कुनै पनि जीवित प्राणीको जन्म र मृत्यु प्राकृतिक प्रक्रिया हुन् तर आज विज्ञानले मानिसको जन्ममाथि नियन्त्रण लिई निश्चित दिनमा बच्चा जन्मिने कुराको घोषणा गर्न सक्छ। तर मृत्यु मात्रै त्यस्तो सत्य हो, जुन कसैको नियन्त्रणमा छैन। जन्म र मृत्यु जीवनका सबैभन्दा प्रमुख दुई क्षण हुन्।
जन्मसंस्कार र मृत्युसंस्कार भने संसारभर आआफ्ना जातीय वा धार्मिक चलनअनुसार हुने गरेको छ। अत्यधिक सनातनी (हिन्दु) भएको नेपालमा वैदिक विधि विधानअनुसार जन्म, विवाह र मृत्यु संस्कार गरिन्छ। मूल वैदिक मृत्युसंस्कार धेरै विभेदकारी नभए पनि संस्कार बन्ने र भत्किने क्रममा हाम्रा कतिपय संस्कार पुरुषसत्तात्मक चरित्र ग्रहण गरेका छन्।
जन्म र जीवन दिने मातृजातिलाई जन्म, विवाह र मृत्युजस्ता महत्वपूर्ण संस्कारमा भेदभाव र छुवाछूतपूर्ण हुनु लाजमर्दो हो। पश्चिम नेपालका छाउगोठमा महिलाविरुद्ध हुने भेदभावका विरोधमा दुईचार छाउगोठ भत्किए पनि चेतनाको मुटु मानिने राजधानीकै लाखौं घरभित्र चारदिने रजस्वला बार्नुपर्ने र जनैधारी पुरुषलाई छुन नहुने ‘छुवाछूत’ छँदैछ।
सार्वजनिक यातायातदेखि तरकारी बजारसम्म कसलाई छोइयो थाहा नहुने ठाउँमा लक्ष्मी, सरस्वती र दुर्गाको प्रतिनिधित्व गर्ने महिला जातिलाई सामान्य जैविक परिवर्तनकै कारण देखाएर गरिने छुवाछूतले समाज लबस्तरो भएको संकेत गर्छ।
कतिपय अवस्थामा मृत्युलाई समेत जितेर महिलाले बच्चा जन्माउँदा हाम्रो समाजमा अझै पनि सातदिने सुतक बार्ने चलन छ। नवजातको न्वारान नगरेसम्म सुत्केरी महिला अपवित्र हुन्छन् भन्ने मान्यता कति बेकार ! भर्खरै आँप पाकेर रूखबाट झर्दा त्यो आँपको रूख पवित्र हुन्छ कि अपवित्र ? रगत हाम्रो जीवनको आधार हो। पर्याप्त रगत नभएर शरीरमा रक्तअल्पता हुन्छ र सोही कारण जीवन जान्छ। त्यही जीवनको केन्द्र रगतलाई जोडेर रजस्वलामा बग्ने सुत्केरी हुँदा बहने रगत अपवित्र ? शरीरभित्र रगतै बोकेर हिँड्नेहरूले जीवन सिर्जना गर्ने रगतको कारण देखाउँदै मातृजातिको निरन्तरको यो अपमान ?
त्यस्तै, सनातन परम्परामा पितृ उद्धारका लागि छोरा नै चाहिने भन्ने अन्धविश्वासका कारण आज पनि लाखौं होइन, करोडौं छोरी भ्रूणहरू जन्मनुअघि गर्भमै मारिन्छन्। ‘छोरी जतिसुकै हुन् तर एउटा छोरा त जसरी नि चाहिन्छ। नत्र बाँचुञ्जेल पाल्ने, मरेपछि दागबत्ती दिने अनि बर्सेनि श्राद्ध गरी पिण्डदान कसले गर्ने प्रश्न अहिले पनि गर्छन् कतिपय धर्मभिरुहरू। सन्तानका रूपमा छोरा नभएको परिवारलाई ‘तिमीहरूलाई मरेपछि कसले दागबत्ती दिन्छ र सम्पत्ति कसले खान्छ ? ’ भनेर लाजै नपचाई सोध्ने मनुवाहरू अझै जिउँदै छन्।
सोही कारण केही समयअघिसम्म छोरा पाउनकै लागि बहुविवाह नेपाली समाजमा थियो र कतिपय महिलासमेत ‘पिण्डको चिन्ता’ ले आफ्ना प्यारा लोग्नेलाई छोरा पाउनकै लागि आजका दिनमा पनि ‘दोस्री’ ल्याउन अनुमति दिन्छन्। कानुन र मुखले छोराछोरी बराबरी भने पनि ‘छोरोले पाल्ने, उसैले फाल्ने’ मनुकालीन मानसिकता नेपाली समाजमा जरा गाडेर बसेको छ। त्यसो हुँदा छोरी–भ्रूणहत्याको व्यापार ‘स्वास्थ्य सेवा केन्द्र’ का नाममा टोलटोलमा फैलिँदो छ।
