सम्बत्ले २०७६ टेक्दै गर्दा मोरङ पथरीशनिश्चरे नगरको पथरी शहर देशव्यापी चर्चामा थियो । दैनिक नाराजुलुस, सडकमा टायरको धुवाँ, चक्का जाम । यस्तै कुराले चर्चित थियो पथरी । रिना बस्नेत मृत्युकाण्ड बारे छिनछिनमा समाचार सामग्री प्रकाशन, प्रसारण हुँदा पथरीमा असुरक्षाले सीमा नाघेको महसुस हुन्थ्यो । काण्डले १ नम्बर प्रदेश मात्र होइन, देश–विदेशमा समेत सनसनी मच्चिएको थियो । यद्यपि बस्नेत मृत्युको निष्कर्षसँगै प्रहरी भन्छ, ‘पथरी असुरक्षित हुँदै होइन ।’
२०७६ वैशाख ७ गते ३० वर्षीया रिना बस्नेत (रूपा)को डेरानजिकै सडकमा नाङ्गो अवस्थामा शव फेला पर्यो । यो काण्ड त्यतिकै तातेको भने होइन । २०७५ फागुन ११ गते पथरीको सिक्का बारबाट निस्कने क्रममा २६ वर्षीय षडराज तामाङको शव रिनाकै जस्तो रगताम्य अवस्थामा भुइँतलामा फेला परेको थियो । तामाङ मुत्युको मुद्दा इलाका प्रहरी कार्यालय पथरीले राम्रो अनुसन्धान नगरेको भन्दै १९ दिनसम्म दाहसंस्कार नगरी विरोध भएको थियो । दुई समान प्रकृतिका घटनापछि पथरीमा दैनिक लाश, यतै बेवारिसे, उतै शवजस्ता सन्देश फैलियो ।
यो घटना र सन्देशपछि पथरीमा एक प्रकारको आतङ्कै फैलियो । पथरी बजारकै मान्छेलाई साँझ–विहान हिँड्न हुँदैन कि, बाहिरका मानिसलाई पथरी जान हुँदैन कि भन्ने जस्तो भयो । पथरी असुरक्षित भएको सन्देश फैलाउने मिडियाहरूलाई छिनभर फाइदा भए पनि पथरी बजारलाई भने नकारात्मक असर पर्ने भयो । होटल, पर्यटन र आम व्यापारमा नकारात्मक प्रभाव पर्छ । षडराज तामाङ घटनाबाट पन्पिँदै गरेको सिक्का बार रिना घटना र त्यसबेला चलेको असुरक्षाको हल्लाले बारमा नराम्रो असर परिरहेको सञ्चालकहरूको अनुभव छ ।
मिडियाबाट जतिसुकै हल्ला चले पनि पथरी असुरक्षित भएको मान्न तयार छैन प्रहरी । इलाका प्रहरी कार्यालय पथरीको क्षेत्रमा रिना र षडराजभन्दा गम्भीर घटनाहरू नभएका होइनन् । कानेपोखरीको आइतबारेमा सडकको बीचमै ३०–३१ वर्षीया महिलालाई विभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेको थियो । टाउकोमा ढुङ्गाले किचेर मारिएकी ती महिला को थिइन् हालसम्म पत्ता लाग्न सकेको छैन । घटना २०६९ चैत्र २२ गते राति प्रहरी निरीक्षक केशव भट्टराईको पालामा भएको थियो ।
पथरीमा दैनिक गीत गाउँदै हिँड्ने आधा मगजकी ४० वर्षीया रमा बरालको २०७२ साउन ७ गते बिहान पथरीको मुन्दुम चौक (पुरानो पीपल चौक)मा रडले टाउकोमा प्रहार गरेको मृत अवस्थामा फेला परिन् । यो घटनाको पनि दोषी पत्ता लागेको छैन । २०७३ साउन २९ गते पथरीशनिश्चरे नगरपालिका– १० मा यस्तै एउटा घटनाले सनसनी मच्चियो । दिनको २ बजे ३१ वर्षीय दिलिप भनिने मानबहादुर विश्वकर्माले २१ वर्षीया समीक्षा कार्कीलाई घरैमा गएर छुरा प्रहार गरी हत्या गरे । विष सेवन गरी आत्महत्याको प्रयास गरेका विकलाई मर्न भने दिइएन ।
