सदस्यहरूबाट थोरै थोरै रकम सङ्कलन गरेर उनीहरूकै हितमा काम गर्ने उद्देश्यले सहकारी संस्थाहरू जताजतै खुलेका छन् । संस्थाको प्रकृतिले नै यो सहकार्य गरेर चलाइने संस्था भन्ने बुझिन्छ । त्यसैले त सहकारीलाई ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने गरिन्छ । तर पछिल्ला दिनहरुमा यस्ता सहकारीहरूमा विकृति फैलिएका घटना बारम्बार सार्वजनिक हुन थालेका छन् । सहकारीहरूमा सिमित व्यक्तिहरूको हालीमुहाली हुने र तिनै व्यक्तिहरुले रकम अपचलन गर्ने गरेका धेरै उदाहरण भेटिन थालेका छन् । पछिल्लो समय धरानको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विक सहकारीका नाममा सदस्यहरूबाट सङ्कलन गरिएको पैसा अपचलन गरेर सम्पर्कविहीन भएका छन् । उनले सहकारीको पासबुक प्रयोग गरेर सङ्कलन गरेको करोडौं रुपैयाँ अपचलन गरेको थाहा पाएपछि सञ्चालक समितिका सदस्यहरू उनको खोजीमा जुटेका छन् । विकले सहकारीको नियम विपरित आफ्नै छोरालाई प्रबन्धक बनाएको समेत भेटिएको छ । शुरुदेखि नै नियम विपरित कार्य हुँदा सहकारीका अन्य सञ्चालकहरूले किन वास्ता गरेनन् ? प्रश्न यता पनि सोधिएको छ ।
सल्लेरीले मात्र होइन धेरै सहकारी संस्थाले नियम विपरित एकै परिवारका मान्छेलाई एउटै सहकारीमा विभिन्न पदमा राख्ने गरेको पनि भेटिन्छ । बजारमा सहकारीलाई देखाउने माध्यम मात्र बनाएर बचत अन्यत्र गर्नेहरू प्रशस्त छन् । त्यस्ता कार्यले एकातिर सरकारी कर छलि गरिरहेका हुन्छन् त अर्कातिर सर्वसाधारणको लगानी जोखिममा पारिरहेका हुन्छन् । सामान्य व्यक्तिहरुले खाई नखाई जम्मा गरेको रकम अपचलनको क्रम बढिरहँदा समग्र सहकारीप्रति नै सर्वसाधारणको नकारात्मक धारणा विकास हुन पुग्छ । पछिल्लो समय सहकारी अरुको पैसा उठाएर सिमित व्यक्तिले मोज गर्ने संस्थाका रूपमा विकास भइरहेका छन् । यसलाई नियन्त्रण गर्न सरोकारवालाहरू सक्रिय हुनु जरुरी छ । सहकारीका सातवटा अन्तर्राष्ट्रिय सिद्धान्तहरू छन् । खुला तथा ऐच्छिक सदस्यता, सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरूको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारीहरूबीच पारस्परिक सहयोग र समुदायप्रति चासो । तर धेरै सहकारीले यी सिद्धान्तहरू पालना गरेका छैनन् । कतिसम्म भने सहकारी संस्थाका नियामक निकायमा बस्नेहरूले सञ्चालन गरेका सहकारीहरूको हालत पनि उस्तै देखिन्छ । त्यसैले प्रभावकारी नियमन हुन सकेको छैन ।
सैद्धान्तिक हिसाबले सहकारीको अवधारणा राम्रो हो । सानो पुँजी भएकाहरूले एकै ठाउँमा बचत गरेर त्यसलाई उत्पादनमुलक काममा लगाउन सक्छन् तर व्यवहारमा सहकारीको धन्दा उल्टो छ । नाममा जुनसुकै प्रकृति उल्लेख भए पनि हरेक सहकारीको ध्यान बजारबाट बढिभन्दा बढी रकम उठाउने हुन्छ । त्यस्तो रकम सहकारीकै सिमित व्यक्तिहरुले चलाएर सहकारी नै डुबाएका घटना पनि धेरै छन् । कतिपय कालोधन भएकाहरूले सहकारीलाई देखाउने दाँत बनाएर अवैध धनलाई वैध बनाउने गरेको चर्चा पनि चल्ने गरेको छ । सहकारीका नाममा भइरहेका लापरबाहीको अन्त्य गर्न उनीहरूलाई कडा नियमन गर्नु जरुरी छ । वर्तमानमा भएका नियमनकारी निकायहरूको काम प्रभावकारी देखिएको छैन । प्रभावकारी रुपमा नियमन नगर्नेहरूलाई पनि कारबाही गरी सहकारीहरूको गरिमा बचाउन सरोकारवालाहरू लाग्नु पर्ने समय आएको छ ।