यतिबेला पूर्वी नेपालमा साकेला सांस्कृतिक कार्यक्रमको रौनक छ । काठमाडौं उपत्यकादेखि पूर्वका जिल्लाको प्राय गाउँहरूमा साकेला नाच्नुको साथै पितृ र प्रकृति पूजाको माहोल छ । किरात राई समुदायले ढुङ्गाको तीनवटा चुलालाई पुज्ने गर्दछन् । घरघरमा पूजा गरेसँगै सामुहिक रूपमा साकेला पुज्ने गर्दछन् ।
साकेलामा मुख्य त पितृ र प्रकृति पूजा गरेर मानव समुदायलाई वर्षभरि ‘शुभ्यफाब्य’ होस् भन्ने कामना गरिन्छ । खेती लाउनु पर्ने भएकाले समयमै वर्षात् होस, बाली बिरुवा सप्रिउन, बालबच्चालाई रोगव्याधी नलागोस् भन्ने कामनासहित पूजा गर्ने चलन छ । तीन चुलालाई भाले वा पछिल्लो समयमा फलफूलको भोग दिएर खेती गर्दा चोटपटक नलागोस् भन्ने कामना गरिन्छ । चुलामा पितृहरूलाई नामै बोलाएर भाग दिने चलन छ ।
साकेलाको अर्को पाटो हो साकेला नृत्य । सिलीमोपा (नाच्नेहरूको प्रमुख) ले खोरिया फाँडेको, शिकार खेलेको, कपास छरेको, धागो कातेको, तान (कपडा) बुनेको, अन्नबाली रोपेछरेको, गोडेको, उठाएको, चराचुरुङ्गी नाचेको अभिनय गर्छन् । त्यही अभिनयलाई अन्य कलाकारहरूले एक साथ पछ्याउँछन् । नृत्यमा सिलीमोपा (सिली प्रमुख), सिमीमोमा र मूल ढोलेको मुख्य भूमिका र महत्व रहन्छ । यी प्रमुखहरूले सिली टिप्नु र ढोल बजाउन गल्ती गरेमा स्वयम् सिलीमोपालाई अनिष्ट (खतरा) हुने र गाउँमा अशुभ हुने विश्वास गरिन्छ ।
कलाकारहरूले ढोल र झ्याम्टाको तालमा चमर (चौंरीगाईको पुच्छर), सिर्लीङ्मा, सेउली, रुमाल, धनुष काँड, खुरुम्बी, तरवार, भालालगायतका पौराणिक हतियार लिएर नाच्ने गर्छन् । पुर्खाहरूले चलाएको ढिकी, जाँतो, थुम्पे, मान्द्रो, भार, हलो जुवा लगायतका सामग्री प्रदर्शन गर्ने चलन छ ।
नृत्यले मानव जीवनको जङ्गली अवस्थादेखि कृषि युगदेखि वर्तमान आधुनिक युगसम्मको झल्को दिन्छ । नृत्यले फगत मनोरञ्जनमात्र नभएर यसले मानव विकासको इतिहास र सभ्यता बोकेको हुन्छ । साकेला नाच्न उमेरको हद हुँदैन् । बालबालिकादेखि वृद्धवृद्धासम्म एउटै लहरमा साकेलाको स्टेप (सिली) टिपिरहेका हुन्छन् । कलाकारहरूको घेराभित्र पसेर ढोल बजाउँदै गीत गाएर गोरु जुधे झैं ढोल जुधाएर मनोरञ्जन दिने र लिने चलन छ । पूर्वी नेपालमा लोकप्रिय साकेला कहिले र कसरी उत्पत्ति भयो भन्ने बारेमा धेरैलाई जिज्ञासा हुन सक्छ । उत्पत्तिका बारेमा विषय राख्न सान्दर्भिक ठानेको छु ।
साकेला मिथकअनुसार आपा पातेसुङ र आमा दिलिदुङ सानैमा गुमाएका तोयमा र खियामा चेलीहरूको एकमात्र माइती हेच्छाकुप्पा थिए । एक दिन दिदीहरूले खाना पकाउन चुलामा भाँडा बसाए र पानी लिन गए । भोकाएका हेच्चाकुप्पाले चुलाबाट भातको भाँडा पोखे । भातको भाँडा पोखिएपछि उनी रुन थाले । रुँदारुँदै निदाए । दिदीहरू आउँदा भाइ घोर निद्रामा थिए । निदाएका भाइलाई तोयामा र खियामाले उठाउने प्रयास गरे । निन्द्राबाट तत्काल व्युझेनन् । दिदीहरूले भाइ मरेको सम्झेर छोपछाप गरेर एकजना उत्तर हिमालतिर र अर्कोजना दक्षिण तराइतिर झरे । हेच्छाकुप्पा निद्राबाट ब्युझिँदा दिदीहरू थिएनन् । हेच्चाकुप्पा केरालगायतको फलफूल खाँदै जीउन थाले ।
