म चिकित्सक । तर चिकित्सकको रूपमा भन्दा बढी नर्सका रूपमा उभ्याउँछ समाजले । डाक्टरभन्दा धेरै ‘सिस्टर’ शब्दले सम्बोधित हुने गर्छु । अरू देशमा पुरुषले पनि नर्सिङ अध्ययन गर्ने र हाम्रोमा प्रायः महिलाले मात्र नर्सिङ पेसा अपनाउने भएकाले सम्भवतः सर्वसाधारणले सेतो कोट पहिरिने सबैले ‘सिस्टर’ बुझेको होला । सिस्टर भनेर बोलाइनु या सम्बोधित हुनुमा कुनै अप्ठेरो छैन । कसैले ‘तपाईं डाक्टर नबन्नुभएको भए के बन्नुहुन्थ्यो होला ? ’ भन्ने प्रश्न राख्छ भने मेरो एउटै उत्तर हुनेछ, ‘म नर्स बन्थें ।’ हो, आजको दिनमा म डाक्टर नभएको भए सायद यतिबेला नर्सकै रूपमा कार्यरत हुन्थें ।
बीएससी नर्सिङको अध्ययनकै क्रममा काठमाडौं विश्वविद्यालयको एमबीबीएस प्रवेश परीक्षामा नाम निस्केपछि डाक्टर पढ्ने आफ्नो सानैदेखिको लक्ष्य हासिल भएको रूपमा बुझेको थिएँ । नर्सिङमा भर्ना हुनुअघि एमबीबीएसको छात्रवृत्ति कोटामा नाम निकाल्न मैले निकै मेहनत गरेको थिएँ, तर सोचेअनुसारको प्रतिफल आएन । प्रतिस्पर्धा दिनानुदिन बढ्दो थियो । आफूले पाएको अवसर कसरी छोड्ने, लिएको लक्ष्य कसरी हासिल गर्ने भन्ने प्रश्नले घच्घच्याइरहन्थ्यो । परिवारको सल्लाहमा नर्सिङ अध्ययन सुरु गरें, नर्सिङ पढाइ मेरो लक्ष्य नभएकाले रमाउन सकिनँ । नर्स बन्ने लक्ष्य लिएका मेरा साथी खुसी देखिन्थे, तर मैले आफ्नो लक्ष्य बिर्सन सकिनँ ।
आमाबुबाका लागि आफ्ना छोराछोरीको खुसी, सपना अनि चाहना सबैथोक रहेछ भन्ने आभास त्यतिबेला भयो, जब नर्सिङ पढ्दै गर्दा घरमा आमाबुबासामु एक दिन मैले भनें, ‘मेरो डाक्टर बन्ने सपना अझै मरेको छैन, नर्सिङ, पढाइमा म खुसी छैन, त्यतिबेला मेरा आमाबुबाको ममता अनि कर्तव्य एकैसाथ प्रस्फुटित भयो र उहाँहरूले भन्नुभयो, ‘छोरी, हामी जसरी पनि तिमीलाई डाक्टर पढाउँछौं ।’ भगवान् श्रीकृष्ण भन्छन् रे, ‘तँ आँट, म पुर्याउँछु ।’ अनि मेरा बुबाआमाले त्यतिबेला पैसा खर्च गरेर भए पनि छोरीलाई डाक्टर बनाउँछौं, उसको सपना साकार बनाउँछौं भन्ने त्यो आँट लिनुभयो । फलस्वरूप आज म यसरी आफूलाई डाक्टरको रूपमा परिचित गराउन सफल भएँ ।
मेरोजस्तै अरू महिला डाक्टरहरूको नर्सिङसँगको मोडिएको आफ्नो विगत अवश्य छैन । मेरो पनि नर्सिङसँग आबद्ध विगत हुँदैनथ्यो त मैले जाँच गर्ने बिरामीले मलाई पटकपटक सिस्टर भनेर सम्बोधन गरिरहँदा कताकता नराम्रो अवश्य नै लाग्ने थियो होला सायद । रातदिनको मेहनत अनि कडा परि श्रमले कमाएको आफ्नो योग्यताअनुसारको मान, मर्यादा अनि दर्जाको आशा गर्नु एक महिला डाक्टरको अधिकार हो । म डाक्टर हो, सिस्टर होइन भन्नु न एक महिला डाक्टरको अहंकार हो न त सिस्टरको अपमान । नचिनेकालाई चिनाउनु, नबुझेकालाई बुझाउनु हाम्रो कर्तव्य हो, तर बुझाउने तरिका र व्यवहार र बुझिने तरिकामा भने अहंकार वा अपमानको गन्ध नआउला भन्न सकिन्न ।