हाम्रो संस्कृतिमा नारीलाई मृत्युसंस्कारअन्तर्गतको मलामी, अग्निदहन, श्राद्ध तथा पिण्डदानजस्ता कार्यमा महिलालाई भूमिका दिने चलन छैन। यद्यपि पछिल्लो समयमा महिला मलामी बन्न थालेका छन्। पण्डितहरू धर्मशास्त्रको हवाला दिँदै यस सन्दर्भमा भन्छन्– महिला शारीरिक, मानसिक र भावनात्मक रूपमा कमजोर हुने हुँदा तिनलाई मलामी बन्न र शवदहन कार्यमा सहभागी बनाइन्न। यो पनि छुवाछूतपूर्ण व्यवहार नै हो। कतिपय समाजमा छोरीहरूले आफ्नो बाआमाको किरिया गर्न पनि थालेका छन् तर पुराना मतका पुरोहितहरूले त्यसमा साथ दिन मान्दैनन्। आफन्त र दाजुभाइले समेत छोरीले किरिया गरेको हेर्न नहुने भन्दै चुनौती दिने गर्छन्।
आफ्नै कुरा गरौं। आफू रजस्वला हुँदाकै समय हजुरआमाको मृत शरीर बोकेरै अस्पतालका शड्ढयाबाट राति एक बजे निकालेकी छु, शवगाडीमा शव राखेर घाटसम्म सँगै पुगेको छु। फेरि मैले त रजस्वलाको पाप कटाउन भनी आजसम्म ऋषिपञ्चमीको पूजा पनि गरेकी छैन। मृत्यु दुःखद् मात्रै होइन, महादुःखद् क्षण हो। तर मृत्युपछिका संस्कारभन्दा जीवनमा अहिले मृतक बनेकाप्रति हामीले कति जिम्मेवार कर्तव्य निर्वाह गर्न सक्यौं, त्यो प्रमुख हुनुपर्ने हो। बाँचुञ्जेल आफ्ना अभिभावकप्रतिको जिम्मेवारी ख्याल नगर्नेहरू, वृद्धा श्रममा बाआमा लखेट्नेहरू मृत्युजस्तो संवेदनशील क्षणमा साँचिलो बन्दै, अशुद्ध हुने र अगति पर्ने भन्दै लासमाथि न्याय गर्न अघि बढेको देख्दा भने अवाक लाग्छ। धर्म र नैतिकता के हो भनी सोच्न वाध्य पार्छ यस्ता घटनाले। छोरीबुहारीले तन, मन र धनले बाँचुञ्जेल बाआमाको स्याहारसुसार गरी सारा कर्तव्य निर्वाह गर्ने तर मर्नेबित्तिकै त्यही शव छुन नहुने ? मलमूत्रसम्मको सरसफाइ गरेर बिरामीलाई सफा राखिदिने व्यक्तिलाई शवमाथिको अधिकार नहुने ? जो फूलबारीमा फूल गोड्छ, उसैलाई फूलमाथिको अधिकार नहुने ? घाटमा महिलामाथि गरिने छुवाछूतले नारीलाई अझै अपवित्र ‘वस्तु’ कै रूपमा व्यवहार गर्न खोजिएको देखिन्छ। उल्लेख गरिसकें, जीवनमा गरिने व्यवहार महत्वपूर्ण हो, मृत्युपछिका संस्कारले मृतकलाई हुने पनि केही होइन। यसो भनेर प्रतिक्रिया दिए रीतिरिवाज मिल्काउन खोजेको आरोप लाग्छ। तर एउटै कोखबाट जन्मिएको दाजुभाइसँगै किरिया बस्ने, उही कोखबाट जन्मिने छोरीले किरिया बस्न खोजे अनुचित ठान्ने ? मृतकको वीर्यबाट जन्मेका कोही नहुँदा दाजुभाइ या सगोत्रीले किरिया गर्नुपर्ने चलन आफैंमा गलत हो। यो पुरुषसत्तात्मक सोच नै हो। कहिल्यै नदेखिने स्वर्गका काल्पनिक कथा कहेर महिलामाथि गरिएको अत्याचार हो। हिजो सती जानु ‘महिलाको धर्म’ थियो होला। त्यो आज एकादेशको कथा भएको छ। हिजो पतिलाई परमेश्वर मानी जति सौता ल्याए पनि चुपचाप सहने चलन थियो। आज त्यसो गर्ने पति परमेश्वरलाई कारागारको प्रावधान छ। हिजो महिला ‘ताडनाको योग्य’ थिए तर ती आज पैत्रिक सम्पत्तिमा समान हक राख्छन्। हिजो घुँडो र मुखसमेत छोपेर हिँड्ने महिला देश र अन्तर्राष्ट्रिय अभियानहरू हाँक्ने भएका छन्। त्यसैले संस्कार र चलनहरू सदासर्वदा उही रहन्छ भन्नु आफैंमा अन्धविश्वास हो। सचेत वर्गले गलत प्रमाणित भएका संस्कार हटाउनुपर्छ। हाल बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४ को भाग २ परिच्छेद १० को १६१ नं दफा ३ मा ‘महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न नहुने र अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन’ भन्ने उल्लेख छ। त्यस्तो कसुर गर्ने या गराउनेलाई तीन महिना कैद र ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। यो वा त्यो नाममा महिलामाथि छुवाछूत र भेदभाव गर्नु आजको दिनमा अनुचित हो। छुताछूतलाई स्विकार्नु पनि अपराध हो। अब नसहौं। अन्नपूर्णपाेष्टबाट