हत्या मात्र होइन, पाँच वर्षअघि १६ वर्षीया युवतीलाई मादक पदार्थ सेवन गराएर चार जनाले पालैपालो जबरजस्ती करणी गरेका थिए । बलात्कृत युवती राम्रोसँग हिँड्न नहुने गरी शरीरिक अशक्त भएकी थिइन् । सुनसरी इटहरीका होटलहरूबाट प्रहरीले अवैध यौनकार्य गर्ने युवायुवतीहरू पक्रिन थालेपछि त्यो रोग केही समय पथरीमा सरेको थियो । १६–१७ वर्षका युवाहरू इटहरीबाट स्थानान्तरण भएका महिलाहरूसँग यौनकार्य गर्न ५०– ६० वर्षकी होटल सञ्चालिकासँग रकममा दलाल गरेको प्रसङ्ग बाहिरै आएको थियो । अवैध यौनकार्य गर्ने युवायुवती र होटल सञ्चालिकासहित पक्राउ मात्र परेनन् मुद्दा नै चल्यो ।
लागूऔषध प्रयोग र ओसार–पसारको दृष्टिकोणले पनि पथरी कम छैन । एकै साथ ३० किलो गाँजासहित व्यापारी पक्राउ परेर मुद्दा चलेको रेकर्ड छ इलाका प्रहरी कार्यालय पथरीमा । सवारी दुर्घटना, साइवर अपराधका घटनाहरू यहाँ नहुने कुरै भएन । अन्त हुनेभन्दा फरक प्रकृतिको सुरक्षा चुनैती पनि छ पथरीमा । दोहोरो स्वामित्व (एउटाको स्वामित्व, अर्कोको भोग)को जग्गा, नेपाली नबुझ्ने पागलको सङ्ख्या वृद्धि र जङ्गल सुरक्षा चुनौती अन्तभन्दा बढी छ । कहिलेकाहीँ हिन्दी भाषा मात्र बुझ्ने पागलहरूको सडक, बजारमा भीड लाग्ने गरेको छ ।
खुला सिमानाको कारण छिमेकबाट ट्रकमा ल्याई जङ्गलमा छाडिने गरेको बुझिन्छ । ती पागलहरू सवारी दुर्घटना वा बेला–बेला आफै मृत अवस्थामा भेटिन्छन् । वन–जङ्गलको बाटो एकान्त भएपछि अपराध कार्य हुने नै भयो । पथरीको पूर्व र पश्चिममा जङ्गल भएको कारण मान्छेलाई आत्महत्या गर्न, आपराधिक घटनाको शव ल्याएर फाल्न, चोरी र डकैती जस्ता घटना गराउने अपराधीहरूलाई सजिलो हुने गरेको छ । बर्सेनी अपराधको घटना भए पनि प्रहरी भने पथरीलाई असुरक्षित मान्न तयार छैन ।
पथरी प्रहरीमा अपराधको तथ्याङ्क
पथरी असुरक्षित भनेर स्थापित नै भइरहेको छ । के पथरीमा बर्सेनी अपराध बढेकै हो ? मुख्य सडकसँग जोडिएका तीनवटा इलाका प्रहरी कार्यालयको तथ्याङ्कमा के छ त ? अध्ययनको लागि तीनवटै कार्यालय पुगियो र त्रिवर्षीय अपराध तालिकाको तथ्याङ्क अध्ययन गरियो ।
इलाका प्रहरी कार्यालय पथरीको तालिका हेर्दा आर्थिक वर्ष २०७२÷०७३ मा कर्तव्य गरी ज्यान मारेको अभियोगमा दुईवटा, २०७३÷०७४ मा चार र २०७३÷०७४ मा फेरि दुईवटा मुद्दा चलेको देखिन्छ । ज्यान मार्ने उद्योगमा क्रमशः ३, ४, ३ वटा मुद्दा, जबरजस्ती करणीमा ९, ४, ९ र करणी उद्योगमा १, ४, ४ वटा मुद्दा दर्ता भएको देखिन्छ । लागूऔषधमा १, ५, ६ वटा मुद्दा अदातल गएको तथ्याङ्क छ । तालिका हेर्दा प्रचारमा भएजस्तो पथरी असुरक्षा वा अपराध बढ्दै गएको देखिन्न ।