ओपीडीमा सेतो कोट लगाएर डाक्टर बस्ने कुर्सीमै बसेर अगाडि बिरामी राखेर जाँच गरेको देखिरहँदा पनि बाहिर आफ्नो पालो कुर्दै बसेका बिरामीको भीडबाट आवाज प्रस्ट सुन्ने गर्छु म, ‘हैन आज डाक्टर आउनुभएको छैन ? ’ मजस्तै अरू महिला डाक्टरको ओपीडी पालो हुँदा बारम्बर सुनिने प्रश्न हो यो । मेडिकल कलेजमा इन्टर्नसिप रोटेसन हुँदाको यस्तै उदाहरण सम्झना आउँछ । त्यो दिन ओपीडीमा म अनि नाक, कान, घाँटीविशेषज्ञ कन्सलटेन्ट थियौं । भित्र जाँच्न सुरु गर्नुपर्यो भनेर बिरामीको नाम बोलाइन्छ, तर बिरामीले भित्र आउन मन नगरेको प्रस्टै झल्किन्छ उसको यो प्रश्नबाट, ‘सिस्टर डाक्टर आइपुग्नुभएको छैन ? ’ स्त्रीरोग विशेषज्ञसँग हाम्रो पुरुष इन्टर्न साथीहरू राउन्डमा जाँदा बिरामीरबिरामी पक्षले इन्टर्न साथीलाई डाक्टर साब भनेर सम्बोधन गर्ने अनि आफ्ना समस्याको हल, सल्लाह, सुझाव पनि पुरुष इन्टर्न साथीबाटै अपेक्षा गर्ने ।
६ महिनाअघिको कुरा हो, मैले ओपीडीमा ज्वरोले सिकिस्त एकजना बिरामीको जाँच गरें, परीक्षण गराएँ अनि भर्ना गर्नु उचित ठानी बिरामी पक्ष (एकजना अधबैंसे महिला) लाई बिरामीको अवस्थाबारे जानकारी गराई सहमतिमा भर्ना गरें । त्यसै साँझ राउन्ड लिन वार्ड गएँ, बिरामी कुरुवा त्यहीं थिइन् । म बिरामीसँग बोल्दै गर्दा ती बिरामी कुरुवा फोनमा कुरा गर्दै थिइन् । उनी भन्दै थिइन्, ‘भर्ना गरेको छ, खै कति दिन पो राख्नुपर्ने हो, अहिलेसम्म डाक्टर आउनुभएको छैन, सिस्टरले मात्र हेरिरहनुभएको छ ।’ एकछिन कुरें, उनले फोन राखिन् अनि मैले उनलाई सम्झाएँ, ‘दिदी, हजुरको बिरामी हेर्ने डाक्टर म नै हुँ । आज ड्युटी पालो मेरो नै हो, भर्ना पनि मैले नै गरेकी हुँ हजुरसँग सल्लाह गरेर, सम्झिनुभएन र ? ’
हालसम्मको मेरो कार्यावधिमा यस्ता कयौं उदाहरण छन् । मेरोजस्तै अरू थुप्रै महिला डाक्टरसँग यस्ता उदाहरण थुप्रै होलान्, कति त हाम्रो सम्झनामै अटाउँदैनन् । धेरै सुन्ने गरिन्छ सर्वसाधारणको गुनासो, ‘सिस्टर भनेर बोलाउँदा किन रिसाइहाल्छन् महिला डाक्टर ? ’ हो, सिस्टर भनेर सम्बोधन गरिँदैमा रिसाइहाल्नुपर्ने त अवश्य नै होइन, तर हरेक बिरामीले जँचाएर अस्पतालबाट बाहिर निस्कँदासम्म कति कुरा थाहा पाउन जरुरी छ भने उसलाई महिला डाक्टरले जाँचरउपचार गरेकी थिइन्, सिस्टरले नर्सले होइन । बिरामी वार्डमा भर्ना भएपछि डाक्टरको निर्णयमा बिरामीको औषधि वा उपचार पद्धतिको निर्धारण हुन्छ, तर त्यो कार्यान्वयन ल्याउन नर्सको महत्वपूर्ण भूमिका हुन्छ । एउटा डाक्टर समाजमा सफल डाक्टरका रूपमा चिनिने भनेकै उसले गरेको सफल उपचारका उदाहरणले हो । एउटा बिरामीको सफल उपचार कुशल नर्सविना अकल्पनीय छ । हामी डाक्टर र नर्स भनेको एकै रथका दुई पांग्रा हौं । नर्सविनाको डाक्टर वा डाक्टरविनाको नर्सले बिरामीको सफल उपचार असम्भव हुन्छ ।
तर महिला डाक्टरले जाँच गरेका बिरामीले मलाई नर्सले मात्र जाँच्नुभयो, डाक्टरले जाँच्नुभएन भन्ने भ्रम राख्ने अनि महिला डाक्टरको सल्लाह तथा सुझावलाई बेवास्ता गर्ने, ध्यान दिएर नसुन्ने, उपचारमा पूर्ण विश्वास नराख्ने अनि दिइएको औषधि सेवन नगरी डाक्टरलाई नै देखाउँछु भन्ने आशामा मापदण्ड पूरा नगरी सञ्चालन गरिएका क्लिनिक धाउने परिपाटीले स्वयं बिरामी नै मर्कामा पर्छन् । डाक्टरविना सञ्चालनमा आएका त्यस्ता क्लिनिकमा सीमित ज्ञान र सीपको आधारमा पुरुष स्वास्थ्यकर्मीले दिनुहुने उपचार गुणस्तरीय हुनेमा हामी विश्वस्त हुन सक्छौं त ? घरनजिकैको अस्पतालमा भेटिने महिला चिकित्सकप्रतिको अविश्वासमा कतै हामी गैरकानुनी रूपमा सञ्चालनमा आएका नाफामुखी क्लिनिकहरूलाई आर्थिक ऊर्जा थपिरहेका त छैनौं ?
