निश्चित रूपमा आजका बालबालिका र किशोर किशोरीहरू नै भोलिका कर्णधार हुन् । किशोर किशोरीहरूको मस्तिष्क सबल बन्न नसक्दा समाज र राष्ट्रको बौद्धिक उत्पादन र सृजना ह्रास भएर जाने हुन्छ । भावी जनता मानसिक रूपमा कमजोर हुन्छन्, साथै मानसिक रोगीहरुको सङ्ख्या बढ्ने अवस्था बन्दछ । यसर्थ पनि आजको बढ्दो सांसारिक दबाव र तनावलाई झेल्न सक्ने बन्न सबल मस्तिष्क युक्त हुनु अपरिहार्य नै हुन्छ, जसका लागि पौष्टिक दिवा खाजा सर्वथा अनिवार्य देखिन्छ ।
नेपालका सामुदायिक विद्यालयहरूको एउटा मुख्य चुनौती भनेकोे विद्यार्थीले खानु पर्ने खाजाको (टिफिनको) अनुपलब्धता र उपलब्ध खाजाको पनि गुणस्तरहीनता देखिएको छ । त्यसका कारणले विद्यालयका बालबालिका एवं किशोर–किशोरी विद्यार्थीहरूले अध्ययनमा देखाउनु पर्ने अपेक्षित रुचि र ल्याउनु पर्ने अपेक्षित उच्चतम परिणाम दिन नसकिरहेको पाइन्छ । विद्यार्थीहरूले अध्ययन पूरा नगरी बिचैमा स्कुल छोड्ने क्रम अत्याधिक रुपमा बढेको छ । किशोर र किशोरीहरूको उमेर भनेको तीव्र शारीरिक विकासको समय हो । त्यसबेला उनीहरूका लागि सन्तुलित खाना र पौष्टिक दिवा खाजाको व्यवस्था अपरिहार्य हुन्छ । खाना र खाजा शरीर र मष्तिस्कको उर्जा हो । सन्तुलित खाना र पौष्टिक खाजा बिना शरीरको सन्तुलित विकास र मस्तिष्कको परिपक्व रूपमा विकास हुन पाउँदैन ।
अमेरिकन एकेडेमि अफ पेडियाट्रिसियन्स्का अनुसार एकजना किशोरलाई प्रतिदिन २८०० क्यालारी र किशोरीलाई २२०० क्यालारी उर्जा आवश्यक हुन्छ । यसर्थ यो मात्राको क्यालारी प्राप्त गर्न विद्यालयमा विद्यार्थीहरूले पौष्टिक खाजा खानु अनिवार्य हुन्छ । हिजो आज दिवा खाजाको रूपमा विद्यालयहरूमा सहजै उपलब्ध हुने तयारी चाउचाउ, बिस्कुट, समोसा, चाउमिन, मः मः आदिले विद्यार्थीहरूलाई दैनिक रूपमा आवश्यक क्यालोरी आपूर्ति गर्न सक्दैनन् । अझ यस प्रकारका गुणस्तरहीन खाजाले विद्यार्थीहरूमा दीर्घकालीन समस्याहरू निम्त्याउने गरेको अध्ययनहरूले देखाएका छन् ।
शिक्षाको पहुँचमा सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले, सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि २०६६ खारेज गरी सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि २०७३ (स्वीकृत मिति २०६३/१०/१३) तथा कार्यक्रम कार्यान्वयन निर्देशिका अनुसार तोकिएका जिल्लाका सबै र अन्य जिल्लाका लक्षित समूहका बालबालिकालाई प्रतिदिन १५ रुपैयाँका दरले १ सय ८० दिनका लागि दिवा खाजा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
संविधान अनुरूप अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनका निम्ति राज्यले यसको सम्पूर्ण दायित्व व्यहोर्नुपर्छ । गत वर्ष शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले ४० वटा जिल्लाका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको थियो । विद्यालयगत तथ्याङ्कका आधारमा प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले १ सय ८० दिनका लागि विद्यालयको खातामा निकासा गरिएको थियो । खास क्षेत्र