नयाँ वर्ष २०७६ को सुरुवातसँगै जेठ महिनाको अन्त्यसम्ममा पत्रकारितासँग सम्बन्धित पाँच मुख्य घटनाहरू सार्वजनिक भए । अत्यन्त चर्चा र विवादमा रहेका ती पाँच घटनाले नेपाली पत्रकारितामा गैर जिम्मेवारीपन बढ्दै गएको भनेर प्रश्न गर्ने ठाउँ छोडिदियो । करिब दुई महिनाभित्रका यी पाँच घटनाले नेपाली पत्रकारितालाई अत्यन्त घनीभूत बहसमा ल्यायो । सम्भवतः यो भन्दा अगाडि नेपालको पत्रकारिताको इतिहासमा छोटो अवधिमा यतिका धेरै बहस भएका थिएनन् ।

यस बहसले नेपाली पत्रकारितको जिम्मेवारीपन कुन हदसम्म कमजोर छ भन्ने कुरा नागरिकमाझ स्पष्ट पारिदियो । यी घटनाहरूलाई अध्ययन गर्दा गज्जबको कुरा के भेटिन्छ भने आम सञ्चारमाध्यमका सबै माध्यमहरू (रेडियो बाहेक) टेलिभिजन, छापा र अनलाइन एकै समयमा विवादमा तानिए । यसै गरी भाषा माध्यमको कोणबाट हेर्ने हो भने नेपाली र अङ्ग्रेजी दुवै माध्यममा यी विवादहरू देखिए । पत्रकारितामा अध्ययनको सन्दर्भ बन्न सक्ने गरी लगभग एकै समयमा भएका यी घटनाले पत्रकारिताको जिम्मेवारीपनलाई सार्वजनिक रूपले बहसको विषय बनाइदियो ।

पत्रकार सुशील पाण्डे र माननीय उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवबीच भएको टेलिभिजन अन्तर्वार्ता यो वर्षको पहिलो विवादित अन्तर्वार्ताको रूपमा चर्चित भयो । त्यसपछि देखिएका अन्य घटनाहरू पनि यसरी नै क्रमशः विवादित भएर देखा परे । टेलिभिजनको विवाद सेलाउन नपाउँदै अङ्ग्रेजी छापामाध्यममा देखिएको विवादले पत्रकारिताको कमजोरीप्रति नागरिकको तहबाट अझ बढी ध्यानाकर्षण भयो । सर्वसाधारणलाई अङ्ग्रेजी भाषा कम रुचिको विषय भएकाले होला समाजिक सञ्जालमा टेलिभिजनमा जस्तो बाक्लो बहस भएन ।

तर, अङ्ग्रेजी छापामाध्यममा देखिएको विवादमा जति बहस भए अत्यन्त बौद्धिक र सभ्य बहस भएका थिए । सबैभन्दा भद्दा तर्क र आलोचना युक्त विवाद इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वरिकलाल चौधरी र पत्रकार विराट अनुपमबीच देखियो । नगर प्रमुख द्वरिकलाल चौधरी र पत्रकार विराट अनुपमबीचको विवादले पत्रकारिताको मर्यादालाई सडकमा त ल्यायो नै पत्रकारिताको हुर्मत पनि मज्जाले लियो । नगर प्रमुख कि विराट अनुपम भन्ने पक्षधरताले घुमाउरो पारामा पत्रकारितामाथि नै प्रश्न उठायो । दुई पक्षको विषय प्रकाशित समाचारभन्दा पनि समाजिक सञ्जालमा राखिएको सवाल जवाफको प्रतिक्रियामा आधारित थियो । सुनसरीको एक अनलाइन खबरले धरानको व्यावसायिक क्षेत्र बन्दै गरेको बगरकोटको बारेमा साहित्यिक शैलीको तथ्यहीन समाचार छापेपछि त्यसको प्रतिरक्षा स्थानीयवासी आफैँले गरेका थिए । सो अनलाइनको समाचार गलत भएको भन्दै स्थानीयवासीले अनलाइनलाई प्रमाणित गर्न चुनौति दिएपछि अनलाइन आफैले समाचार हटाउनु परेको थियो ।

माथिका यी उदाहरणहरूले स्पष्ट पारेछन् कि अहिले नेपालको पत्रकारिता थोरबहुत कुनै न कुनै कमजोरीले ग्रस्त अवस्थामा छ । जनताको नाम दिएर प्रश्नमा आफ्नो कुण्ठा पोख्नेदेखि लिएर प्रश्नका लागि विशेषाधिकार प्राप्त विशेष मानिस भएको ठान्ने भ्रम छ । यही भ्रमका कारण नै पत्रकारितामा दुखद दुर्घटना जन्मिरहेको छ । यी पाँच घटनालाई खोतलेर हेर्यौँ भने स्रोतलाई सम्मान गर्ने र सत्यतथ्यलाई प्रस्तुत गर्ने मनोविज्ञानबाट पत्रकारहरू अलग रहेको बुझ्न सकिन्छ । पत्रकारिताको आदर्शले स्रोतलाई सम्मान गर्ने र सकेसम्म स्रोतबाट वास्तविकतासम्म पुग्नका लागि स्रोतलाई सहजीकरण गर्ने भन्ने आम मान्यता छ । यो मान्यतालाई लत्याउँदै केही पत्रकारहरू आपूmलाई बयान लिने सरकारी अधिकारी ठान्छन् ।