हेच्छाकुप्पाको नागकी छोरी सिक्रिमासँग भेट भयो र विवाह भयो । एक दिन हेच्छाकुप्पाले तामे ढुकुर शिकार गरेर ल्याउँछ । ढुकुरको गाँड फालिएको घु¥यानमा बिरुवा उम्रियो, बढेर फल्यो । त्यहाँ फलेको अन्न खान मिल्ने सिक्रिमाले तर्क गरिन् । ढुकुर नमरेकाले तर्कअनुसार अन्न ग्रहन भयो । अन्न ग्रहण गर्दा दुवैजना बिरामी परे । नयाँ बाली प्रयोग गर्न पुर्खाहरूलाई चढाउनु पर्ने वा सोध्नु पर्ने भन्ने निश्कर्षमा पुगे र पुर्खाको पूजा गरेपछि निको भएको विश्वास भयो ।
अर्को वर्ष नयाँ बाली खाने बेलामा हेच्छाकुप्पाले हराएकी चेलीहरू तोयामा, खियामालाई भाले (वापा) मार्फत् बोलाए । चेलीहरूलाई बोलाएर पूर्खा सुम्निमा पारुहाङदेखि बाबुआमा पातेसुङ र दिलिदुङको नामै पुकारेर चुलामा चढाएका थिए । त्यही बेलादेखि चुलामा पुर्खाको नाम बोलाउने चलन शुरु भएको हो । बाली चढाउने क्रममा जमिनमा भाला रोप्दा तातो ढुङ्गा निस्कियो । सोही ढुङ्गालाई भूमि देवको रूपमा पुज्न थालिएको र लामो समयमा दिदीबहिनीसँग भेट भएको खुसियालीमा तोयामा, खियामा र हेच्छाकुप्पा नाच्न थालेको मिथक छ ।
सोही बेलादेखि नयाँ बाली लगाउने बेला वैशाख र उठाउने भेला भदौमा साकेला मनाउन थालिएको हो । कसैले हेच्छाकुप्पाको विवाह प्रसङ्गमा दिदी बहिनीको भेटमा साकेला नाच्न थालिएको तर्क गर्छन् ।
सृष्टीकर्ता पारुहाङ सुम्निमाको संसर्गबाट माघ, भालु र हेन्काबुङ (मुना) मान्छेको जन्म हुन्छ । भालु आफैं जङ्गल पस्छ । बाघ र हेन्काबुङको बेलाबेलामा झगडा हुन्छ । एक दिन सिकार खेल्नसँगै जङ्गल गएको बेला आमा सुम्निमाले पठाएको खाजाको विषयमा झगडा हुँदा धुनषधारी हेन्काबुङले दाजु बाघको हत्या गर्छ । बासस्थान पुग्दा कान्छा छोरा हेन्काबुङमात्र आएको देखी आमा सुम्निमाले सोधखोज गर्दा छोराले सबै कुरा बताउँछ ।
बाघको मृत्यु भएको थाहा पाएपछि जुडिबुटी (औषधि), हातमा खुरुम्बी, चिण्डोमा मर्चा (जाँड बनाउने वस्तु) पानी, चामल, अदुवा, शिला र सेउली लिएर गई मुन्धुमको शक्तिले बाघ ब्युँताएको कथा छ । बाघ ब्युँतिएपछि ढुङ्गाको सिमाना लगाए । ढुङ्गा पारि बाघ र वारि हेकाबुङ (मनुष्य) बस्नु भन्ने आशिर्वादको साथै ढुङ्गालाई वर्षमा दुई पटक पूजा गर्नु भन्ने निर्देशन दिए । उक्त ढुङ्गालाई पुज्ने त्रममा साकेलाको शुरुवात भएको भन्ने मिथक रहेको छ ।
भोजपुरको वर्तमान छोङ्खा गाउँमा किराती पूर्खाहरूले जङ्गल (सिमल) फाँडेर मकै छरेका थिए । मकै पाक्नै लाग्दा सेतो रङको बँदेल आएर दुःख दिन थाले । मकै खेती गर्ने किसान ससुरा र ज्वाइँ धनुषवाण लिएर मकै रुङ्न बस्न थाले । एक दिन बँदेल मकैबारीमा पसेपछि वाण प्रहार भयो । वाण लागेको सेतो बँदेल त्यहाँ नलडेपछि ससुरा–ज्वाइँ पछ्याउँदै गए । बँदेल ट्याक्केको फेदीमा पुगेर ढड्यो । बँदेल बोकेर ल्याउने क्रममा डम्बर्खु भन्ने ठाउँमा सेतो शिला (ढुङ्गा) भएर जमिनमा भासियो । ढुङ्गै भए पनि लाने सल्लाह गरी ससुरा ज्वाइँले शिला निकाल्न खन्ने क्रममा गलेर निदाए । सपनामा दुवैजनालाई पितृदेव सुम्निमा पारुहाङले त्यो बँदेल होइन साकेलाको शिला (ढुङ्गा) हो ।
