आज गणतन्त्र दिवस । सारा नेपालीहरूमा गणतन्त्र दिवसले एक खालको उत्साह ल्याउँछ । किनकी नेपालमा गणतन्त्र स्थापना गर्न धेरै नेपालीले बलिदान गरेका छन् । अनि धेरैले रगत बगाएका छन्, धेरैले आफन्त गुमाएका छन् । त्यति सजिलै स्थापना भएको होइन गणतन्त्र । नेपालमा गणतन्त्रको कुरा धेरै अघिदेखि उठ्दै आए पनि एक दशक लामो सशस्त्र माओवादी द्वन्द्व र २०६२÷६३ को १९ दिन लामो जनआन्दोलनको जगमा शताब्दिऔं पुरानो राजतन्त्र ढालेर गणतन्त्र स्थापना गरिएको हो । जनआन्दोलनपछि जारी भएको नेपालको अन्तरिम संविधान २०६३ ले गरेको व्यवस्था अनुसार गठन भएको संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते औपचारिक रूपमा नेपालमा गणतन्त्र स्थापना भएको थियो । त्यसैको आधारमा २०७२ मा जारी भएको नेपालको संविधानले ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित’ राख्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा संस्थागत ग¥यो । 
नेपालमा औपचारिक रूपमा गणतन्त्र स्थापना भएको ११ वर्ष पूरा भएर १२ वर्षमा लागेको छ । अर्थात् हामी १२ औं गणतन्त्र दिवस मनाउँदैछौं । ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ भन्ने नेपाली उखानै छ । तर देशमा गणतन्त्र घोषणा भएको १२ औं वर्ष लाग्दा पनि नेपाली नागरिकले पूर्णरूपमा गणतन्त्रको अनुभूति पाएका छैनन् । शताब्दिऔं लामो राजतन्त्र, दशक लामो सशस्त्र द्वन्द्वको अन्त्यसँगै आएको गणतन्त्रले देशको मुहार फेर्ला, गरिब दुःखीको जीवनमा परिवर्तन आउला भन्ने आम नेपालीको आशा, भरोसा थियो । त्यसैका लागि पनि जनताले ज्यान अर्पण गरेका थिए । अहिले सत्तामा आफूलाई तिनै गरिब, भोका–नाङ्गाका प्रतिनिधि दाबी गर्नेहरू नै पुगेका छन् । तर विडम्बना हिजोका पीडितहरूको जीवनमा परिवर्तन आउन सकेको छैन, बरु उनीहरूका प्रतिनिधि हौं भन्नेहरूको व्यक्तिगत जीवनमा आमूल परिवर्तन आयो । गणतन्त्र स्थापनाको एक युग बित्दा पनि नेपालीहरूले शान्तिको सास फेर्न पाएका छैनन् । गणतन्त्रको शासन व्यवस्थामा चित्त नबुझाएर राजतन्त्रसँग तुलना गर्ने र अर्को क्रान्तिको नाममा पुनः देशलाई हिंसात्मक आन्दोलनमा लैजाने काम पनि भइरहेको छ । यसले जनतामा निराशा थप्ने काम भइरहेको छ ।
गणतन्त्रले १२ औं वर्षमा प्रवेश गर्दा पनि किन आम नागरिक सन्तुष्ट छैनन् ? देशमै केही होला भन्ने आशामा बसेका युवाहरू किन धमाधम विदेश पलायन भइरहेका छन् ? किन गरिब र धनीबीचको खाडल झन्–झन् बढ्दै छ ? सत्तामा बस्नेहरूले यस्ता प्रश्नको जवाफ खोज्नु जरुरी छ । गणतान्त्रिक व्यवस्थामा सत्तामा पुग्ने जनताका छोराछोरीले आफूलाई पुनः शासकका रूपमा उभ्याउन खोज्नु गणतन्त्रका लागि खतरा हो । संविधानले नेपाललाई ‘समाजवाद उन्मुख’ भनेर व्याख्या गरेको छ । तर व्यवहारिक रूपमा सामन्त युगको झल्को पाइन्छ । त्यसैले गणतन्त्रलाई सार्थक बनाउने हो भने सत्तामा बस्नेहरूले सर्वप्रथम सच्चिन आवश्यक छ । सत्तामा बस्नेहरूले ‘हिजो राजा फालियो, आज हामी नै राजा’ भन्ने मानसिकता त्याग्नु जरुरी छ । विभिन्न बाधा अवरोध र समस्या आए पनि गणतन्त्रले विस्तारै गति लिएको छ । यसलाई सकारात्मक रूपमा लिएर नेतृत्वमा भएका कमीकमजोरी हटाउँदै जानुपर्छ । गणतन्त्र, राजतन्त्र वा सामन्ती व्यवस्थाजस्तो कठोर हुनुहुँदैन । धेरैको रगत, पसिना बगाएर ल्याएको गणतन्त्रको आम नागरिकले पनि खबरदारी गर्नु जरुरी छ । गणतन्त्रलाई सबै मिलेर आम नागरिकको हितमा प्रयोग गरौं । यसको नाम जस्तै सार्थक बनाउन लागौं । सबैमा गणतन्त्र दिवसको शुभकामना ।