भूमिकाः
विश्व मानव समाजको इतिहासमा सैन्य विप्लव सामन्य परिघटनाजस्तो भइसकेको छ । यो इतिहाससिद्ध तथ्य हो । भर्खरै मध्यअफ्रिकी मुलुक सुडानमा यस्तै सैन्य विप्लव भएको छ । यसले त्यहाँका राष्ट्रपति ओमर अल वशीरको तीस वर्षे शासन समाप्त गरिदिएको छ । उनी सन् १९८९ मा सैन्य विद्रोहमार्फत् नै सत्तासीन भएका थिए । वस्तुतः सुडानमा वशीरको आगमन हुनुभन्दा अघिदेखि नै दक्षिणका अफ्रिकी र उत्तरका अरबी समुदायबीच अन्तरविरोध थियो । १९८३ देखि २००५ सम्म भएको गृहयुद्धलाई अफ्रिकाको सबैभन्दा लामो गुहयुद्धको रूपमा लिइन्छ । सन् २००५ मा भएको बृहत् शान्ति सम्झौता अनुरूप ६ वर्षपछि जनमत सङ्ग्रह गर्ने शर्तसहित दक्षिण सुडानलाई स्वायत्तता प्रदान गरियो । सम्झौताअनुसार २०११ मा जनमत सङ्ग्रह भयो । यसमा झण्डै शतप्रतिशत जनताले छुट्टै स्वतन्त्र राज्यको पक्षमा मतदान गरे, जसले नयाँ दक्षिण सुडानको जन्म गरायो ।
मुख्यतः जुन कुनै पनि सैन्य विप्लवपछाडि शासकहरूको गैरन्यायिक, तानाशाही, भ्रष्टाचार र पारिवारिक शासन प्रणालीलाई मुख्य कारणको रूपमा पेश गरिँदै आएको छ । शान्ति, स्थायित्व र प्रजातन्त्रको लागि सैन्य कायापलट भनेर व्याख्या गर्ने गरिन्छ । कतिपय सन्दर्भमा यो सही पनि छ । तथापि सत्ता कायापलटपछि पनि त्यहाँ उनीहरूले दाबी गरेअनुरूप प्रगतिशील र न्यायिक शासन सत्ता स्थापना भएको देखिँदैन । बरु प्रायः अधिकांश सैन्य विद्रोह पश्चगामी, निरङ्कुश र विभेदकारी प्रमाणित हुँदै आएको छ । यसकारण सैन्य विप्लव आम बहस र चासोको सवाल हो । यसअर्थमा यस आलेखमा सैन्य विप्लवको परिभाषा, उत्पत्ति, इतिहास, यसको चरित्र, प्रकृति, उद्देश्य र देशी तथा विदेशी रणनैतिक स्वार्थ आदि विषयमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
परिभाषाः
वास्तवमा ‘कु’ भनेको फ्रेन्च पदावली हो । यसको अर्थ राज्य विरुद्धको प्रहार वा झड्का भन्ने हुन्छ । सत्तारुढ राजनैतिक सत्तालाई सानो सैन्य शक्ति वा समूहले हिंसात्मक वा गैरहिंसात्मक विधिबाट एक्कासि सत्ताच्यूत गर्ने विद्रोहलाई नै सैन्य विप्लव भनिन्छ । अवैधानिक तवरमा राजकीय सत्तामाथि बलपूर्वक गरिने हस्तक्षेप नै सैन्य विप्लव हो । यो गैरकानूनी रूपमा सत्ता उल्टाउने छोटो र कम झन्झटिलो बाटो हो । अर्थात् सैन्य संरचनामा पूर्ण नियन्त्रण गर्दै राज्यको सम्पूर्ण राजकीय सत्तामाथि बलपूर्वक हस्तगत वा कायापलट गर्नु नै सैन्य विप्लव हो । वास्तवमा अपवादबाहेक सबै सैन्य विद्रोह अझ पश्चगामी, अझ निरङ्कुश र अझ तानाशाही हुने इतिहास सिद्ध तथ्य हो । यो विशुद्ध बन्दुकको भरमा गरिन्छ । यसकारण यो न्यायपूर्ण र अग्रगामी हुने सम्भावना असाध्यै न्यून हुने गर्दछ ।
उत्पत्तिः
