याक्थुङ लिम्बू समुदायको हक, हित र अधिकारको लागि २०४६ सालमा स्थापित जातीय संस्था किरात याक्थुङ चुम्लुङ अहिले तीव्र आलोचनाको शिकार बन्दै गएको छ । यो जातीय संस्था भएकाले विशुद्ध जातीय हितका लागि काम गर्नु पर्छ भन्ने सामान्य स्थापित मान्यताविपरीत चुम्लुङ लागेको आरोप छ । चुम्लुङले लिएका अडान तथा चालेका कदमहरू समुदाय प्रतिकूल भएको आवाज समुदायभित्र व्यापक उठेको छ । आलोचनाहरू यतिमा मात्र सिमित छैनन् । चुम्लुङले जातीय संस्थाको भूमिकाभन्दा बढी एनजीओ, आईएनजीओको भूमिका खेलिरहेको आरोपसमेत चुम्लुङले लगातार खैप्दै आएको छ । संस्था सामुदायिक भन्दा बढी व्यक्तिगत स्वार्थपूर्ति गर्ने कृडास्थल भएको समेत आरोप लाग्दै आएको छ । यहासम्म कि समुदायभित्र किरात याक्थुङ चुम्लुङको नाम परिवर्तन गरी याक्थुङ चुम्लुङ मात्र राख्नु पर्छ भन्ने आवाजसमेत तीव्र रूपमा उठिरहेको छ । यस्ता सामुदायिक भावनाहरूलाई सम्बोधन गर्न चुम्लुङले कुनै चासो देखाएको देखिँदैन ।
त्यसको सट्टा यस्ता आवाज उठाउने समुदायका सदस्यलाई आफ्नो विपक्षी मान्ने परम्परा चुम्लुङले विकास गर्दै लगेको भेटिन्छ । चुम्लुङले आफ्ना अनाधिकृत कुराहरू समुदायलाई जबरजस्त लाद्न लागिपरेको भेटिन्छ । याक्थुङ लिम्बू समुदायका जो कोही सदस्य स्वतसिद्ध यो संस्थाको सदस्य हुन आउँछ । यसैको मान्यतामा याक्थुङ लिम्बू समुदायले स्थापना कालदेखि व्यक्तिगत, सामुदायिक तथा आर्थिक हिसाबले संस्थामा ठूलो लगानी गरेको देखिन्छ । जसका आधारमा चुम्लुङप्रति समुदायका सदस्यहरूले चासो राख्नु जायज हो । आफ्नो समुदायको हकहितका लागि काम गरिरहेको छ भन्ने संस्थाले त्यसो गरेको आभाष नहुँदा यस्ता अभिव्यक्ति तथा आक्रोशहरू आउनु पनि स्वाभाविकै हो । चुम्लुङ भने यस्ता अभिव्यक्तिहरू समुदायलाई कमजोर पार्न गरिएको षडयन्त्रको रूपमा चित्रण गर्दछ । के साँच्चिकै यी आवाजहरू सामुदायिक भावनाका रूपमा आएका हुन् अथवा चुम्लुङले भने जस्तो विभाजनकारी षड्यन्त्रबाट आएका हुन ? यी प्रश्नहरू सुक्ष्म ढङ्गले केलाउने बेला आएको छ ।
चुम्लुङले स्थापना कालदेखि गरेका कदमहरू साँचो अर्थमा समुदायका लागि प्रभावहीन नै भए ? अथवा के कति कमजोरीका कारण चुम्लुङमाथि यस खालका आरोपहरू लागेका छन ? चुम्लुङका सबै गतिविधि निरपेक्ष रूपमा गलत भन्न सकिँदैन । तर शुरुवाती समयमा गरेका केही कमजोरीको परिणामका कारण यस्तो आक्षेप चुम्लुङले भोग्नु परेको छ । साथै पछिल्लो समयमा चुम्लुङले चालेका कदमहरूका कारण सामुदायिक स्तरबाट चुम्लुङप्रति तीव्र आलोचना भइरहेको छ ।
