टालिन, माओत्सेतुङ, चेग्वेभाराले पनि युवावस्थामै सफल क्रान्तिको नेतृत्व गरेका थिए भने प्रजातन्त्रका पिता अब्राहम लिङ्कनले पनि युवावस्थामै प्रजातन्त्रको लागि क्रान्ति गरी सफलता प्राप्त गरेका थिए । नेपालमा पनि बीपी कोइरालाले ३३ वर्षकै तन्नेरी अवस्थामा २००३ सालमा नेपाली काङ्ग्रेसको स्थापना गरी राणाविरुद्ध सशस्त्र सङ्घर्षको नेतृत्व गरी सफलता प्राप्त गरेका हुन् । बीपी युवावस्था ३७ वर्षको उमेरमा नै गृहमन्त्री र ४३ वर्षको युवा हुँदा नै प्रधानमन्त्री बनेका थिए । पुष्पालालले पनि तन्नेरी अवस्थामा नै २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरी राणा शासन विरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए । स्वर्गीय मदन भण्डारीले पनि तन्नेरी अवस्था ३४ वर्षमा नै नेकपा (माले)को महासचिव र त्यसपछि नेकपा (एमाले)को महासचिव ४८ वर्षमै भई नेपाली राजनीतिमा चमत्कार देखाइदिएका थिए ।
नेपाली काङ्ग्रेसको नेतृत्वमा राणा फाल्ने २००७ सालको सशस्त्र युद्ध र नेकपा (माओवादी)ले गणतन्त्र स्थापनाका लागि गरेको सशस्त्र जनयुद्धको नेतृत्व पनि नेपाली युवाहरूले नै गरेका थिए । २०४६ को सफल जनआन्दोलनदेखि हरेक परिवर्तनका लागि भएको जनआन्दोलन तथा आन्दोलनको सफल नेतृत्व पनि युवाहरूले नै गरेका छन् । २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउनका लागि गरिएको खबरदारी आन्दोलनको नेतृत्वसमेत युवापुस्ताले नै गरी परम्परागत रूपमा वंशले शासन गर्दै आएको राजतन्त्रात्मक व्यवस्था पनि संवैधानिक रूपमा नै समाप्त गरेको नेपाली युवाहरूको युगान्तकारी सफल इतिहास पनि छ । विशेषगरी युवा नेताहरूले पनि पार्टी नेतृत्वलाई खबरदारी गरी गलत निर्णयहरूलाई सुधार्न लगाउनुभन्दा पनि आ–आफ्नो पार्टीका पहिलो पुस्ताका बूढा नेताहरूकै चाकडी तथा चाप्लुसी गरी विभिन्न गुट तथा उपगुटहरूमा विभाजित भई नेतृत्वमा जाने, टिकट लिने र सत्तामा जाने मात्र प्रमुख ध्यान राखेका कारण पनि राजनैतिक पार्टी र देशले नै अहिलेको हविगत व्यहोर्नु प¥यो । युवा नेताहरूले पनि अहिलेको अवस्थामा देश आइपुग्नुको जिम्मेवारी दिँदै अब समृद्ध नेपाल र सम्पन्न नेपाली बनाउन युवापुस्ता बढी जिम्मेवार र सक्रिय हुनुपर्छ ।
नयाँ युगमा युवापुस्तालाई सुहाउँदो नयाँ नीति र कार्यक्रमका साथ आ–आफ्नो पार्टीको सिद्धान्तको पुनव्र्याख्या गर्दै नयाँ ढङ्गबाट सङ्गठनको पुनर्निर्माण गरी २१ औं शताब्दीको भारी बोक्न सक्ने आधुनिक राजनैतिक दलमा आ–आफ्नो पार्टीलाई रूपान्तरणका साथ निर्माण गरी नेतृत्व लिने युवाको पहिलो कर्तव्य हो । राजनैतिक क्रान्तिपछि अहिले भइरहेको आर्थिक अभियानको नेतृत्व नेपाली युवाहरूले गरेमात्र सफल हुन्छ । अब आर्थिक क्रान्तिको नेतृत्व युवाहरूले गरेर खान नपाउने, गरिबको देश भनेर विश्वमा चिनिने नेपालको परिचय र पहिचानलाई अबको १० वर्षभित्र फेरेर खान पाउने र समृद्ध नेपाल भनेर विश्वका विकसित मुलुकहरूको दाँजोमा नेपाललाई पु¥याउनु पर्नेछ । नेपालका प्रमुख पार्टीहरू नेकपा र नेपाली काङ्ग्रेसलाई सशक्त बनाउँदै नेपाललाई सफल राष्ट्र बनाउन अब तन्नेरीहरूको मेहनत र पसिना, पाका तथा अभिभावकहरूको अनुभव तथा सल्लाह र आशिर्वादबाट मात्र सम्भव हुन्छ । गौरवपूर्ण इतिहास भएको नेपाली युवाहरूको वर्तमान सफल बन्छ र भविष्य पनि सुनिश्चित हुनेछ ।
सरकारी कर्मचारी, सेना प्रहरीले ५८ देखि ६० वर्षसम्म मात्र सेवा गरी अनिवार्य अवकासको व्यवस्था गरेजस्तै राजनीतिमा पनि ६० वर्षमा अनिवार्य अवकास लिनुपर्ने हाम्रो देशको लागि अनिवार्य भएको छ । देशको राजनैतिक पार्टीमा र केन्द्रदेखि प्रदेश, पालिका र वडा तहसम्मको सरकारको र सेना, प्रहरी, सरकारी तथा गैरसरकारी कार्यालयहरू र सबै सामाजिक क्षेत्रको नेतृत्व पनि एक पटक युवापुस्तालाई जिम्मा दिने अभियान शुरु गरौं । ६० वर्षदेखि माथि लाग्दै जाँदा शारीरिक अवस्थाले पनि साथ नदिने अनि जोश, जाँगर पनि हराउँदै जाने र शिथिलता आउने, दिमागले पनि त्यति धेरै काम गर्न नसक्ने, आराम गर्नु पर्ने भएकोले पहिलो पुस्ताका बूढाहरूलाई अब आराम गर्न दिने र बूढा नेताहरूको अनुभवको आधारमा सल्लाह र आशिर्वाद लिँदै युवाहरू समृद्ध नेपाल र सम्पन्न नेपाली बनाउन एकजुट भएर लागौं ।
(लेखकः नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष हुन् ।)