गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुदेवो महेश्वरः
गुरुः साक्षत्परं ब्रह्म तस्मै श्री गुरुवे नमः ।।
यही मन्त्रोच्चारण गर्दै गुरूको सम्मान गर्दै मङ्गलबार गुरु पूर्णिमा मनाइयो । त्यही दिन भोजपुरमा भने गुरुले गुरुमाथि नै हातपात गरेको समाचार बाहिरियो । गुरुको आशीर्वाद थाप्ने दिन नै अर्का गुरुमाथिको आक्रमण हुनुले गुरु पूर्णिमाको सार्थकतामाथि प्रश्न उब्जिएको छ । भोजपुरको अङ्ग्रेजी माविका शिक्षक अतीत अधिकारीमाथि प्रिन्सिपल रमशेकुमार आलेले रौद्र रूप प्रस्तुत गरे । आजकाल निजी तथा संस्थागत पाठशालामा यस्ता रौद्र रूप अनगिन्ती देखिन थालेका छन् । केही दिनअघि मात्रै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–१७ मा शिक्षकको कुटाइले विद्यार्थी माधव कलौनीले ज्यान नै गुमाए । यस्ता घटनाले गुरुप्रतिको आस्थाको मापन कुन तहमा पुर्याउँला ?
सरकार बालमैत्री शिक्षाका लागि अर्बौंं खर्चिन्छ । यता फसल थापेर बसेका शिक्षालयका गुरुहरु विगतका दशक झैं आफ्नो विद्रुपता देखाउन उद्यत छन् । प्रिन्सिपलहरु शिक्षकमाथि नै खनिन थालेको अवस्थामा विद्यार्थीसँग कस्तो व्यवहार होला अनुमान लगाउन असहज हुँदैन । हरेक दिनजसो विद्यार्थी कुटपिट भएका समाचारहरू बाहिरिएकै हुन् । अझै कतिपय घटना त बाहिर नआएका पनि हुन सक्छन् । त्यहाँ मिडियाको पहुँच नपुगेको हुनसक्छ । अहिले पनि हाम्रा देशमा विकासको सहज पहुँच छैन । सबै क्षेत्रमा मिडियाको पहुँच छैन । कति गाउँघरतिर त यस्ता घटना गुपचुप मै सकिँदा हुन् । हिन्दू धर्मशास्त्रमा गुरु भनेका ब्रह्मा, विष्णु र महेश्वर हुन् । गुरू नै अर्थात् साक्षात् परब्रह्मा हुन् । हामीले गुरुलाई त्यही वर्गमा राखेर मान्दै पनि आएका छौँ। तर, गुरुहरुको भयानक रुप भीमदत्त नगरपालिकामा भएको विद्यार्थी मृत्यु प्रकरणबाटै प्रष्टिन्छ ।
पाठशाला ज्ञानका अजस्र स्रोत हुन् । गुरुहरुले त्यही ज्ञान विद्यार्थीलाई प्रदान गर्छन् । त्यही ज्ञान सिकेर विद्यार्थी जीवनको सन्मार्गमा हिँड्न सफल हुन्छन् । सन्मार्ग सिकाउने थलो हो पाठशाला । तर अहिले अङ्ग्रेजी शिक्षाको भूतले हाम्रा पाठशालामा नैतिक शिक्षा स्खलित हुँदैछ । नैतिक चेतनामा बिर्को लाग्दैछ । हामी कुन मार्गमा अगाडि बढिरहेको छौँ, हामीले सोचेको शिक्षा र राज्यले शिक्षामा गरिरहेको लगानीको प्रतिफल यही हो ? शिक्षामा नैतिकता सकिँदै गएको छ । कुनै कालखण्डमा नैतिक शिक्षा अनिवार्य रुपमा पढाइन्थ्यो । अहिले नैतिक शिक्षा हाम्रा पाठशालामा हराएका छन् । त्यही पृष्ठभूमिबाट आएका शिक्षकहरुमा नैतिकताको खडेरी पर्न थालेको छ । पसल थापेका अङ्ग्रेजी स्कूलहरु विद्यार्थीका लागि काल बन्दैछन् । अपराधका थलो बन्दैछन् । गुरुहरु अपराधी बन्दैछन् । शिक्षा व्यवसायीकरणको चपेटमा परेको छ । लुटको खेती गर्ने थलो बनेको छ । गुरुमा असल शिक्षा दिनुपर्छ भन्ने नैतिकता हराउँदै गएको छ । अब यो नैतिकता सिकाउने जिम्मा कसको ? सरकार या पाठशाला सञ्चालकको ।