प्रथमतः लिम्बू समुदायको प्रतिनिधि संस्था खोल्न प्रारम्भिक कालमा याक्थुङ चुम्लुङको प्रस्ताव अगाडि बढाइएको भए तापनि किरात नामको छाता ओढ्ने खेल हुँदा चुम्लुङको नाम आगाडि पनि किरात थपी किरात याक्थुङ चुम्लुङ आधिकारिक रूपमा दर्ता गराइयो । जसले चुम्लुङले किरात शब्दको अपनत्व लिन खोजेको भेटियो । यसमा या त समुदायका अग्रजहरूमा अदूरदर्शिता देखिन्छ । या त केही स्वार्थले काम गरेको भेटिन्छ । त्यसपछि राज्यले सत्तेहाङलाई किरात धर्ममा ढालेको किरात धर्म लेखाउने कामले अहिले लिम्बू समुदायका हरेकजसो विषयमा नकरात्मक प्रभाव पारेको देखिन्छ । साथै समय सापेक्ष समुदायको हितमा आफ्ना पूर्वनिर्णयहरू सच्याउन नसक्दा वातावरण झन प्रतिकूल बन्दै गएको भेटिन्छ । राज्यले लिम्बू समुदाय तथा लिम्बुवानमाथि बुन्दै लगेको चक्रभित्र चुम्लुङसमेत जानीनजानी फसेको देखिन्छ । चुम्लुङ एक हिसाब्ले अत्यन्तै गम्भीर मोडमा पुगेको भेटिन्छ । जसले लिम्बू समुदायलाई समेत राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा विभाजन गरेको छ ।
याक्थुङ लिम्बू समुदायको मुन्धुमी साहित्यमा चुम्लुुङको हालतलाई प्रष्ट्याउन थुप्रै मिथकहरू भेटिन्छन् । यसलाई अझ प्रष्ट पार्न पूर्वीय वाङ्मय खस आर्य साहित्य तथा ग्रन्थ महाभारतबाट एउटा शब्द ‘चक्रब्युह’ सापटी लिएर अझ स्पष्ट पार्न सकिन्छ । महाभारतमा जब कौरव र पाण्डव लडाइँको क्रममा हुन्छन् । कौरव पक्षबाट वीर योद्धाहरू संलग्न चक्रब्युहको रचना गरिन्छ । युद्ध जित्नका लागि पाण्डव पक्षबाट उक्त चक्रब्युह तोड्न अनिवार्य हुन्छ । चक्रब्युह तोड्न पाण्डव पक्षबाट अर्जुनका छोरा अभिमन्युको छनोट गरिन्छ । अभिमन्युले पनि चक्रब्युह कसरी तोड्ने भन्ने ज्ञान आफू गर्भमा रहँदा बाबु अर्जुनबाट आफ्नी आमालाई ब्याख्या गरेबाट प्राप्त भएको हुन्छ । एक महान योद्धा चक्रब्युह तोड्न तयार हुन्छन् । भोलिपल्ट युद्धको शङ्खघोष हुने बित्तिकै कौरव पटिका योद्धाहरूले बुनेको चक्रब्युह तोड्न अभिमन्यु तयार हुन्छन् । जब चक्रब्युह तोड्दै अभिमन्यु चक्रब्युहको केन्द्रमा पुग्छन । उनी बाहिर निश्कनु पर्ने हुन्छ ।
दूरभाग्य अभिमन्यु चक्रब्युहबाट कसरी निस्कने भन्ने वृतान्त सुन्ने बेलामा उनकी आमा निदाएका कारण उनमा अद्र्धज्ञानका कारण चक्रब्युह बाहिर निस्कन अलमलमा पर्छन् । यही मौकामा कौरवहरूबाट चक्रब्युहमा उनको बध गरिन्छ । अर्जुनले आफ्ना प्रिय छोरा गुमाउँछन् । भने पाण्डवले आफ्नो एक महान योद्धा । ठीक यस्तै किरात याक्थुङ चुम्लुङ बैरीहरूले बुनेको चक्रब्युहमा फसेको देखिन्छ । आफ्नो समुदायको पहिचान र अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा चुम्लुङले लिएका अडान र कदमहरू समुदायको हित प्रतिकूल बन्दै गएका छन् । यस ऐतिहासिक मोडमा आफ्नो समुदायलाई स्पष्ट दिशा निर्देश गर्न सक्नु पर्नेमा यसले लिएका कदमहरूप्रति एकपछि अर्को गर्दै समुदायभित्रै असन्तुष्टिहरू चुलिँदै गएको छ । समुदायको हितविपरीतका कदमहरू बावजुद पटकपटक सचेत गराउने क्रमलाई लत्याउँदै थप प्रतिकूल, अस्पष्ट र अपरिपक्व निर्णयहरू गर्दै चुम्लुङ अगाडि बढेको देखिन्छ ।