तथा अति सीमान्तकृत, लोपोन्मुख जातिका बालबालिका एवम् जिल्लाका विद्यार्थीका लागि दिवा खाजा उपलब्ध गराउन विद्यालयलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले अनुदान रकम उपलब्ध गराएको थियो । जसका लागि २ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले १३ लाख ५४ हजार विद्यार्थीलाई लक्षित गर्दै दिवा खाजा कार्यक्रम लागू गरे पनि सो कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन । अतः अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम अपेक्षित रूपमा प्रभावकारी नभएको पाइएको छ ।
कार्यक्रम लागू भएका जिल्लाले प्रत्येक वर्ष दिवाखाजा कार्यक्रमका लागि तोकिएका क्षेत्रहरूका विद्यालयमा अध्ययनरत र लोपोन्मुख तथा अति सिमान्तकृत बालबालिकाहरूको विवरण अध्यावधिक गरी शिक्षा विभागमा बजेट व्यवस्थाका लागि पेश गर्ने र कोटा निर्धारण तथा बजेट स्वीकृत भएपछि कार्यक्रम कार्यान्वयन पुस्तिकालाई समेत आधार मानी कार्यक्रम कार्यान्वयन गर्न सक्दछ । दिवा खाजा उपलब्ध गराइएका विद्यालयको विद्यार्थी दैनिक हाजिरी पुस्तिकाको प्रतिलिपि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षबाट प्रमाणित गराई स्थानीय तहमा सङ्कलन गरी सङ्ख्या यकीन भएपश्चात् थप निकासा दिने व्यवस्था, क्रियाकलाप र कार्यान्वयन प्रक्रिया उल्लेख गर्न निर्देशिकामा भनिएको छ ।
स्थानीय तहको मागका आधारमा शिक्षा विकास तथा समन्वय इकाइले सहजीकरण गरी शिक्षा विकास तथा समन्वय इकाइका अधिकारीको अध्यक्षतामा रहने विद्यालय छनोट समितिले तोकिएको मापदण्ड अनुसार विद्यालय छनोट गरिसकेपछि उक्त विद्यालयलाई पत्राचार गर्दछ । त्यसपछि विद्यालयमा बनेको विद्यालय खाजा व्यवस्थापन समितिले प्रक्रिया पुर्याएर रकम प्राप्त गर्दछ । यसरी दिवा खाजाको व्यवस्था र व्यवस्थापन हुन्छ । क्रियाकलाप र कार्यान्वयन प्रक्रिया निर्देशिकामा यस सम्बन्धी अनुदान निकासा दिँदा विद्यालय सञ्चालन भएको दिनलाई आधार मानेर मात्र उपलब्ध गराउने उल्लेख छ ।
साथै अर्को पछिल्लो व्यवस्थाअनुसार, नगर शिक्षा समितिको सिफारिसअनुसार नगर कार्यपालिकाले विकास केन्द्रमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दछ । र सवै विद्यालयमा दिवा खाजा व्यवस्थापन समिति गठन गरेर कार्याक्रम लागु गर्न विद्यालयहरूलाई निर्देशन गरिन्छ । कुनै कुनै विद्यालयमा केही राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी निकायहरूको सहयोगमा विद्यार्थीका अविभावकले नै समूह बनाई दिवा खाजा सञ्चालन गरेका पनि उदहारणहरू पाइन्छन् । अन्य केही विद्यालयमा दिवा खाजा व्यवस्थापनका लागि अभिभावकहरूकै समूह गठन गरिएको छ ।