पूर्व –पश्चिम मुख्य सडकसँग जोडिएको सुनसरी इटहरीदेखि झापा दमकको सिमाना मावा खोलाबीचमा उर्लाबारी, पथरी र बेलबारी इलाका प्रहरी कार्यालयहरू पर्दछन् । यी कार्यालयहरूको त्रि–वर्षीय तुलनात्मक अपराध तालिका हेर्दा पनि पथरी साह्रै असुरक्षित भन्ने देखिएन । आर्थिक वर्ष २०७२÷०७३ मा कर्तव्य गरी ज्यान मारेको अभियोगमा बेलबारी प्रहरीले १८, पथरीले ८ र उर्लाबारीले ५ वटा मुद्दा चलाएको देखिन्छ । ज्यान मार्ने उद्योगमा बेलबारीले ३८, उर्लाबारीले १३ र पथरीले १० वटा मुद्दा दर्ता गरेको छ । यो अभियोगमा पथरीमा कम मुद्दा परेको देखिन्छ ।
लागूऔषधमा बेलबारीमा ५१, पथरीमा १२ र उर्लाबारीमा ७ वटा, जबरजस्ती करणीमा बेलबारीमा ७७, पथरीमा २१ र उर्लाबारीमा ११, जबरजस्ती करणी उद्योगमा बेलबारीमा ३०, उर्लाबारीमा १० र पथरीमा ९ वटा मुद्दा चलेको छ । तथ्याङ्क हेर्दा बेलबारीमा बढी मुद्दा भएको देखिन्छ । त्यहाँको भौगोलिक अवस्था र जनसङ्ख्याको हिसाबले कार्यक्षेत्र बढी भएकोले मुद्दा बढी दर्ता भएको हो । तुलनात्मक हिसाबले बेलबारी, उर्लाबारीकै दाँजोमा पथरीमा कम मुद्दा दर्ता भएको देखिन्छ । कतिपय अपराधका घटनामा पथरीमा छिमेकी इलाकाहरूभन्दा कम मुद्दा दर्ता भएको छ । तीनवटै इलाकामा बराबर जस्तो अपराध भएको देखिए पनि पथरीको आन्तरिक तालिका हेर्दा झुण्डिएर र विष सेवन गरेर मृत्यु हुनेको सङ्ख्या भने बर्सेनी बढेको देखिन्छ ।
पथरीशनिश्चरेमा एक प्रहरीलाई १८ सयको सुरक्षा जिम्मेवारी
हुन त कोस्टारिका, आइसल्याण्ड, भ्याटिकनसिटी जस्ता देशमा प्रहरी नै छैन । डोमिनिका रिपब्लिक, मारिसियस, मोनाक्को, सोलोमोन आइसल्याण्ड, ग्रेनाडाजस्ता देशहरूमा सेना छैन । सेना र प्रहरीबिना पनि देश चल्छ । विश्वको कतिपय देशमा बर्सेनी अपराधी घट्ने क्रममा छ । यस्तै देशमा पर्छ युरोपको नेदरल्याण्ड । एक करोड ७१ लाख ३२ हजार जनसङ्ख्या भएको नेदरल्याण्डमा सन् २०१३ मा १९ जना कैदी थिए । सन् २०१८ मा आइपुग्दा एकजना पनि कैदी नभएको तथ्याङ्क सार्वजनिक भयो । कैदीहरू नभएपछि जेलमा काम गर्ने अधिकांश कर्मचारीहरूलाई अन्य क्षेत्रमा सारिएको थियो ।
हाम्रो देश भने अपराध न्यूनीकरण गर्न प्रहरी मात्र नभएर सशस्त्र प्रहरी पनि क्रियाशील छ । पथरीशनिश्चरे नगरको कुरा गर्दा बेला–बेलामा हुने गम्भीर प्रकृतिका घटनामा सुरक्षा व्यवस्था मिलाउन नसक्दा प्रहरी इञ्चार्जहरू आलोचित हुन्छन् । रिना र षडराज मृत्यु काण्डमा प्रहरी प्रमुख इन्स्पेक्टर कमल बजगाईं आलोचित मात्र भएनन्, काज सरुवा नै जानु पर्यो । प्रहरी निरीक्षक राजन कार्की पनि कार्यकाल पूरा नगरी माथिल्लो निकायबाट तानिनु पर्यो ।
क्षेत्रको हिसाबले पथरीशनिश्चरे नगरपालिका ७८.८१ र कानेपोखरी गाउँपालिका ८२.८३ गरी इलाका प्रहरी कार्यालय पथरीको कार्यक्षेत्र १ सय ६१ वर्गकिलोमिटरमा फैलिएको छ । जनसंख्याको हिसावले पथरीशनिश्चरे ८० हजार र कानेपोखरीको ३८ हजार ३३ गरेर जम्मा एक लाख १८ हजार ३३ जनाका बसोबास रहेको छ । पथरी इलाका अन्तरगर्त एउटा अस्थायीसहित तीनवटा चौकी, एउटा बेसक्याम्प गरी नेपाल प्रहरीमा ६६ जना, भुटानी शरणार्थी शिविरसहित दुईवटा सशस्त्र बेसक्याम्पमा सशस्त्रमा ३४ र ट्राफिक प्रहरी ५ गरी १ सय ५ जना प्रहरी रहेका छन् । यो सङ्ख्या अवस्था हेरी घटबढ हुने गर्दछ ।
