विराटनगर / मोरङको जहदा गाउँपालिका – १ कालाबञ्जरस्थित नेपाल–भारत सिमा क्षेत्रको दशगजामा भारतीय पक्षले अतिक्रमण गरि बनाएको सडक भत्काइएको छ । दशगजा क्षेत्र अतिक्रमण गरेर बनाइएको सडकको निर्माण कार्य मोरङ प्रशासनले रोकेपछि भारतीय पक्षले मंगलबार भत्काउन सुरु गरेको हो ।
भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तिका दुई गाउ“ जोड्न दशगजा मिचेर सडक निर्माण सुरू गरेको थियो । दशगजा मिचेर निर्माण सुरू गरेको सडक स्थानीय प्रशासनले रोके पछि मंगलबारबाट भारतीय पक्षले भत्काउन थालेको सशत्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर मोरङका उपरीक्षक मनिष थापाले जानकारी दिए ।
दशगजा मिचेर करिब ३ सय मिटर सडक निर्माणका लागि माटो थुपारिएको थियो । ‘भारतीय पक्षसँग समन्वय गरेर भत्काउँन लगाएका छौं,’ उनले भने, ‘बिहान ९ बजेबाट दुवै पक्षको निगरानीमा भत्काउने काम सुरू गरिएको हो ।’
ठेकेदारले निर्माण गर्नुपर्ने स्थान भन्दा ३५ मिटर उत्तर दशगजामा सडक खनेको थियो । भारतीय एसएसपीसँगको समन्वयमा उनीहरुले गल्ती स्वीकार गरेको थापाले बताए । भारतको बिहारका बिधायक मनचन केसरीको बिधायक फण्डबाट उक्त सडक निर्माण सुरू गरिएको थियो । दशगजामा रहेको १७४/२ नम्बरको चारपाटे पिलरभन्दा करिब ३ सय मिटर वरसम्म एक्साभेटरले खनेर सडक निर्माण गरेको थियो ।
दशगजामा २५ फिट लम्बाइको सडकमा ३ फिट अग्लो सडक निर्माण गरेको थियो । यस क्षेत्रमा अहिले धमाधम निमार्ण गरिएको सडक पुर्ने काम भइरहेको छ । दशगजामा सडक निर्माण भइरहेको जानकारी प्राप्त भए पछि जहदा गाउँपालिका १ का वडाअध्यक्ष प्रदीपचन्द यादवले सडक निर्माण रोकेका थिए । ‘दशगजामा सडक निर्माण भइरहेको जानकारी पाए पछि शनिबार हेर्न आयौं,’ उनले भने, ‘तत्काल सशस्त्र प्रहरी बेश बुधनगर र इलाका प्रहरी बुधनगरलाई जानकारी गराएर सडक निर्माण रोक्न लगायौं ।’
दशगजामा सडक निर्मााण गर्नेै नमिल्ने अवस्थामा पनि भारतीयले जबर्जस्ती सडक निर्माण गरेको उनले बताए । ‘उक्त सडक निर्माण भए पछि लोहन्द्रा र जुडी खोलाको पानी वर्षायाममा थुनिएर जहदाको वडा १ पूर्णरुपमा जलमग्न हुन्छ,’ उनले भने, ‘यसका साथै विराटनगर महानगरपालिकाको वडा १७ पनि जलमग्न हुन्छ ।’ भारतको विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरेको हो ।