हुन त मुलुकभरका शिवालयहरुमा साउनको पहिलो सोमबारदेखि आध्यात्मवादी धार्मिक मन भएका बोलबम भक्तजनहरूको भीड शुरु भएको छ । आध्यात्मिक व्यक्तिहरूका लागि यो खुशीको कुरा हो । धार्मिक पर्यटनप्रति रुचि राख्ने अध्येता विश्लेषकहरूका लागि पनि खुशीको कुरा हो । सन्दर्भ साउनको बेला धरानको पिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम धार्मिक मेलाको हो । धरानसँग धार्मिक पर्यटनको सम्भावना प्रशस्त छ । विजयपुर डाँडाको आसपासमा रहेका ऐतिहासिक, पौराणिक, पुरातात्त्विक स्थलहरूको संरक्षण गर्दै प्रचार–प्रसार गर्नसके, आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न थप रमणीय र पर्यटकमैत्री वातावरण सिर्जना गर्नसके धरानले धार्मिक पर्यटनबाट मनग्गे आम्दानी गर्न सक्छ । धरानसँग पशुपतिनाथ मन्दिर भन्दा पुरानो मानिएको पिण्डेश्वर मन्दिर छ, केही पर नजिकै दन्तकाली मन्दिर पनि छ । त्योभन्दा अलिक पर बूढासुब्बा मन्दिर छ । त्यसभन्दा अलिक माथि पञ्चकन्या जङ्गलको बीचमा लिम्बुवानकालीन विजयपुर दरबारको भग्नावशेष छ । धरान यी ऐतिहासिक, धार्मिक र पौराणिक क्षेत्रबाट लाभ लिन धरान चुकेको छ ।
उदाहरणको लागि पिण्डेश्वर बाबाधाममा साउन महिनाभरिमा कम्तिमा तीनलाख बोलबम भक्तजनहरू आउने गरेका छन् । अझ यो वर्ष त पाँचलाख भक्तजन आउने गरी प्रचार–प्रसार गरिएको समितिले नै जनाएको छ । अब एकछिन गमेर हिसाब गरौँ। ल, तीनलाख भक्तजन आएर पिण्डेश्वर शिवालयमा जल चढाउँदा धरानले के पाउँछ ? तीनलाख भक्तजन आउँदा धरानले तीस करोडको आर्थिक कारोबार हुने वातावरण किन सिर्जना गर्न सक्दैन ? यहाँ प्रश्न अड्किएको छ कि पिण्डेश्वरको शिवजीको घाँटीका कालकुट विष अड्किए झैं । पिण्डेश्वर बाबाधाममा ४० को दशकदेखि नै बोलबम भक्तजनहरु जल चढाउन आउन थालेका हन् । ५० को दशकदेखि बढी भीड लाग्न थालेको हो । तर पनि भक्तजनहरु खाली खुट्टा आए झैं धरान सधैँ खालीमै रमाइरहेको हुन्छ, ‘यसपालि यति लाख भक्तजन आए, यति लाखले जल चढाए’ भन्नमै पनि गौरव गर्छ । विदेशका कतिपय ऐतिहासिक एवम् पौराणिकस्थललाई राज्यले संरक्षण गरेर आयआर्जन गर्ने माध्यम बनाएको छ । अझ ऐतिहासिक स्थल पनि नभएका सामान्य ठाउँ अर्थात् पहाडको थुम्कोलाई पनि पर्यटक आकर्षित गर्ने गरी निर्माण गर्ने गरेका छन् । धार्मिक होस् वा अन्यखाले जुनसुकै पर्यटक तान्नु भनेको आर्थिक कारोबारमा वृद्धि गराउनु हो । साथै स्थानीय समुदायको आयस्रोत जोडिनु पनि हो । त्यस ठाउँले आफ्नो पहिचान बनाउनु हो । पिण्डेश्वर बाबाधाममा आउने तीनलाख भक्तजनमध्ये साउनभरिमा कम्तीमा २० हजार भक्तजन त भारतबाट पक्कै आउँछन् होला । त्यस्तै करिब ५० हजार भक्तजन सुनसरी, मोरङ, झापा, उदपयपुरभन्दा टाढाबाट पनि आउँछन् होला । लामो दूरी तय गरेर आउने बोलबमका धार्मिक पर्यटकहरूलाई एकदिन बास बसाउने वातावरण अझै किन सिर्जना हुन सकेको छैन ? फेरि प्रश्नै सिर्जना भएको छ ।
संसारमा सबैभन्दा बढी खर्च गर्ने खुला मन धार्मिक र अध्यात्मवादीसँग मात्र हुन्छ । अरुले दिमागले सोचेर आफ्नो आवश्यकताअनुसार किनमेल गर्छन् तर धार्मिक मन भएका अध्यात्मिकहरु भावनाले काम गर्छन् । आफ्नो सुख शान्ति, समृद्धि हुन्छ भन्ने विश्वास पलाएपछि जति पनि खर्च गर्न सक्छन् । त्यो दान दक्षिणा भेटीको रूपमा होस् वा अरू नै कुनै माध्यमबाट । हो, धरानसँग पिण्डेश्वर बाबाधाम छ, धार्मिक अध्यात्मवादीलाई एकैठाउँ बनाउन सक्ने र एकोहो¥याउन सक्ने बलियो माध्यम । तैपनि न स्थानीय स्तरबाट पिण्डेश्वर शिवालयलाई ब्राण्ड बनाउन सकेका छन्, न त भक्तजनलाई बाबाधामको चिनो भनेर प्रसाद सिवाय अन्य केही बिक्री नै गर्न सकेको छ । धरानमा आएको एकजना भक्तजनले पिण्डेश्वर बाबाधामको ब्राण्डिङ भएको कुनै धार्मिक वस्तु सय रुपैयाँको मात्र किन्यो भने पनि साउनभरिमा कम्तिमा ३ करोडको कारोबार हुन्छ । त्यो रकम धरानका स्थानीय समुदायको आयस्रोत वृद्धिमा जोडिन्छ । खोइ त धार्मिकस्थललाई स्थानीय समुदायको आयआर्जन गर्ने पर्यटकमैत्रीस्थलको रुपमा विकास गरेको ? हीरा भएर मात्र हुँदैन रहेछ, चिन्न सक्नुपर्ने रहेछ । चिनेर मात्र हुँदैन, त्यसलाई पुछपाछ गरेर बिक्री पनि गर्न जान्नु र सक्नुपर्ने रहेछ । त्यसो भए पिण्डेश्वर हुँदाहुँदै पनि केही गर्न नसक्नेहरुको शहर भएकै हो त धरान ? मुखले धार्मिक पर्यटनको गफ दिने तर केही गर्न नसक्नेहरुको शहर हो त धरान ? यो प्रश्नले उत्तर अवश्य जन्माउला अर्को वर्ष । र ‘हो’ र ‘होइन’ वा ‘अरू’ नै के जन्मिन्छ प्रतीक्षा गरौँ। पक्कै पनि बोलबम आवाजमै मात्र सीमित नहोला ।