इलाका प्रहरी कार्यालयमा डीएसपीको दरबन्दी गृह मन्त्रालयले स्वीकृत नगरेसम्म जनपथ प्रहरीको मात्र सङ्ख्या हेर्दा १ जना प्रहरीको भागमा एक हजार सात सय ८८ जनालाई सुरक्षा जिम्मा पर्दछन् । हुन त सुरक्षा सङ्ख्या मात्र होइन, मनोविज्ञान पनि हो । अपराध गरेर प्रहरीले अवश्य कारबारहीको दायरामा आइन्छ वा अपराध गरेर फरार फल्नालाई प्रहरीले कुनै हालतमा छाड्दैन भन्ने मनोविज्ञान जरुरी छ ।
जनप्रतिनिधि र निजी क्षेत्रको बुझाइ
‘हामी असुरक्षित छौं भन्ने लाग्दैन’ पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई भन्छन्, ‘नगर जङ्गलको घेराभित्र छ, अपराध गरेर भाग्न सक्ने ठाउँ भएको कारण सचेत हुनुपर्दछ ।’ प्रमुख राई थप्छन्, ‘पथरीबजार घना बस्ती भएको कारण को आयो र गयो कमै मान्छेलाई थाहा हुन्छ ।’ नगरमा प्रदेशकै गौरवको सङ्ग्रहालय बन्दै छ । हामी हरेक सामुदायिक वनहरूसँग साझेदारीमा पोखरीलगायतका संरचना निर्माण गर्दैछौं । त्यसकारण पथरी विस्तारै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैछौं । नगरप्रमुख राई भन्छन्, ‘पथरी शान्त छ, आउनुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस्, सुरक्षा पुगेन भने हामी व्यवस्था गर्छौं ।’
उपप्रमुख तथा न्यायपालिका प्रमुख यमुना विष्टको पनि भनाइ उस्तै छ । ‘पथरी कुनै असुरक्षित ठाउँ होइन, एक–दुई घटना त काठमाडौंमा मात्र होइन, अमेरिका जस्तो विकसित मुलुकमा पनि हुन्छ ।’ किन पथरी असुरक्षित भएको हल्ला चलिरहेको छ त ? यो प्रश्नमा उपप्रमुखको भनाइ यस्तो छ, ‘हात–हातमा प्रविधि छ, आधा बुझेर वा नबुझी बोल्छन्, लेख्छन् त्यही हो ।’ पथरीशनिश्चरे नगरपालिका–६ नम्बर वडाअध्यक्ष जय तामाङ भने जनप्रतिनिधि आएपछि सुरक्षा सुधार भएर गएको दावी गर्छन ।
सुरक्षाकै बारे पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत भन्छन् ‘असुरक्षा भन्ने हल्ला मात्र हो, केही सञ्चार माध्यम, त्यो पनि युट्युबले चलाएको हल्ला हो ।’ उनले थपे, ‘नगरले बेला–बेला बैठक राखेर सुरक्षासम्बन्धी योजना दिनुपर्ने, दिँदैनन् ।’ ‘बाहिर पथरी साह्रै असुरक्षित भएको हल्ला चले पनि यहाँ त्यस्तो छैन’ न्यु प्यागोडा बोर्डिङ स्कुलको सञ्चालक टीकाप्रसाद दङ्गाल भन्छन्, ‘गाउँ–गाउँमा सडक पुगेर दोकानहरू खुल्न थाले, पथरी बजारको व्यापार घटे पनि असुरक्षाको कारण होइन ।’
रिना र षडराज मृत्यु बारे प्रहरीको निष्कर्ष
रिना र षडराजको मृत्युपछि पथरी असुरक्षित भएको व्यापक प्रचार भयो । कतिपय च्यानलबाट रिनाको त हत्या नै भएको ठोकुवा गरेरै प्रचार भयो । रिना मृत्यु बारे प्रहरी हेडक्वारको समेत चासो रह्यो । घट्ना पत्ता लगाउन अनुसन्धान व्युरोको केन्द्र, प्रदेशदेखि कर्मचारी खटिए । अनुसन्धानको सवै जसो प्रकृया अपनाएपछि प्रहरी रिनाको मृत्यु ९५ प्रतिशत हत्या नभएको निष्कर्षमा पुगे ।
अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङले खटाएका प्रहरी निरीक्षक सुबास भट्टराई भन्छन् ‘रिनाको मृत्यु ९५ प्रतिशत हत्या होइन ।’ पथरीमा लगातार एकै प्रकृतिको घटनामा दुईजनाको मृत्यु भएपछि प्रहरी निक्कै गम्भीर बन्यो । अनुसन्धानकै लागि तत्काल डीएसपी नवराज ढुङ्गाना जिल्लाबाट खटिए । रिना घटनाबारे पोष्ट मार्टम रिपोर्ट, भिसेरा, म्यासेञ्जर, एसएमएस, सीसी टिभी फुटेज त हेरिने भयो नै । कसैले करणी गरेर हत्या ग¥यो कि भनेर भेजिनल स्वाव पनि परीक्षण भयो । शङ्कास्पद व्यक्तिहरूलाई पोलिग्राफ परीक्षण (ढाँटेको थाहा हुने प्रविधि), मोवाइलको सेट परीक्षण गर्ने प्रविधिसमेत प्रयोग भएको प्रनि भट्टराईको भनाइ छ ।
सेट परीक्षण प्रविधिले वर्षौं अघि डिलिट भएको एसएमएसलगायतको कुराकानीको डिटेल आउने भट्टराईले बताए । रिना मृत्युबारे ३६ जनालाई लिखित बयानसहित ५० बढीलाई सोधपुछ गरेपछि प्रहरी सो निष्कर्षमा पुगेको हो । रिनाकै प्रकृतिको षडराज तामाङ मृत्युको पनि प्रहरीको भनाइ उस्तै छ । रिनाको जति षडराज मृत्युबारे अनुसन्धानको प्रकिया अपनाइएन । षडराजको मृत्युको मुख्य कारण चाहिँ प्रहरी भएको स्रोतको दाबी छ ।
षडराज मृत्यु हुनुपूर्व पनि प्रहरी नियन्त्रणमा परेका थिए । सिक्का बारमा मादक पदार्थ सेवन गरेका षडराजले केही व्यक्तिसँग झगडा गरेका थिए । यतिकैमा प्रहरी पुगेर तँ फेरि यहाँ छस् ? भनेर प्रश्न गरेपछि पक्राउ पर्ने डरले आत्तिएर भाग्ने क्रममा तीन तलामाथिबाट खसेको स्रोतको दाबी छ । रिना र षडराज दुवै माथिबाट झरेर मृत्यु भएको प्रहरीको ठहर भए पनि ज्यान मुद्दामा अनुसन्धानबाट नयाँ कुरा खुलेमा अपराधीलाई कारबाही गर्ने प्रक्रिया भने बन्द हुँदैन ।
पथरीमा प्रहरी आगमनको इतिहास
पथरीमा २०४३ सालमा प्रहरी चौकीको स्थापना भयो । त्यो बेला हवल्दार रामचन्द्र मगरको कमाण्डमा प्रहरी आएको थियो । स्थानीयको सहयोगमा टेकबहादुर विष्ट अध्यक्ष र दुर्गा सिटौला सचिवको नेतृत्वमा पथरी बजारमा चौकी भवन निर्माण भएको थियो । २०५२ सालबाट शुरु भएको जनयुद्ध २०५६÷०५७ मा पूर्व आइपुग्यो । माओवादीको क्रियाकलाप बढ्दै गएपछि पथरी चौकी जिल्ला प्रहरी कार्यालय मोरङमा केन्द्रित भयो । प्रहरीले चौकी छाडेर गएपछि माओवादीले बम प्रहार गरी चौकी भवन ध्वस्त गर्यो ।
बृहत् शान्ति सम्झौतापछि चौकी पुनः स्थापना भयो । २०६७ असोज १२ गते प्रहरी निरीक्षक मोहनविक्रम दाहाल चौकीको इञ्चार्ज भएर आएको केही महिनापछि चौकी इलाका प्रहरीमा बढुवा भयो । यही इलाका प्रहरीमा २०७६ असार २ गतेदेखि डिएसपी लक्ष्मी अधिकारी काजमा आएका छन् । इलाका अन्तर्गत एक अस्थायीसहित तीन चौकी र एउटा प्रहरी बेसक्याम्प रहेका छन् । इलाकालगायतका प्रहरी निकायमा यो सुरक्षा