आखिर चुम्लुङ कसको निर्देशन र उक्साहटमा यस्तो काम गरिरहेको छ । चुम्लुङ कुन ध्येयबाट अभिप्रेरित भएर यस्ता कदमहरू चालिरहेको छ । याक्थुङ लिम्बू समुदायले अचम्म मान्नु पर्ने अवस्था सिर्जना भएको छ । जसले आफ्नो समुदायको भावनालाई प्रतिनिधित्व गर्नुको सट्टा सामुदायिक भावनाहरू कुल्चँदै अगाडि बढिरहेको छ । समुदायलाई चुम्लुङले यतिखेर साँच्चिकै भन्ने हो भने समुदायलाई भ्रमपूर्ण र गलत प्रशिक्षण चलाइरहेको छ । चुम्लुङ भ्रम र अहम्को गुण्टा बोकेर हिँडिरहेको छ । आखिर चुम्लुङ कहाँ पुग्न र समुदायलाई पु¥याउन यस्तो उल्टो हिँडिरहेको छ ? आज टड्कारो प्रश्न ठडिएको छ ।
चुम्लुङले प्रथमतः याक्थुङ लिम्बू समुदायको मुन्धुमी सम्पदा जोगाउन असफल भएकै हो । समुदायको यति लामो नेतृत्व गर्ने अवसर पाउँदा मुन्धुम संरक्षणमा प्रभावकारी कदम लिएको पाइँदैन । साहित्यतर्फ भाषा लिपिको विकासको लागि समेत खासै उल्लेखनीय कार्यसम्पादन गरेको भेटिँदैन । मुन्धुम मूलबाटोलाई समाउन नसक्दा आज याक्थुङ लिम्बूहरूको मुन्धुमी धार्मिक, प्राकृतिक स्थलहरू लगभग अधिकांश अतिक्रमणमा परेका छन् । यसमा चुम्लुङले सही नीति अवलम्वन गरेको पाइँदैन । त्यसको सट्टा कुनै न कुनै हिसाबले अतिक्रमण गर्ने पक्षलाई साथ दिएको भेटिन्छ । चुम्लुङ कहिले अन्य जातीय सङ्गठनसँग मिलेर किरात धर्म लेखाउनु पर्छ भन्दै हिँड्ने, कहिले आफूलाई शुभकामना दिनु पर्ने भन्दै राष्ट्रपति कहाँ निवेदन चढाउँदै हिँड्ने कामले समुदायको गरिमामा आँच आएको र समुदायलाई पूर्णरूपमा लज्जित तुल्याएको छँदैछ । त्योबाहेक चुम्लुङले कहिल्यै नमेटिने दीर्घकालीन प्रकृतिका केही भूलहरू गरेका कारण पनि बढी आलोचित हुन परेको हो ।
चुम्लुङ चुकेका क्षणहरू
१. विजयपुर मुद्दा
विजयपुर लिम्बुवानको राजनैतिक इतिहासको मेरुदण्ड हो । अन्य क्षेत्रका इतिहास कमैमात्र लेखिएको र विजयपुरको इतिहास बहुपक्षबाट लेखिएका कारण पनि यो इतिहास जीवित छ । १८३१ मा लिम्बुवान एकीकरण भएपछि पनि लिम्बुवानमा युद्ध नरोकिएपछि यसको कारण हाङ बुद्धिकर्ण राय खेवाङ भएको जो मोरङको भूमिमा लुकेर बसेको, उसलाई निमिट्यान्न पारेपछिमात्र युद्ध रोकिने निचोडका साथ गोर्खा सेनाले छद्म भेषमा सुराकी गरी बुद्धिकर्णलाई नियन्त्रणमा लिई विजयपुरमा १८३४ मा हत्या गरेपछि विजयपुर सामान्य रूपमा खाली गरिएको, गौंडा धनकुटा तथा चैनपुरमा सारिएको, र विजयपुरमा ब्राह्मणहरूलाई वीरता बाँड्दै गएका कारण उक्त क्षेत्रको अधिकांश जग्गा व्यक्तिको हातमा परेको, राज्यको तर्फबाट बेवास्था गरिएको, हाल ऐतिहासिक विजयपुरलाई सबै इतिहास नामेट गर्दै बस्तीको रूपमा विकास गर्दै लगिएको र बचेखुचेको खुल्ला ठाउँहरूसमेत एडीबीको परियोजनाको ट्याङ्की राखी ऐतिहासिक स्थललाई पूर्णतः बस्ती र खानेपानी ट्याङ्कीको रूपमा परिणत गर्न खोजेका कारण शुरुवाती समयमा चुम्लुङले चासो राखेको पाइन्छ ।
