व्यवस्था शब्द ‘अवस्था’ मा वि उपसर्ग लागेर बनेको देखिन्छ, जसलाई अभिधात्मक रूपमा ‘कुनै कार्य वा गतिविधिलाई उपयुक्त अवस्थामा राख्ने काम, चाँजोपाँजो, प्रबन्ध’ (प्रयोगात्मक नेपाली शब्दकोशः २०६१) वा ‘जस्तो हुनुपर्ने हो ठीक त्यस्तै अवस्था’, ‘राम्रो हालत, इन्तजाम’ (नेपाली बृहत शब्दकोशः २०४०) भनी अथ्र्याउने गरिएको पाइन्छ । नेपाली भाषाको शिक्षण मूलतः भाषिक सम्प्रेषणका लागि गर्ने गरिए पनि यसका गुरुत्तर उद्देश्यहरू छन् । नेपाली संस्कृतिको जगेर्ना, सञ्चार, प्रशासन तथा शिक्षण माध्यम र नेपाली मानसिकताको भावनात्मक एकीकरण ती मध्ये केही हुन् ।
तीनको प्राप्तिका लागि शिक्षक र विद्यार्थीमात्र भएर पुग्दैन । शिक्षकले शिक्षण र विद्यार्थीहरूको सिकाइ गर्दा उपयुक्त वातावरणका साथै विविध साधनाहरू आवश्यक हुन्छन् । साथै शिक्षणका लागि तिनलाई उपलब्ध एउटा पक्ष हो, भने तिनले सो उद्देश्य उपयोग हुने अवस्था सिर्जना गर्नु अर्को महत्वपूर्ण पक्ष हो । सफलतापूर्वक नेपाली शिक्षणलाई सम्पन्न गर्न कक्षा व्यवस्थाको अनुकूलता र प्रतिकूलताको प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । वास्तवमा कक्षा कोठा नै यस्तो ठाउँ हो, जहाँ खास उद्देश्यले प्रेरित गर्न सिकाइ कार्यको लेनदेन सम्पन्न गरिन्छ । त्यस क्रममा शिक्षक विद्यार्थीजनित अनेक वाह्य तथा आन्तरिक पक्षहरूको संलग्नता रहन्छ । त्यस्ता पक्षहरूको अनुकूल उपयोग, परिचालन र पर्याप्त सचेतता हुन सक्नु नै नेपाली कक्षा व्यवस्थाको मूल मर्म हो । यसै मर्मलाई ठम्याएर कक्षा व्यवस्थाको वातावरण मिलाउनु नै वास्तविक अर्थमा नेपाली भाषाको कक्षा व्यवस्था हो ।
नेपाली भाषा कक्षा व्यवस्थाले शिक्षक र विद्यार्थी दुवै थरीलाई नेपाली शिक्षण सिकाइ गर्न उपयुक्त वातावरण बनाएको हुनुपर्छ । विविध भाषिक कार्यकलापहरूको सफल सञ्चालनका लागि पर्याप्त भौतिक सुविधाको प्रबन्ध हुनुपर्छ । राम्रा शिक्षक, राम्रा विद्यार्थी, राम्रा उद्देश्य र राम्रो लगानी भए पनि यदि कक्षाको व्यवस्थाकीय पक्ष चुस्तदुरुस्त भएन भने नेपाली भाषा होइन, कुनै पनि विषय शिक्षणको सकारात्मक परिणाम निस्किंदैन । यस्तो अवस्थामा शिक्षक विद्यार्थीको प्रयास र परिणाम त्यत्तिकै खेर जान्छन् र वित्तीय लगानी तथा समयको समेत क्षति हुन्छ ।