क्षेत्रमा एक डिएसपी, एक इन्स्पेक्टर, तीन सइ, १० असइ, १९ हवल्दार र ३२ जवानसहित ६६ जना प्रहरी छन् । नगरकै शनिश्चरे बजारमा २०६२ साउन २५ गते सशस्त्र प्रहरी बेसक्याम्पको स्थापना भयो । प्रहरी नायव निरीक्षकको कमाण्डमा एक असइ, एक वरिष्ठसहित तीन हवल्दार र १५ जना जवान रहँदै आएको छ । नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविरको सुरक्षालाई ख्याल गर्दै सशस्त्र प्रहरी बेसक्याम्पको २०६४ कार्तिक २५ गते स्थापना भयो ।
इलाका प्रहरीको मातहतमा प्रहरी चौकी कुशेचौरी (शनिश्चरे), रमाइलो चौकी र अस्थायी चौकी कानेपोखरी असइको कमाण्डमा ७ देखि १३ जनाको दरबन्दी रहे पनि प्रहरी अपुग छ । पथरी यलम्बर चौकमा सइको कमाण्डमा ९ जना प्रहरी छन् । यसबाहेक २०६४ असोज २ गते पथरीमा इलाका ट्राफिक प्रहरी कार्यालय थपियो । त्यहाँ अहिले प्रहरी नायव निरीक्षक मनिराम कोइरालाको नेतृत्वमा १ हवल्दारसहित ५ जना प्रहरी छन् । इलाका प्रहरी अन्तर्गत जनपथ, सशस्त्र र ट्राफिक गरी आठवटा निकायमा १ सय ५ प्रहरी परिचालित छन् ।
निष्कर्षः
पथरी असुरक्षित क्षेत्र हो ? भन्ने प्रश्नमा इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर सुवास भट्टराई भन्छन, ‘होइन ।’ अनि प्रतिप्रश्न गर्छन्, ‘काठमाडौंलाई सुरक्षित कि असुरक्षित क्षेत्र भन्ने ?’ विभिन्न समयमा गोली प्रहारबाट भएका हत्या र बम विष्फोटप्रति सङ्केत गर्दै भट्टराई थप्छन्, ‘पथरी असुरक्षित होइन सुरक्षा संवेदनशील क्षेत्र चाहिँ हो ।’ जनयुद्धको बेला पूर्वको रोल्पा भनेर चिनिने पथरीमा हुन त हत्या, बलात्कार, लुटपाट, ठगी, लागु औषध प्रयोग र ओसार–पसार लगायतको अपराधहरु हुदै नहुने होइन । केही वर्षअघि यही कलमीलाई पनि डेढ हप्तासम्म ज्यान मार्ने एसएमएस धम्की नआएको होइन । तर, तीन वर्षको तुलनात्मक अध्ययन गर्दा आपराधिक घटनाहरू बढेको देखिँदैन । उर्लाबारी र बेलबारी इलाका प्रहरीको तुलनामा पथरीमा कमै अपराधका घटना भएको पाइयो ।
पथरीमा सुकुम्बासी आन्दोलनमा आगजनी भएकै हो । तत्कालीन युथफोस (वाईसीएल) झडपजस्ता घटना पनि नभएको होइन । बेला बखतमा नेपालकै राजधानी काठमाडौं, प्रदेश राजधानी विराटनगरमा पनि सुरक्षा प्रतिकूल घटनाहरू हुन्छन् । यस्तै एक–दुई घटनालाई हेरेर पथरी असुरक्षित भनेर प्रचार हुनु त्यति सान्दर्भिक देखिन्न । पूर्वी मोरङको व्यापारिक केन्द्र र पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गरेको पथरीमा प्रचारमा भएजस्तो असुरक्षा देखिँदैन । यहाँ आएर किनमेल र घुम्नुमा कुनै बाधा अवरोध छैन । यद्यपि केही मानिसहरूको हत्या गरेर फरार अभियुक्त र पत्ता नलागेका व्यक्तिहरूलाई अनुसन्धान गरी पक्राउ गर्नुपर्ने प्रहरीको जिम्मेवारी भने छँदैछ ।
स्रोतः (इलाका प्रहरी कार्यालय पथरी, बेलबारी र उर्लाबारी, (नेपाली हेडलाइन्स अनलाइन, जनबोली अनलाइन विकिपेडिया)