ट्याङ्कीको कुनै विकल्प नभएको भन्दै जब १८ बुँदे सहमति गर्दै ट्याङ्की निर्माण गर्न दिने भनी चुम्लुङले सहमति जनायो । आफ्नै संस्थाको नगर शाखाको असहमति हुँदाहुँदै जबरजस्ती नगर समितिलाई लत्याउँदै चुम्लुङले अन्य पक्षसँग मिलेर सहमतिमा हस्ताक्षर ग¥यो । आफ्नै नगर शाखाको असहमतिका बावजुत कसको उक्साहटमा यस्तो काम ग¥यो ? कसको साथ लागेर आफ्नै समुदायको हितमा लडिरहेका पार्टी र समुदायको भावनाविपरीत यस्तो काम ग¥यो ? यो लिम्बुवान राजनैतिक इतिहासमा बारबार गर्न प्रश्न योग्य छ । यस्तो बृहत्तर विषयवस्तुमा समुदायमा सर्वसम्मत निर्णय गर्नुपर्नेमा अन्य सङ्घ–संस्था, स्थानीय निकाय, पार्टीहरूको हवाला दिँदै किन साक्षी किनारामा सहीछाप ग¥यो ? यस्तो गर्न चुम्लुङलाई केले उत्प्रेरित ग¥यो ? अझ चुम्लुङको कमजोरी आन्दोनरत पक्ष र स्थानीय निकाय सम्मिलित विवाद समाधान समितिको पहलमा नेपाल खानेपानी संस्थानका वरिष्ठ इञ्जिनियर भगवान् सुब्बाको संयोजकत्वको टोलीले विकल्प नभएको भनिएकोमा दुई ठाउँ विकल्पको रूपमा प्राविधिक प्रतिवेदन बुझायो । साथै बजेट अभावका कारण अन्य ठाउँमा ट्याङ्की निर्माणका लागि सम्भव नभएको स्थानीय निकायको तर्कलाई आन्दोलनरत पक्षको पहलमा प्राविधिक प्रतिवेदनमै परेको जग्गा धनी मदन राईले निःशुल्क जग्गा दिने सार्वजनिक कबुल गरेबाट चुम्लुङले संवेदनशील विषयमा हल्का व्ययभार गरेको साथै हेल्चेक्र्याइँ गरेको स्पष्ट हुन्छ । यही कारण चुम्लुङप्रति देश विदेशमा व्यापक असन्तुष्टि पैदा भएको छ । यस विषयमा चुम्लुङले राजनैतिक विषयमा लिम्बुवान भने पनि लिम्बुवानको ऐतिहासिक विजयपुर क्षेत्रप्रति लिएको निर्णय र अडानले राजनैतिक कुरामा आफ्नो मत राख्न नैतिक रूपमा अप्ठ्यारो परेको देखिन्छ ।
२. धार्मिक मुद्दा
आफूलाई महान् ठान्ने याक्थुङ लिम्बू समुदायका केही विद्वान भनाउँदाहरू याक्थुङ लिम्बू समुदायको धर्म फाल्गुनन्द लिङदेन अगाडि नभएकोसम्म दलिल पेश गर्दै हिँडेको भेट्छौँ । यस्ता अद्र्ध विद्वानहरूकै कारण आज समुदायको पहिचान धुमिल हुँदै गएको छ । समाज र समुदायमा यस्तै समूहको बोलवाला भएको कारण समुदाय अन्योलमा पर्दै गएको छ । विशेष गरी ब्राह्मणवादी राज्यसत्ताबाट विश्वविद्यालयको डिग्री हासिल गरेका अग्रजहरुको हालत यस्तो भेटिन्छ । राजनितिमा होमिने विद्वानहरूको कुुरा फाल्टै छ । उनीहरू पहिलो कुरा सत्य ठम्याउँदैनन् । दोस्रो बोल्दैनन् । तेस्रो उनीहरू जे गर्दा बढी भोट पाइन्छ त्यही कुरा बोल्छन् र गर्छन् । समुदायको उपलब्धीहरू मास्न चाहने अन्य समुदायका छद्मभेषीहरूको साथ उनीहरूले राम्रै पाएका छन् । जस्ले लिम्बू समुदायको साथै लिम्बुवानको पहिचान धुमिलिँदै गएको छ । हुन त यतिखेर नेपालको संविधान धर्म निरपेक्ष भएको बेला लिम्बू समुदायमा किन धर्मको बहस चल्यो ? त्यसका केही कारणहरू छन् ?