वस्तुतः मानव समाजको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रक्रिया अनुरूप राज्यको उत्पत्तिसँगै सैन्य संरचनाको विकास भएको देखिन्छ । आदिम कालमा वर्गअन्तरविरोध थिएन, जसले गर्दा राज्य पनि अस्तित्वमा थिएन । शोषण, अन्याय र विभेद थिएन । शासक र शासित थिएन । यसकारण सैन्य संरचनाको पनि कुनै जरुरत थिएन । तर समाजमा वर्गको उदयपछि अन्तरविरोधको उदय भयो । मानव समाजको चरित्र वर्गअन्तरविरोधपूर्ण हुनगयो । समाजमा वर्गस्वार्थ हाबी भयो । यही वर्गअन्तरविरोध र स्वार्थको उदयसँगै त्यसलाई दमन, नियन्त्रण र सञ्चालन वा काबुमा ल्याउन राज्यको उदय भयो । यसरी राज्यको उदयसँगै सेना, कर्मचारीतन्त्र, अदालत, प्रहरी र गुप्तचर निकाय अपरिहार्य र आधारभूत अस्त्र बन्न पुग्यो । वर्तमान अन्तरविरोधपूर्ण राज्यसत्ताको चरित्र यही ऐतिहासिक उत्पत्तिकै विकसित, विस्तारित र परिमार्जित रूप हो ।
वस्तुतः समाजको यही वर्गअन्तरविरोध र स्वार्थ केन्द्रित चरित्रकै कारण प्राचीनकालदेखि नै ठूला –ठूला रक्तपातपूर्ण सैन्य विप्लव हुँदैआएको देखिन्छ । लिखित इतिहासअघि पनि धेरै सैन्य विद्रोह भएको पाइन्छ । करिब ५ हजार वर्षअघिबाट लिखित इतिहास आरम्भ भएको मानिन्छ । यता सैन्य विप्लवको इतिहासमा क्राइष्टभन्दा झण्डै ८ सय वर्षअघि इजरायलको सेनाले तत्कालीन राजा एलनलाई सत्ताच्यूत गरेका थिए । प्राचीन सैन्य विद्रोहमा इजरायल, इजिप्ट, एथेन्स, रोम र टर्की अघि देखिन्छ । सुमेरीयन, अटोमन र रोम साम्राज्य पनि सैन्य विद्रोहबाट नै खडा गरिएको थियो । झण्डै पाँच हजार वर्ष पहिला नै सुमेरीयन सेना अस्तित्वमा रहेको पाइन्छ । ठीक यहीबेला भारतमा मौर्य साम्राज्य जीवित रहेको बताइन्छ । त्यतिखेर भारतमा चन्द्रगुप्ताको सैन्य सङ्गठनलाई सबैभन्दा बलियो मानिन्थ्यो ।
विश्वमा सर्वाधिक चर्चामा रहेको सैन्य विप्लवहरूमध्ये १७९९ मा नेपोलियन बोनापार्टले फ्रान्समा, १९३६ मा फ्रान्सिस्को फ्रान्कोले स्पेनमा, १९६९ मा गदाफीले लिवियामा, १९७१ मा ईदी अमिनले युगाण्डामा अनि १९७३ मा अगुष्टो पिनेचेले चिलीमा गरेको सैन्य विप्लव मुख्य रहेको छ । विश्वका प्रायः अधिकांश मुलुकहरूमा अघिपछि सैन्य विप्लव भएको देखिन्छ । त्यसमा पनि विशेष गरेर स्पेनमा ३६, थाइल्याण्डमा ३०, हैटीमा २८, पाराग्वेमा १९, चीनमा १८, जापानमा १६, फिलिपिन्समा १५, बोलिभियामा १४, स्विजरल्याण्डमा १२, इरानमा ११, टर्की, पोर्चुगल, अफगानिस्तान र बुर्किनो फासोमा १०, सिरिया र लाओसमा ९ र नाइजेरियामा ८ पटक सैन्य विप्लव भइसकेको इतिहास छ । यस अतिरिक्त पछिल्लो समय गिनी, माडागास्कर, इजिप्ट, कङ्गो, माली, मालावी, आइभरिकोष्ट, सुडान, इरिट्रीया, बेनिन, मौरितानिया, कोमोरोस, चाड, टोगो, फिजी, लिसोथो, बुरुण्डी, जाम्बिया, बङ्गलादेश, माल्दिभ्स, पपुवा न्युगिनी, इक्वेडर, यमन र जिम्बाब्वेलगायतका अन्य थुप्रै मुलुकहरूमा पनि सैन्य विप्लवमार्फत् सत्ता हत्याइएको छ । अर्थात् १९५० देखि हालसम्म सफल र असफल गरेर झण्डै पाँच सय सैन्य विद्रोह भइसकेको देखिन्छ ।
प्रकृतिः
