टर्कीका मनोविज्ञान प्रोफेसर साहिका युकसेललाई एक पटक पत्रकारहरुले सोधेका थिए, पुरुषहरु किन बलात्कारी हुन्छन् ? जवाफमा उनले भनेकी थिइन्, ‘मेरो अनुसन्धानले यो भन्छ कि कुनै पनि पुरुषले आफ्नो यौनप्यास मेट्नका लागि महिलालाई बलात्कार गर्दैन, अर्थात् बलात्कार यौनक्रिया होइन, यो महिला वा बालिकामाथि हाबी हुने उद्देश्यले गरिने खतरनाक र जघन्य हिंसाको सिलसिला हो ।’ उनको यो भनाइलाई यति स्पष्ट हुँदाहुँदै पनि नेपालजस्ता अल्पविकसित, विकासोन्मुख मुलुकमात्र होइन, अति विकसित मुलुकमा पनि महिला वा बालिकामाथि हुने बलात्कारजन्य हिंसालाई गम्भीररुपमा लिएको पाइन्न । बलात्कार बढ्नुको बारेमा कसैले खुला समाजलाई दोष दिने गरेका छन् भने कसैले पाश्चात्य संस्कृतिलाई त कसैले पोर्न फिल्मलाई । तर यी सबै कारणहरु बलात्कारको मनोविज्ञानसँग जोड्नु महागल्ती हुन्छ । बलात्कार यौन मनोविज्ञानले अध्ययन गर्ने एउटा सानो पाटो हुनसक्छ । बलात्कार घटनामा महिला, बालिका हुन्छिन् र बलात्कारी एक पुरुष वा अरु धेरै पुरुष हुन्छन् तर त्यहाँ महिलाको कुनै सहमति हुँदैन । तर पुरुषले जबर्जस्ती गर्छ । हिंसात्मक, परपीडक, अस्वभाविक, अमानवीय व्यवहार अपनाएर पुरुषले बलात्कार गर्छ । यस अर्थमा बलात्कार घटना यौन सन्तुष्टि वा प्यास मेट्ने उद्देश्यभन्दा पनि महिलालाई अपमान गर्ने उद्देश्यबाट बढी प्रेरित भएको बुझिन्छ । पुरुषप्रधान समाजले महिलालाई एउटा मनोरञ्जन गर्ने साधनको रुपमा परिभाषित गरेकाले पनि बलात्कारको घटना बढेको हो । महिलामाथि बलात्कार गर्नु भनेको पुरुषले आफूभित्र भएको दमित इच्छा–आकांक्षालाई प्रदर्शन गर्दै यौनसमागमबाट भन्दा पनि पुरुष भएकाले तागत देखाउनु, हैकम चलाउनु, मानसिक र शारीरिकरुपमा हिंसा गर्नु मुख्य उद्देश्य हो ।

यौनहिंसाको कारण महिलामा देखिने भनेको शारीरिक समस्या, यौन सङ्क्रामक रोग, गर्भ बस्नेजस्ता समस्या हुन् तर नदेखिने समस्या अनेक छन् । बलात्कारबाट पीडित महिला वा बालिकाको मानसिक क्षतिको पूर्ति भने कतैबाट हुन सक्दैन । समाज विज्ञानीहरुका अनुसार बलात्कार हुनु वा बढ्नुलाई अस्वस्थ समाजको विकास कसरी हुँदैछ भन्ने सङ्केत पनि हो । यो सङ्केत सुनसरीमा पनि देखिँदैछ । ११ महिनामा ५ सय बलात्कारका घटना हुनु भनेको समाज अस्वस्थ बन्नु हो । बलात्कार समाजको कलङ्कमात्र नभएर महिलामाथि हुने हिंसाको चरम उत्कर्ष पनि हो । यो तथ्याङ्क त प्रहरी प्रशासनमा उजुरी परेका आधारमा सार्वजनिक भएका हुन् । समाजमा बलात्कृत महिला बालिकाहरुले अपमानित हुने भयले लुकाइएका घटना त कति होलान्, कसैसँग तथ्य छैन । बलात्कृत महिला बालिकाहरु कतिपयले मानसिक तनाव सहन नसकी मानसिक रोग पालेर बस्ने, आत्महत्यासमेत गर्ने अवस्थामा पुगेका छन् ।

नेपालको ऐनले दश वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेमा १६ देखि २० वर्षसम्म कैद, दश वा दश वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ देखि १६ वर्ष कैद, चौध वर्षभन्दा बढी र १६ वर्षभन्दा कम उमेरकी भए १२ देखि १४ वर्ष कैद, १६ वर्षदेखि १८ वर्षभन्दा कम भए १० वर्षदेखि १२ वर्षसम्म कैद र १८ वर्षदेखि माथि उमेरकी महिला भए ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । यो दण्ड सजाय आफैमा बाझिएको छ । सरकारले अपराध संहितामा १८ वर्षमुनिकालाई बालबालिका भनेर तोकेको छ । तर मुलुकी फौजदारी संहिता ऐनले भने १० वर्षभन्दा मुनि र १८ वर्षको उमेर भित्र पनि दण्ड सजाय दिने सवालमा अनेकखाले वर्गीकरण गरेर कानूनी छिद्र राखेको छ । १८ वर्ष मुनिका सबैलाई बालबालिका भनेर परिभाषित गर्ने तर दण्डसजाय दिने बेलामा एकरुपता नदिने कानूनी जिलिगाँठीले बलात्कारजस्ता अपराध समाजमा बढ्ने नै भए । कतिपयले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने पनि माग गरेका छन् । कानून बनाएर मात्र बलात्कार घटना नियन्त्रण गर्न सकिन्न । समाज नै स्वस्थ हुनु जरुरी छ । समाज स्वस्थ हुनलाई व्यक्तिमा इमान्दारितामात्र भएर हुँदैन, महिलाप्रति सम्मान जागृत हुनुपर्छ । स्वस्थ समाज निर्माणका लागि सबै एकजुट हुनु जरुरी छ ।