पत्रकार सुशील पाण्डे र माननीय उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवबीचको अन्तर्वार्ता यही मानसिकताको उपज हो । पत्रकारहरूले अन्तर्वार्ता लिन आउने व्यक्तिलाई सहजीकरण गर्दै वास्तविकतासम्म पुग्ने रणनीति अवलम्बन गर्नुपथ्र्याे । तर, यो सवालमा पत्रकार आफैँ हनुमान ढोका प्रहरी कार्यालयमा अपराधीलाई केरकार गर्ने केरकार शाखाको हवल्दारजस्तो चरित्रमा देखिएका थिए । यही कारणले एकले अर्काको सम्मान नभए वा नगरेसम्म पत्रकारिताको पक्रिया पूर्ण हुन्न, मर्यादा कायम रहन्न ।

टेलिभिजनको सवालमा पत्रकार सुशील पाण्डे पत्रकार कम र बढी केरकार शाखाको हवल्दार देखिएका थिए भने अङ्ग्रेजी छापामाध्यमको सवालमा भने सम्पादक आफू विशेषज्ञको रूपमा प्रस्तुत भएका थिए । समाचार गलत हुँदाहुँदै पनि क्षमा माग्नुको सट्टामा अङ्ग्रेजी छापामाध्यमका सम्पादकले समाचारबाट पीडित व्यक्तिलाई ‘प्रमाण लिएर पत्रिकाको कार्यालय आउनु’ भनेर दिएको जवाफले पत्रकारिताको साखलाई सडकमा झारिदिएको थियो । अङ्ग्रेजीमाध्यम भाषा प्रयोग गर्नेहरू आफैँ पनि सभ्य र पठित हुन्छन् भन्ने आम धारणा छ । तर, भुइँमान्छेको बुझाइलाई समेत सम्मान गर्न नसक्नु अङ्ग्रेजीमाध्यमका सम्पादकका लागि दुर्भाग्यको विषय हो । जुन दुर्भाग्यले अङ्ग्रेजीमाध्यमका सम्पादकले अघिल्ला तथा अग्रज सम्पादकहरूले जोगाइदिएको पत्रकारिताको मर्यादामा समेत धक्का पुग्यो ।

यो क्रम अनलाइनसम्म आइपुग्दा त पत्रकारिता रक्षात्मक बन्नुपर्ने अवस्था सिर्जना भयो । नगर प्रमुख द्वरिकलाल चौधरी र पत्रकार विराट अनुपमबीचको विवाद समाचारको विषयसँग असम्बन्धित भएकाले असम्बन्धित विषयमा पत्रकार महासंघ प्रदेश समितिबाट छानबिनको लागि कार्यदल गठन हुनु हास्यास्पद भएको सार्वजनिक टिप्पणी आए । समाचारभन्दा फरक विषयमा पत्रकारसँग भएको विवादमा छानबिनका लागि कार्यदल गठन हुनु नैतिक कोणबाट पनि उपयुक्त थिएन ।

समाचारसँग असम्बन्धित विषय भएपछि उक्त सन्दर्भ नगर प्रमुख द्वरिकलाल चौधरी र पत्रकार विराट अनुपमबीचको नितान्त व्यक्तिगत सवाल थियो । महासंघले समन्वयको पहल गर्नु आवश्यक थियो तर छानबिनको लागि कार्यदल गठन गर्नु आप्mनो साखमाथि प्रश्न उठाउनु थियो । यो घटनाले संस्थागत रूपमा नै महासंघको मर्यादालाई समाजिक सञ्जालमा विवादको विषय बनायो । अझ, बगरकोटको समाचार लेखेको अनलाइनको समाचार त यौन साहित्यभन्दा तल्लो स्तरको भन्दै धरानलाई बदनाम गराउने नियोजित षडयन्त्र भन्दै धरानवासीबाटै उक्त समाचारको विरोध भएको थियो । समाचार र साहित्यको भेद उक्त अनलाइनले फरक पाउन नसक्दा नै अनलाइनलाई नसहित स्वरूप र समग्र पत्रकारिताले नागरिकको तहबाट खप्की खानुप¥यो । समाचारको पुष्टि गर्न नसकेपछि आफैँ नै अनलाइनले उक्त समाचार हटाउनु पर्यो ।

व्यक्तिको रुचि र व्यक्तिमा भएको मनोगत प्रवृत्तिले पत्रकारिताको समान्य सिद्धान्तलाई ओझेलमा पारिरहेको छ । त्यसैले पत्रकार वा सम्पादकहरू गल्ती नै नगर्ने पक्षमा होइन कि भएका गल्ती देखाउँदा पनि दबाव नदिएसम्म स्वीकार्न तयार छैनन् । व्यक्तिको दम्भ वा रुचिले पत्रकारितामा विकास भएको यो प्रवृत्तिले गैर जिम्मेवारीपनलाई बढावा दिइरहेको छ । यो प्रवृत्तिबाट बाहिर निस्कन पत्रकार वा सम्पादकले आपूmलाई मात्र जान्ने वा विज्ञ ठान्ने भ्रमबाट बाहिर निस्कन जरुरी छ । देखिन थालेको पनि छ कि यतिबेला नागरिकको चेतनाको तहले पत्रकारितालाई प्रश्न गरिरहेको छ । त्यही चेतनाले समाचार लेख्ने पत्रकार वा सम्पादकलाई आफैँले लेखेको समाचार मेटाउन वा माफी माग्न बाध्य बनाउन थालेको छ ।