२०२० सालमा स्थापना भएको सुनसरी उद्योग वाणिज्य सङ्घको निर्वाचन आज जेठ २७ गते हुँदैछ । धरानमा व्यवसायीहरूको घरदैलो, दौडधुपले स्थानीय तहको निर्वाचनको झल्को दिइरहेको छ । स्थानीय पत्रपत्रिकाहरूमा पनि प्रचार व्यापक बनेको छ । यो प्रचारशैली र दौडधुप हेर्दा लाग्छ, यो तलब–भत्ता, सेवा सुविधासहितको पद हो । आफ्नो लगानी गरेर विशुद्ध समाज सेवा गर्ने यो सङ्घमा पुग्न लालायित हुने व्यवसायीहरूको ‘नियत’ प्रति पनि सङ्घमा आबद्ध व्यवासयीहरूले विचारशील हुनु जरुरी छ । वर्तमान उपाध्यक्षहरू गिरिधारी सापकोटा र विजय श्रेष्ठ अध्यक्ष पदका लागि मैदानमा उत्रिएका छन् । दुवैले आ–आफ्ना एजेण्डाहरू अघि सारेका छन् ।

विगतमा उद्योग वाणिज्य सङ्घ एकल जातिको मुठ्ठीमा रह्यो भन्ने बजारमा हल्ला उत्तिकै छ । त्यही मानसिकताले जिल्लाभरिको सङ्घ एउटा उपमहानगरमा खुम्चिएको अवस्था छ । यसलाई चिर्न र विगतका नेतृत्वभन्दा फरक काम गर्दै व्यवसायिक हकहित र उनीहरूको सुरक्षाका लागि योगदान दिन चुनौती छ । त्यो चुनौतीलाई अवसरका बदल्न अबको नयाँ नेतृत्व सफल हुनुपर्दछ । वाणिज्यतर्फ ८ जना सदस्यका लागि १८ जनाले उम्मेदवारी दिएका छन् । उद्योगतर्फ ४ जनाका लागि ८ जना, एसोसिएट सदस्यका लागि ३ जनाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । वस्तुगत र उद्योगको सदस्य निर्विरोध भएको अवस्था छ । यी उम्मेदवारका एजेण्डा हेर्दा स्थानीय तहका वडाअध्यक्षहरू झैं बाटो बनाउने, बजारमा सिसी क्यामेरा जडान गर्ने, सडकमा सोलार बत्ती लगाउने, कर छुट गराउनेजस्ता पूर्वाधार विकासका योजनाहरू छन् । यी काम जनप्रतिनिधिहरूको हो भन्ने हेक्का नहुनु विडम्बना हो । सङ्घले यस्ता विकास निर्माण गर्न स्थानीय तहलाई दबाव दिने, निजी लगानी भिœयाउन सहयोग गर्ने हो । व्यवसायीहरूका समस्या पहिचान गरी उनीहरूको उद्योग व्यापार–व्यवसाय कसरी फस्टाउन सक्छ र जिल्लावासीलाई कसरी सर्वसुलभ सेवा प्रदान गर्ने वातावरण बनाउन सकिन्छ भन्ने मुख्य एजेण्डा उम्मेदवारको हुनु पर्दछ । बाबुबाजे, दाजु, काका बडाबाहरूको विरासत जोगाउन सङ्घमा जाने प्रवृत्तिले व्यवसायीको हित गर्न सक्दैन । धरान पर्यटकीय क्षेत्र हो । यहाँ बढीजसो धार्मिक पर्यटकहरू आउने गर्दछन् । पिण्डेश्वर शिवको आराधना गर्ने पवित्र स्थल हो । यहाँ प्रायः सोमबार भक्तजन आउने गरेका छन् ।

यहाँ भक्तजनहरू पिण्डेश्वर, बूढासुब्वा, दन्तकालीको दर्शन गर्न आउँदा धरानको केही न केही चिनो पनि लिएर जाने गरी आउँछन् । तर विडम्बना के छ भने सोमबार धरान बजार बन्द हुने गरेको छ । झन् साउन महिनामा ५ लाखभन्दा बढी पर्यटकहरू धरान आउँछन् तर उनीहरू बजारमा किनमेल गर्न पाउँदैनन् । बजार बन्द हुँदा वार्षिक करिब एक करोडको व्यपाार गर्नबाट धरान बञ्चित हुँदै आएको छ । वास्तवमा व्यवसायीहरूको हितमा केही गर्ने र धरानलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्ने हो भने सोमबार बजार खुल्ला गराउने एजेण्डा उम्मेदवारको हुनु बाञ्छनीय हुनेछ । जनप्रतिनिधिले गर्ने कामको ठेक्का छाडेर व्यवसायिक हित र व्यापार प्रवद्र्धन एवम् उनीहरूलाई पर्ने अप्ठ्यारा फुकाउन सङ्घको नेतृत्वले राज्यसँग पुलको काम गर्नुपर्छ ।