अनौपचारिक शिक्षामा शिक्षण सिकाइ कार्यको सम्पादन प्रायः कक्षाकोठा नै हुने गर्दछ । कक्षाकोठा विद्यार्थी सङ्ख्याको अनुपातमा पर्याप्त फराकिलो प्रकाश, तापक्रम, वायु संवहनका अनुकूल, सुशान्त, उपयुक्त तथा आवश्यकता अनुसार सार्ने, मिल्ने फर्निचर, आकर्षण र उपयुक्त पाटी, विभिन्न यान्त्रिक, उपकरण उपभोगको प्रावधानजस्ता कुराले व्यवस्थित हुनुपर्छ । शिक्षण संस्था प्रमुखले यी र यस्ता कक्षाकोठा व्यवस्थासम्बन्धी अन्य कुराहरूको निरन्तर र नजिकबाट निगरानी राख्नु आवश्यक हुन्छ, जसले गर्दा शिक्षण सिकाइ कार्य निर्वाध रूपमा भइराखेको होस् ।
शिक्षकले पनि प्रभावकारी शिक्षणका लागि आवश्यक पर्ने कुरा व्यवस्थाका लागि समयमा नै व्यवस्थापन पक्षलाई जानकारी दिई त्यसमा आफूसमेत सरिक हुनुपर्छ । त्यसबाहेक शिक्षाको उपयुक्त कक्षा व्यवस्था सिर्जना गर्न कक्षाकोठाको भौतिक अवस्था, सरसफाइ, फर्निचर, कक्षापाटी तथा अन्य आवश्यक शैक्षिक सामग्री, विद्यार्थीका सामानको सुरक्षा, समूह कार्य गर्न आवश्यक स्थानजस्ता कुरामा ध्यान पु¥याउनुपर्छ । त्यसबाहेक कुनै पनि बाह्य वा आन्तरिक कारणले कक्षाको अनुशासन पालनामा व्यवधान नआओस् भनेर उनी चनाखो भइराख्नुपर्छ । निराकरणात्मक शिक्षणको अवधारणा चिकित्सा क्षेत्रबाट आएको हो । यसलाई अर्को शब्दमा उपचारात्मक शिक्षण पनि भन्न सकिन्छ ।
चिकित्सा क्षेत्रमा चिकित्सकले रोगीको रोग निवारण गर्न उपचारमा हेरफेर, थपघट, संशोधन आदि गरेझै शिक्षकले पनि रुग्ण विद्यार्थीका कसरमसर हटाउन सोही उपाय अपनाउन सक्दछन् भन्ने दृष्टिकोण यस अवधारणाको प्रमुख मान्यता हो । भाषा सिकाइ एउटा जटिल कार्य हो, नयाँ सिकाइ अझ जटिल कार्य हो । यस्तो अवस्थामा त्रुटिलाई स्वभाविक प्रकियाका रूपमा लिनुपर्दछ । विद्यार्थीले जतिसुकै तल्लीन भएर कुनै विषयको अध्ययन गरे भन्ने ठानेर ढुक्क भए पनि त्रुटि गर्न अवश्यम्भावी हुन्छ । पढे, सिकेका कुरा बिर्सेर आधामात्र सम्झेर, उस्तै रूप र संरचनाको गलत सङ्गठन गरेर (जस्तैः– जायो, विचार प्रकट गर्ने तरिका नजानेर (मामाको छिट्टै जानुपर्छ) उच्चारणमा मातृभाषाको प्रभाव परेर (जस्तैः– ‘दूध’लाई ‘डुढ’ र ‘अचार’लाई ‘आचार’ आदि विभिन्न कारणले त्रुटि हुन्छन् । सामान्य कक्षामा औसत विद्यार्थीलाई ध्यानमा राखेर शिक्षण गरिन्छ तर केही विद्यार्थी यस्ता पनि हुन सक्छन, जसलाई त्यसभन्दा बढी नियम बनाएर र नियमको सम्बन्धमा अभ्यास गराएर मात्र त्यो बुझाउन सकिन्छ । त्यस्ता कुरालाई बिर्सेर प्रायः कस्तो शिकायत सुनिन्छ, भने त्रुटि र कमजोरी पहिलेको शिक्षणले गर्दा भएका हुन् । तर