सामान्यतया सतहबाट मात्र विश्लेषण गर्दा हतियारबद्ध विप्लव सबै उस्तैजस्तो देखिन्छ । तर गहिरोसँग अध्ययन गर्दा सैन्य विद्रोह पदावली उस्तै भए पनि चरित्र एउटै हुँदैन । यो विद्रोह गर्ने शक्ति वा समूहले अङ्गीकार गर्ने राजनैतिक विचार, सिद्धान्त र उद्देश्यमा निर्भर हुन्छ । अर्थात् यसको वर्गचरित्र, उद्देश्य र त्यसले अपनाउने भावी रणनैतिक राजनीतिमा यसको फरक अन्तरवस्तु अन्तरनिहीत हुन्छ । यसको अग्रगामी, न्यायपूर्ण र प्रगतिशील चरित्र र औचित्य परिणाममा हेर्नुपर्ने हुन्छ । यद्यपि प्रायः अधिकांश सैन्य विप्लवहरू जनहित र रूपान्तरणको पक्षमा हुनसकेको देखिन्न । यसले केवल सैन्य तानाशाह, निरङ्कुशतन्त्र र गैरन्यायिक शासनतन्त्रलाई सुदृढ गर्दै आएको छ । अर्थात् एउटा तानाशाहलाई उल्टाएर अर्को महातानाशाह जन्माएको देखिन्छ ।
मूलतः पहिलो गैरसंवैधानिक र बलपूर्वक सेनाको एउटा समूहले सम्पूर्ण राजकीय शक्ति हत्याउने तरिकालाई खुनी विद्रोह भनिन्छ । यो रक्तपातपूर्ण र निर्मम हुने गर्दछ । अमेरिकी उक्साहटमा चिलीको सैनिक तानाशाह अगुष्टो पिनोचेले सन् १९७३ मा एलेन्डेको जननिर्वाचित बहुमत प्राप्त बामपन्थी सरकारलाई सत्ताच्यूत गर्नु यही खुनी सैन्य विप्लवको ज्वलन्त उदाहरण हो । यसैगरी दोस्रो आफै शक्तिमा रहँदा सैन्य बलमा अझ व्यापक शक्तिको दुरुपयोग गरी शक्ति केन्द्रीकरण गर्ने महत्वाकाङ्क्षामा पनि सैन्य विप्लव हुँदै आएको छ । सन् १९३३ मा हिटलरले यही विधि प्रयोग गरेको देखिन्छ । यसलाई अभिभावकीय विप्लव पनि भनिन्छ ।
त्यस्तै तेस्रो जुन बेला सेनाको प्रत्यक्ष वा परोक्ष सहयोगमार्फत् सत्तासीन शासकलाई शान्तिपूर्ण रूपमै पदच्यूत गर्ने तरिकालाई स्वेत विप्लव भनिन्छ । उदाहरणस्वरूप सन् २०१२ मा पाराग्वेमा भएको विद्रोहलाई लिन सकिन्छ । त्यसैगरी चौथो, जनताको व्यापक सहभागिता अन्तर्गत विद्रोह, आन्दोलन र ¥यालीमार्फत् गरिने सङ्गठित आन्दोलनलाई नागरिक विद्रोह भनिन्छ । इटलीमा मुसोलिनीको उदय यसरी नै भएको थियो । पाँचौं, सेनाको ठूलो हिस्साले बहालवाला शासकलाई सहयोग नगरी अरुको इशारा वा आफ्नै महत्वाकाङ्क्षामा गरिने तरिकालाई प्रतिसैन्य विप्लव भनिन्छ । सन् १९७८ मा एलसल्भाडोरमा यस्तै प्रकृतिको विद्रोह भएको थियो । यसरी स्वार्थ र परिवेश अनुरूप यसको प्रकृति पनि भिन्न–भिन्न रहेको छ ।
विद्रोहको कारणः
वस्तुतः प्रत्येक सैनिक विप्लवका पछाडि जिम्मेवार कारणहरू हुने गर्दछन् । तर सबै विद्रोहको न्याय र औचित्यपूर्ण कारण हुन्छ भन्ने वस्तुवादी आधार हुँदैन । यसमा पहिलो अन्याय, विभेदकारी र जनता विरोधी शासनसत्ता विरुद्ध न्याय र समानताको लागि विद्रोह अपरिहार्य हुन पुग्दछ । शासकवर्गको निरङ्कुशता विरुद्ध यो विद्रोह परिलक्षित हुन्छ । अरु औषत विद्रोह जस्तै हिंसात्मक नै भए पनि यसले अझ अग्रगामी, प्रगतिशील र न्यायपूर्ण राज्यव्यवस्था निर्माणको उद्देश्य राखेको हुन्छ । यसलाई सैन्य विप्लवको प्रगतिशील, न्यायपूर्ण र वस्तुवादी कारण भन्न सकिन्छ । तर यस्तो अन्तरवस्तुसहितको सैन्य विद्रोह दुर्लभै मात्र हुँदै आएको छ ।
