रुससँग एस–४०० मिसाइल सिस्टमबारे डिल– अमेरिकी एक्ट ‘काटसा’ अन्तर्गत कारबाही गर्ने ट्रम्पको चेतावनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन गत हप्ता भारत आएका थिए, त्यहाँ ४० हजार करोड भारुको डिल भएको थियो ।
वाशिङ्टन/ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतले रुससँग गरेको डिल (सहमति) ले ऐन उल्लङ्घन भएको बताएका छन् । ट्रम्पले भारतको यो ठूलो गल्ती भएको भन्दै यसको परिणाम भोग्नु पर्ने बताएका छन् ।बुधबार ट्रम्पले रुससँग एस–४०० मिसाइल डिफेनस सिस्टमको डिल गरेर भारतले ‘अमेरिकाज एडभर्सरिज थ्रु सेंक्शंस एक्ट (काटसा)’ को उल्लङ्घन गरेको बताएका छन् । जसको परिणाम भारतले अवश्य भोग्नुपर्ने बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन गत हप्ता भारत आएका थिए । यस क्रममा दुवै देशका बीच एस–४०० मिसाइल डिफेन्स सिस्टमको डिल फाइनल भएको थियो । यसै विषयलाई लिएर ट्रम्पले भारतलाई यसको नतिजा चाँडै देखिने बताएका हुन् ।ट्रम्पले इरानसँग ४ नोभेम्बरपछि तेल आयात जारी राख्ने देशहरूलाई पनि अमेरिकाको रिसको सामना गर्नु पर्ने बताएका थिए । रक्षा विशेषज्ञहरू मिसाइल डिलपछि भारतलाई ‘काटसा’ अन्तर्गत अमेरिकी प्रतिबन्ध हुन सक्ने आशङ्का व्यक्त गरेका थिए ।
अमेरिकामा रहेको ‘फ्रेण्ड्स अफ इण्डिया’ ले भने राष्ट्रपति ट्रम्पले भारतलाई छुट दिन सक्ने आशा व्यक्त गरेको छ । किनभने अमेरिकाले भारतलाई महत्वपूर्ण रक्षा साझेदार मान्ने गरेको छ । ‘काटसा’ अन्तर्गत रुससँग मिसाइल डिल गरेपछि भारतलाई छुट दिने अधिकार मात्र ट्रम्पलाई छ ।
अमेरिकाले हालै ‘काट्सा एक्ट’ को प्रयोग गर्दै चीनको रक्षा कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि भारतीय सञ्चारमाध्यमले स्रोतलाई उल्लेख गर्दै रक्षा मन्त्री जेम्स मेटिस र विदेश मन्त्री मायक पोम्पियोले ‘काटसा’ अन्तर्गत भारतलाई छुट दिन जोड गरेको कुरा उल्लेख गरेका छन् ।
‘काटसा’ ले ट्रम्प प्रशासनलाई आर्थिक र राजनीतिक प्रतिबन्धको माध्यमबाट रुस, इरान र उत्तर कोरियालाई निशाना बनाउने सामथ्र्य प्रदान गर्छ । यसै ऐनअन्तर्गत रुस, इरान र उत्तर कोरियासँग व्यापार, सम्झौता गर्ने देशलाई अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ । – एजेन्सी