त्रुटि हुनुमा यही मात्र समग्र कारण मान्नु उपयुक्त हँुदैन । यी त्रुटिहरू विद्यार्थीको क्षमताभन्दा माथिल्ला पाठ्यपुस्तकहरू अभ्यास गराउने बल गर्दा सहायता र सुझाव कम हुँदा, प्रोत्साहन र उत्प्रेरणाको अभाव हुँदा यस्ता अवस्थामा पनि हुन सक्दछन् । अझ परीक्षालाई मात्र दृष्टिकोण गरेर पूर्वानुभव विना अभ्यासहरू गराइए ।
विद्यार्थीहरू सिकाइलाई दुरुह कार्य ठानेर हतोत्साही बन्दछन् र त्यस्तो अवस्थामा शिक्षण र सिकाइ दुवै कुण्ठित हुन सक्दछन् । नेपाली शिक्षणका क्रममा पनि विद्यार्थीहरूमा भाषिक कमजोरी, त्रुटि र कसरहरू फेला परिरहेका हुन्छन् । यस्ता कमजोरी, त्रुटि र कसरहरू भाषिक पृष्ठभूमि, नेपालीकै भाषिकाको प्रभाव, विद्यार्थीका अन्य कमजोरी सम्पर्क वातावरण आदि विभिन्न कारणले उत्पन्न हुन्छन् । त्रुटि र कसरहरू विशेषतः उच्चारण, वर्णविन्यास, वाक्यगठन, शब्दभण्डार, व्याकरण आदिसँग सम्बन्धित हुन्छन् । त्यसो त विद्यार्थीहरूमा शिक्षणीय कुरा टिप्ने असिमित क्षमता हुन्छ, भन्ने कुरा अनुसन्धानसिद्ध कुरा हो, तर पाठ्यवस्तुलाई निश्चित चरणको ख्याल नगरी वा सरल जटिलक्रम नमिलाई प्रस्तुत गरिएको छ, भने त्रुटिको सम्भावना बढी हुन्छ ।
अत ः पाठ्यवस्तु प्रस्तुतिमा यी कुराको ख्याल गर्नु आवश्यक छ । निराकरणात्मक शिक्षण आफैंमा पर्याप्त उपचार भने होइन । त्यसैले शिक्षकले यस्तो शिक्षणलाई प्राथमिकता दिनुभन्दा यस्तो परिस्थिति नै नआओस् भन्ने दृष्टिकोण राख्नुपर्छ । शिक्षकले विद्यार्थीको प्रगतिको जाँचबुझ गरिराख्नुपर्दछ र उनीहरूको सिकाइ सम्पादनमा ह्रास देखिनासाथ उनीहरूलाई सचेत गराइहाल्नुपर्दछ । अन्त्यमा, निराकरणात्मक शिक्षण सिकाइमा विशुद्ध प्राविधिक पक्षहरूमा मात्र सीमित नभएर मनोवैज्ञानिक पक्ष तथा सामाजिक पक्षसँगसमेत सम्बन्धित हुन्छ । यस्ता कुराहरूको अवस्था हेरी सिकाइलाई अनुकूल वा प्रतिकूल प्रभाव पार्न सक्दछन् ।
त्यसैले शिक्षकले शिक्षा मनोवेत्ताका साथै आफूभन्दा अनुभवी सहकर्मीको सहयोग लिने र विद्यार्थीको अभिभावकसँग व्यक्तिगत सम्पर्क गरी उनीहरूका मूल्य–मान्यता, दिनचर्या, आस्था र विश्वासजस्ता यावत् कुराको जानकारी लिने गर्नुपर्दछ । यसो गर्नाले समस्याको जड पहिल्याउन मद्दत पुग्छ र निराकरण उपयुक्त उपाय पहिल्याउन पनि यसबाहेक यस्तो सम्पर्कले निराकरणात्मक शिक्षणमा अभिभावकको समर्थन र सहयोग प्राप्त भई उनीहरूसँग हार्दिक सम्बन्ध पनि कायम हुन जान्छ ।