नेपालको संविधानले राज्यलाई धर्मनिरपेक्ष भने पनि धर्म निरपेक्षताको परिभाषा सनातनदेखि चलिआएको धर्मको संरक्षण तथा विकास गर्ने भनी लेखिएको छ । जसले राज्य फेरि पनि धार्मिक हिसाबले एकात्मक नै रहेको देखिन्छ । हिजो धर्म केही होइन । यो अफिम हो । भनेर जनजातिहरूमा प्रशिक्षण चलाउनेहरू आज सनातनको नाममा हिन्दू धर्ममा राज्यबाट लगानी गरिरहेका छन् । राज्यको ओहदामा रहेका वरिष्ठत्तम कम्युनिष्टहरू हिन्दू धर्मको प्रचारप्रसारमा खुल्लमखुल्ला लागेको देख्छौँ । नेपालको पूर्वी क्षेत्रमा किरात धर्ममा सनातनको नाममा राज्यले लगानी गरिरहेको छ । यसले एकातिर याक्थुङ लिम्बू समुदायको मौलिक मान्यताहरू मास्दै लगेको छ । भने मुन्धुमी स्थलहरूलाई धार्मिक अतिक्रमण गर्दै लगेको छ । यसले मुन्धुमी मनोविज्ञानको सट्टा मुन्धुमको नाममा हिन्दूवादी मनोविज्ञानको विकास गर्दै लगेको देखिन्छ ।
हुन त धर्म केही होइन । यसो भन्ने पश्चिमाहरू विश्वको कुनाकुनामा चर्च बनाउन र बाइबल पढाउन लागिपरेका छन् । यसो भन्ने हिन्दू खसआर्यहरू आदिवासी जनजातिको घु¥यानमा त्रिशुल गाडिरहेका छन् । आदिवासी जनजातीहरू बस्ने डाँडा पाखामा मन्दिर निर्माण गरिराखेका छन् । सोझा याक्थुङ लिम्बूहरू माङहिमको नाममा शिवमन्दिरहरू बनाइरहेका छन् । यज्ञहोम गरिरहेका छन् । मुन्धुमको हवाला दिँदै युमा माङको सट्टा थेवासाम, हाङसाम हुँदै किरातेश्वरमा पुगिरहेका छन् । उही हिन्दूवादी मनोविज्ञान निर्माणको चक्रब्युहमा फँसिरहेका छन् । हिजो १९८८ मा सत्तेहाङ भनियो । २०३६ मा किरात भनियो । अहिले आएर लिम्बूहरूको माग साम्माग बस्ने घुम्ने डाँडा देउरालीमा चरु पोलिँदैछ । समुदायलाई हिन्दूवादी मनोविज्ञानमा ढाल्ने काम गरिँदै छ । कुनै समयमा राज्यले अनेक हिसाबले उत्पीडनमा पारिराखेको अवस्थामा केही समुदाय मिलेर धार्मिक आँकडा देखाउन किरात धर्म लेख्न किरात याक्थुङ चुम्लुङले किरात धर्म भलै लेख्न पहल ग¥यो होला । समुदायका अग्रजहरूले यसमा आफ्नो भूमिका खेले होला ।
आज त्यही कदमले आफ्नो मौलिकता मासिएको आफ्नो आँखा अगाडि देखेपछि चुम्लुङले कोर्ष करेक्सन गर्नुको साटो झनै किरात धर्म नै लेख्नु पर्छ भन्दै समुदायलाई उर्दी जारी गर्नुमा कुन रहस्यले काम गरेका छ ? बुझिनसक्नुको पहेली बनेको छ । अझ युमा साम्यो महासभा नेपालद्वारा यही २०७५ साल वैशाख १६ देखि १८ गतेसम्म धरानमा युमा मुन्धुम, धर्म र दर्शन विषयक तीन दिने अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरी याक्थुङ लिम्बू समुदायले अनादिकालदेखि नै युमा धर्म