दोस्रो, वर्गअन्तरविरोध र स्वार्थपूर्ण समाजमा सैन्य विप्लव पनि आत्मकेन्द्रित महत्वाकाङ्क्षा र निहीत स्वार्थमा हुने गर्दछ । संसारमा भए गरेका अधिकांश सैन्य विप्लवहरू यही उद्देश्य र कारणमा सीमित हुँदै आएका छन् । तानाशाह तानाशाह, सैन्य कमाण्ड कमाण्डर, समुदाय समुदाय र राजनैतिक दलहरूबीचको स्वार्थपूर्ण तानातानका बीचमा यस्तो विप्लव हुने गर्दछ । यो रूपमा पूर्व शासकको गैरराजनीतिक चरित्रको पराकाष्ठामा अपनाइएको बाध्यकारी कदम भनेर भन्ने गरिन्छ । तर सारमा यो व्यक्ति–व्यक्तिबीचको टकराव, प्रतिस्पर्धा, स्वार्थ र महत्वाकाङ्क्षाबीचमा हुने गर्दछ । विश्वमा हुँदै आएको अधिकांश सैन्य विप्लवको मुख्य कारण यही हो । यस्तो विद्रोह लहड, सनक र प्रतिशोधमा मात्र हुँदै आएको छ, जुन अग्रगामी, न्यायिक, परिवर्तनकारी हुन सक्दैन ।
तेस्रो, अधिकांश सैनिक विप्लवहरू विश्व साम्राज्यवाद र उसैको दिशानिर्देशनमा हुर्किएको देशीय दलालहरूको रणनैतिक उद्देश्य र स्वार्थको जगमा हुने गर्दछ । पछिल्लो समयमा भइरहेको सैन्य कायापलटको मुख्य कारण यही रहेको छ । यसमा पनि प्रायः सबै सैन्य विप्लवहरूमा विशेष गरेर अमेरिकी साम्राज्यवादको रणनैतिक स्वार्थ गाँसिएको देखिन्छ । उसले आफ्नो साम्राज्यवादी स्वार्थ अनुकूलको दलाल शासक चयन गर्न सैन्य विप्लवको रणनीति अपनाउँदै आएको छ । यसको लागि साम्राज्यवादले खास मुलुकको शासनसत्ताभित्र छिर्न वा आफू सुहाउँदो दलाल खोज्न वर्षौंसम्म सत्ता वरिपरि छिद्रहरू खोज्ने गर्दछ । यही कसरत अन्तर्गत सानो छिद्र भेट्नासाथ उसले सैन्य विप्लव गर्दछ । यद्यपि यस्तो विप्लव पनि जनता र परिवर्तनको हितमा हुन सक्दैन । यो यथास्थितिदेखि यथास्थितिसम्मको विप्लव हो । यसले साम्राज्यवाद अनुकूल दलाल पात्र परिवर्तनबाहेक अग्रगामी र न्यायपूर्ण राजनैतिक समाधन गर्न सक्दैन ।
निष्कर्षः
तसर्थ, सैन्य विप्लवको इतिहास धेरै पुरानो रहेको छ । संसारका अधिकांश मुलुकहरूमा कुनै न कुनै आकार प्रकारका सैनिक विद्रोह भई नै रहेको देखिन्छ । यो मानव समाजमा वर्गअन्तरविरोध र स्वार्थ जीवित रहेसम्म जारी रहन्छ । सैन्य विप्लवको वास्तविक अन्त्य भनेको समाजमा वर्गअन्तरविरोध र स्वार्थको अन्त्यसँग जोडिएको हुन्छ । साम्राज्यवादी अन्तरविरोध र स्वार्थ रहेसम्म सैन्य विप्लवको अन्त्य हुनै सक्दैन । पछिल्लो समयमा भइरहेको सैनिक कायापलटमा झनै साम्राज्यवादी रणनैतिक स्वार्थ अझ बढी टकराएको देखिन्छ । प्रत्यक्ष र परोक्षरूपमा उसको स्वार्थ जोडिएको हुन्छ । हालसालै भएको सुडान सैन्य विप्लव पनि साम्राज्यवादी स्वार्थकै पछिल्लो कडी हो । स्मरण रहोस्, सुडानले सन् १९९७ देखि अमेरिकी नाकाबन्दीको सामना गरिरहेको छ ।