यसलाई वर्षमा दुई पटक पूजा गरे शुभ्यफाब्य (राम्रो) हुनेछ भन्ने सपना पाएपछि खन्न छाडेर शिलालाई पुज्न थालियो । यहीबाट साकेलाको शुरुवात भएको विश्वास गरिन्छ । दोलखाका तत्कालीन हाङ बुदाहाङ किरातीकी चेली सोइसाइलाले दाजुलाई पगरी (श्रीपेच) लगाइदिने क्रममा एक्कासी रजस्वला भई लाजले भागिन् । भागेकी चेली र माइतीको भेट नभएकाले बुदाहाङले चेली सोइसोइलाको सम्झनामा गीत रचना गरी साकेला नाच्न थालिएको भन्ने तर्क पनि रहेका छन् । साकेला गीतमा सोइसोइला भन्ने शब्द बढी प्रयोग हुने गर्दछ ।
साकेला जसरी शुरुवात भए पनि यो भूमि, प्रकृति पूजासँग सम्बन्धित छ । यसको उत्पत्ति खोटाङको हलेसी र भोजपुरको छोङ्खाबाट भएको मान्न सकिने विभिन्न आधारहरू छन् । साकेलाको उत्पत्ति कसैले एक हजार वर्षको आसपासमा भएको बताउने गरेको भए पनि यसको उत्पत्ति मानव शिकारी युगबाट खेतीपाती युगमा प्रवेश गर्ने क्रममा भएको मान्न सकिन्छ । साकेलाको सिली र उत्पत्तिका किवदन्तीहरूलाई अध्ययन गर्दा यसको उत्पत्ति करिब आठदेखि १० हजार वर्षभन्दा अघि भएको मान्न सकिन्छ । समाजशास्त्रको अध्ययन गर्दा आठ–दश हजार वर्ष अघि मानिसहरू शिकारी युगदेखि खेतीपाती युगमा प्रवेश गरेको मानिन्छ । सोही हाराहारीमा साकेलाको उत्पत्ति भएको मान्न सकिन्छ । त्यसैले साकेला सबभन्दा पुरानो नृत्य भएको दावी गर्न सकिन्छ ।
पूर्वी नेपालको हरेकजसो जिल्लाहरू, काठमाडौं उपत्यका तथा भारतको सिलीगुडी, दार्जिलिङ, सिक्किम तेस्रो राष्ट्रहरू हङकङ, मकाउ, मलेसिया, कतार, दुबई, बेलायत, अमेरिका, अष्ट्रेलिया, जापानलगायतका देशमा पुगेका राईहरूले साकेला नाच्ने र मनाउने गर्दछन् । यतिबेला किरात राईहरू स्वतः स्फुर्त रूपमा साकेला गाउँदेखि शहरसम्म नाचिरहेका छन् । हर्षोल्लासको साथ मनाइने साकेला विश्वव्यापी बन्दै गएको छ । साकेलालाई किरात राई यायोक्खा केन्द्रीय समितिले प्रदेश नम्बर १ को नाम इतिहास, भूगोल र सभ्यताको आधारमा किरात नामकरण गर्न प्रचारप्रसारको माध्यमका रूपमा उपयोग गरिरहेको छ । हरेक कार्यक्रममा १ नम्बर प्रदेश किरात प्रदेश लेखिएको ब्याज र पर्चाहरू वितरण हुँदै आएको छ । प्रदेश १ को नाम हिउँदे अधिवेशनबाट टुङ्गो लाग्न नसकेपछि प्रदेशको वर्षे अधिवेशनमा छलफल हुँदैछ । यायोक्खा यो वर्षको साकेला पनि प्रदेशको नाम साझा पहिचानको आधारमा किरात राख्न प्रदेश सांसद्लाई दबाव दिने उदेश्यले आयोजना हुँदैछ ।
लेखकः किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाका केन्द्रीय सचिव तथा सञ्चारकर्मी हुन्