मान्दै आएको तथा भन्दै आएको घोषणा गरेको पलमा युमा धर्मलाई एउटा पन्थ भन्दै फलाक्दै हिँड्नुले के चुम्लुङ लिम्बू समुदायको मसिहाको नाममा हिन्दूवादको मतियारको काम त गर्दैछैन ? भन्ने आशङ्का पैदा भएको छ । के चुम्लुङ हिन्दूवादले बुनेको चक्रब्युहको केन्द्रमा अभिमन्युजस्तो पुगेको छैन ? भन्ने प्रश्न उब्जिएको छ । युमा धर्मलाई सौताको व्यवहार गर्ने, संवाद नै नगर्ने प्रवृतिले यही कुरालाई प्रष्ट पार्दै लगेको छ ।
२०४९ सालमा चुम्लुङको महाधिवेशनले याक्थुङ लिम्बू समुदायको धर्म किरात भएको पारित गरेको हवाला दिँदै दीर्घकालीन असर पर्ने राष्ट्रिय परिचयपत्रमा किरात धर्मावलम्वीहरूसँग मिली किरात धर्म लेख्नु पर्ने उर्दी जारी गर्दै चुम्लुङ हिँडिरहेको छ । यस्तो कदमले संविधान प्रदत्त व्यक्तिको धार्मिक स्वतन्त्रताको अधिकार कुण्ठितमात्र पार्ने प्रयास गरेको छैन । समुदायको मौलिक धार्मिक मूल्य र मान्यतालाई मास्ने प्रयास भएको देखिन्छ । यस्तो हर्कतले चुम्लुङ याक्थुङ लिम्बू समुदायका लागि भोलि गलाको गाँड, केसामीको छाला, सतिको लास, अभिमन्युको काल जस्तो हुन्न भन्न सकिँदैन । सामुदायिक मनोभावनाका विपरीत चुम्लुङमा एकोहोरो रटान लगाइरहेको छ । किन चुम्लुङले किन यस्तो गरिरहेको छ अचम्मै मान्नु पर्ने अवस्था आएको छ । झनै चुम्लुङले व्यवहारिक रूपमा मौलिकता मान्ने भन्ने र सैद्धान्तिक रूपमा किरात धर्म भन्नेजस्ता कुराले चुम्लुङमा सैद्धान्तिक र व्यवहारिक रूपमा हुँदै विरोधाभाषपूर्ण, अन्यौल, अस्पष्ट मानसिकताबाट गुज्रिरहेको कुरा स्पष्ट छ । आम लिम्बू समुदायको मनोविज्ञानलाई समेट्नु पर्ने चुम्लुङ बालहठी शैलीमा एकोहोरो किरात धर्मको रटानलगाई राख्नुले पनि चुम्लुङ कता जाँदैछ भन्ने स्पष्ट पार्दछ ।
चुम्लुङमा सल्लाहलाई सरापको रूपमा बुझ्ने मपाईंको प्रशिक्षण चलाइरहेको छ । चुम्लुङमा बस्नेहरू बाहेक समुदायमा बस्ने अन्य व्यक्तिमा कुनै चेतना नभए जतिकै अहम् भावनाको शिकार बन्दैछ चुम्लुङ । र, समुदायलाई शिकार बनाउन उद्यत छ । किरातको आँकडा थपिरहने, सो आँकडाको आधारमा राज्यले लगानी गर्ने, अनि उक्त लगानीले किरात धर्मको नाममा कुनै न कुनै हिसाबले हिन्दूवादकै अभ्यास गरिरहने र उक्त अभ्यासले मौलिक धार्मिक मान्यता मास्दै हिन्दूवादी साम्राज्य स्थापित गर्ने चक्रब्युहमा चुम्लुङ परिसकेको छ । चुम्लुङले यस्तो अकर्मण्यतामा सिङ्गो याक्थुङ लिम्बू समुदाय चुम्लुङसँगै सति जाने किमार्थ तयार हुन्न । राज्य र चुम्लुुङद्वारा याक्थुङ लिम्बू समुदायमाथि लादिएको किरात धर्म कदापि स्वीकार हुन्न । यसले लिम्बू समुदायको पहिचानका हरेक पाटाहरूलाई विनाश गर्ने काममात्र गर्छ । त्यस्तो कृयाकलाप अहिलेको समयमा बाञ्छनीय कुनै विन्दूबाट हुनै हुन्न ।