पाँचदेखि १० जना रहने त्यस्तो समूहले आलोपालो गरी खाजा पकाउने खुवाउँने गरेको पाइएको छ । सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि २०७३ मा स्थानीयस्तरमा उपलब्ध हुने खाद्य पदार्थबाट सम्बन्धित विद्यालय खाजा व्यवस्थापन समितिले विद्यार्थीलाई खाजा उपलब्ध गराउने भनिएको छ । जसमा कार्बोहाइड्रेट समूह ९शक्ति दिने० चामल, गहँु, मकै, कोदो, फापर, जौ, आलु, तरुल, सगरखण्ड आदिलाई समेटिएको छ । यस्तै, प्रोटिन समूहअन्तर्गत भटमास, सिमी, केराउ, चना, गेडागुडी, माछा, मासु, अन्डा आदि छन् । यस्तै, शरीरका अङ्गको सन्तुलित विकास र कार्यक्षमता वृद्धिका लागि स्याउ, सुन्तला, जुनार, नासपाती, मेवा, केरालगायतका फलफूलहरू र घिउ, तेल, नौनी, दूध, दही आदि पर्दछन् ।
दिवा खाजा कार्यक्रमबाट विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने र नियमित गराउने मात्र नभएर उनीहरूलाई कुपोषणबाट बचाउने अपेक्षा पनि गरिएको छ । केही स्थानीय तहले विद्यालयहरूमा दिवा खाजाको व्यवस्था गराएपछि त्यसले विद्यार्थीहरूको स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्याएको र जङ्क फुड (दालमोट, च्यूरा, चाउचाउ, बिस्कुट, समोसा, मःमः, चाउमिन, डुनट, आदि) बाट बालबालिकाहरूलाई पर पर राखेको देखिन्छ । सरोकारवालाहरूका अनुसार सधैं १२ बजेपछि कक्षा छोडेर घर जाने बालबालिकाहरू पनि स्कूलमै दिवा खाजा पाउँन थालेपछि दिनभर विद्यालयमै रहन थालेका छन् ।
साथै उनीहरूको सिकाइको स्तरमा समेत वृद्धि भएको पाइएको छ । निजी विद्यालयमा पढ्ने बालबालिकालाई घरबाटै खाजा बनाएर वा पैसा दिएर पठाइने परिवेशमा सामुदायिक विद्यालयका विद्यार्थीलाई पिटेर वा यातना दिएर रुवाएर विद्यालय पठाइने गरिन्छ, यो परिस्थितिलाई पनि दिवा खाजाको व्यवस्थाले सुधार ल्याइरहेको सङ्केत देखिन्छ । विद्यालय जान नमान्ने ससाना बालबालिकाहरू दिवा खाजा पाउन थालेपछि नियमित रूपमा विद्यालयमा हाँजिर हुने गरेको समेत अध्ययनले देखाएको छ । दिवा खाजाको लोभले विद्यालय छुट्टी हुन्जेलसम्म सबै बालबालिकाहरू कक्षामा बस्न थाल्छन् । मध्याह्न (हाफ टाईम) पछि विद्यालय नै बन्द गर्नु पर्ने बाध्यता यस कार्यक्रमले हटाउँछ ।
हाल सरकारले चलाएको राष्ट्रिय भर्ना अभियानबाट तथ्याङ्कमा विद्यार्थीको भर्ना बढेको छ तर ती विद्यार्थीहरुलाई स्कूलमा टिकाइरहनका लागि दिवा खाजाको व्यवस्था एक आकर्षक योजना बन्न सक्छ, यसलाई स्थानीय निकायहरूले सम्वेदनशीलता देखाएर जिम्मेवारीका साथ क्रमिक रूपमा सबै सार्वजानिक विद्यालयमा व्यवस्था गराउनै पर्छ । निःशुल्क रूपमा शिक्षा प्रदान गरीरहेका सार्वजनिक विद्यालयहरूसँग आर्थिक कोष सीमित हुन्छ, स्कूलहरूले सरकारद्वारा वार्षिक रूपमा प्राप्त गर्ने रकमबाहेक अन्य धेरै कुनै बजेट हुन्न ।
त्यसैले सार्वजानिक शिक्षालयहरू आफ्नै प्रयासबाट दिवा खाजाको व्यवस्थापन गर्न सक्दैनन् । यसका लागि स्थानीय निकायले केही ठोस योजना र अतिरिक्त बजेट ल्याउनै पर्छ । विभिन्न आरक्षण समूह र फरक फरक आर्थिक स्तरका विद्यार्थीहरू अध्ययन गर्ने सार्वजानिक विद्यालयहरूका विद्यार्थीहरू भोकले चौरमै मुर्छा परेको दृश्य हेर्न सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरू बाध्य छन् । अतः राज्यका सबै निकायले समन्वय गरेर ‘दिवा खाजा’ देशका सबै सार्वजनिक विद्यालयहरूमा व्यवस्था गराउने वातावरण बनाउन आवश्यक छ । यो देशको भविष्यसँग जोडिएको गम्भीर विषय हो ।