३. पहिचानको मुद्दा
चुम्लुङको अस्पष्ट दिशा र अव्यवस्थित कार्यशैलीले लिम्बू जाति तथा लिम्बुवानको पहिचान नै समाप्त पार्न थालेको देखिन्छ । अमूर्त किरात सभ्यताको वकालत गर्दा गौरवपूर्ण याक्थुङ सभ्यता ओझेलमा पारेको देखिन्छ । अमूर्त किरात धर्मको वकालत गर्दा मौलिक युमा धर्म नै झण्डै विलय भएको भेटिन्छ । किरात धर्मभन्दा भन्दै लिम्बुवान राजनैतिक मुद्दा कमजोर भएकोे छ । आखिर लिम्बू र लिम्बुवान मात्र भनेर हुन्न कुन मुद्दाले लिम्बू समुदाय र लिम्बुवानलाई टेवा पुग्छ भन्ने कुरा पनि छुट्याउनु सक्नु प¥यो । चुम्लुङको काम समुदायबाट आर्थिक सङ्कलन गर्दै चुम्लुङ हिम बनाएर भाँडा उठाउने मात्र काम होइन भन्ने बुझ्नु प¥यो । अन्यथा याक्थुङ समुदायमा चर्चित केसामी र नाम्सामीको मुन्धुमी मिथकजस्तो नबनोस् लिम्बू समुदायमा । पहिचानको फरकफरक पाटाहरूलाई संरचनागत प्रक्रियावादी कार्य शैलीमा कार्यगत एकरूपतामा ढाल्न सकियो भने मात्र साँचो अर्थमा पहिचान स्पष्ट हुन्छ र जोगिन्छ ।
समुदायको धार्मिक पहिचान के हो ? धार्मिक मान्यताले जोडेका भाषिक, सांस्कृतिक पहिचानहरू केके हुन् ? भौगोलिक पहिचान के हो ? राजनैतिक पहिचान के हुन ? सभ्यताका हिसाबले के पहिचान हो ? यस्तो कुरामा स्पष्ट भएर अगाडि बढेमा मात्र समुदायको प्रतिनिधित्व गर्छु भन्ने संस्थाको औचित्य सावित होला । लिम्बू समुदायको राजनैतिक तथा भौगोलिक पहिचान लिम्बुवान नै हो । यो कुरामा चुम्लुङ स्पष्ट जस्तो देखिए पनि सभ्यता किरात, धर्म किरात, लिपि किरात भन्दै हिँड्दा पहिचानका यी वास्तविक र व्यवहारिक पाटालाई कमजोर बनाउँदै लगेको छ । यसले याक्थुङ सभ्यता, युमा धर्म, शिरिजोंगा लिपिलाई अपमान गर्न खोजेको स्पष्ट हुन्छ । यी मान्यताको विपरीत बसेर मुन्धुमको वकालत गर्नु पनि एक हिसाबले विरोधाषपूर्ण कृयाकलापकै रूपमा लिन सकिन्छ । युमा धर्म किरात धर्मको एक पन्थ हो भन्ने प्रशिक्षण चलाउँदै हिँड्नु चुम्लुङको अवाञ्छनीय कार्यकै रूपमा लिन सकिन्छ । जहाँसम्म यी धर्मबीचको मूल मान्यताहरू नै फरक छन् । यस्तो सोच राख्नु पनि आफैंमा हिन्दूवादी धार्मिक साम्राज्यवादबाट प्रभावित मानसिकता हो, भन्न सकिन्छ । चुम्लुङ बेलैमा यस्तो मानसिकताबाट बाहिर आउन जरुरी छ । साथै, मुक्त हुनसमेत आवश्यक छ ।
लेखक युमा मुन्धुम दर्शन अभियन्ता हुन् । उनको यो निजी विचार हो ।