महिला डाक्टरलाई सिस्टर भनेर सम्बोधन गरिनु वा नर्सका रूपमा हेरिनु सामान्य कुरा हो त रु यसले सर्वसाधारणको स्वास्थ्यमा ल्याउन सक्ने प्रतिफल नकारात्मक छैन त ? के एउटा महिला डाक्टरले ‘म सिस्टर होइन, डाक्टर हो’ भन्नुलाई अहं भनेर व्याख्या गरिनु उचित होला ? बिरामी र बिरामी पक्षको अज्ञानता र अनभिज्ञता हटाएर उनीहरूको उपचारमा विश्वस्त गराउनु आवश्यक छैन ? हो, हामी एउटा विकासोन्मुख राष्ट्रका महिला चिकित्सक हौं, जहाँ ग्रामीण भेगमा बसोवास गर्ने वृद्धवस्था पुगेका अधिकांश आमाबुबालाई महिला पनि डाक्टर हुन्छन् भन्ने विश्वास लाग्दैन । डाक्टर भनेको पुरुष मात्र हुन्छन् वा सबै पुरुष स्वास्थ्यकर्मी डाक्टर नै हुन् र सबै महिला स्वास्थ्यकर्मी नर्स नै हुन् भन्ने भ्रम उनीहरूमा हुन्छ ।
अर्कोखाले आम मानिसको जमात यस्तो छ– उनीहरूलाई थाहा छ महिला डाक्टर हुन्छन् भन्ने, तर अस्पतालभित्र छिरेपछि उनीहरू रनभुल्लमा पर्छन् को डाक्टर रु को नर्स ? अस्पतालपिच्छे फरक पहिरन हुन्छ र अन्योलमा परेर सिस्टर भनेर सम्बोधन गर्नुहुन्छ वा भनौं सिस्टर भन्न उनीहरूलाई सजिलो लाग्छ । अनि एकदम न्यून संख्यामा फाट्टफुट्ट यस्ता खाले आम मानिस पनि भेटिन्छन्, जसले जानेर र बुझेर पनि एउटी महिलालाई डाक्टर भनेर सम्बोधन गर्न हिच्किचाउँछन् । समाजमा शिक्षित अनि प्रतिष्ठित व्यक्तित्वका रूपमा चिनिन्छन् तर पनि आफूले सम्मान पाएजस्तै अरूलाई पनि सम्मान गर्नुपर्छ भन्ने बिर्सन्छन् । सकेसम्म सम्बोधन नगर्ने, गर्नुपरेमा सिस्टर भनेर सम्बोधन गर्ने अनि ‘म त डाक्टर हो नि, हजुरलाई त थाहा हुनुपर्ने’ भनियो भने दिदीबहिनीको नाताले सिस्टर भनेको भनेर सजिलै आफूलाई माथि पार्न सक्ने क्षमतावान् व्यक्ति पनि भेटिन्छन् ।
यस्तै अज्ञानतारअनभिज्ञता हावी रहेको समाजमा हामी जन्म्यौं, हुर्कियौं अनि यही समाजमा ज्ञानको ज्योति बाल्ने अनि स्वास्थ्य सेवा दिने र स्वास्थ्यसम्बन्धी चेतना फैलाउनु हामी चिकित्सकको पेसा हो, धर्म हो । हामीमा ज्ञान छ, सीप छ र त्योभन्दा ठूलो सही आचरण हुन आवश्यक छ । सहनशीलता नारीको गहना हो, अझ एक चिकित्सकका लागि सहनशीलता अपरिहार्य छ । त्यसैले दैनिकजस्तो भोगिरहनुपर्ने यस्तो अवस्थालाई हामीले सहनशील भएर शिष्ट भाषा प्रयोग गरी नम्र तरिकाले बुद्धिपूर्वक व्यवस्थापन गर्नुपर्छ । कुन वर्गका मानिसले कस्तो नियतले हामीलाई सम्बोधन गरिरहेको छ भन्ने सजिलै अनुमान लगाउन सक्छौं र त्यसैअनुरूप परिस्थितिको व्यवस्थापन गर्नुपर्छ । जस्तोसुकै अवस्था आइपरे पनि रिसाएर वा झर्केर ‘म सिस्टर होइन, डाक्टर हो’ भनेर आफूलाई कदापि प्रस्तुत गर्नु हुँदैन । रोग, शोक अनि पीडा बोकेर हामीमाथि ठूलो आशा राखेर अस्पताल आउनुहुने अनभिज्ञ बिरामीलाई कठोर भाषा प्रयोग गर्यौं भने बिरामीको हामीप्रतिको विश्वास टुट्नेछ । कतिपय अवस्थामा सुरुमा सिस्टर भनेर सम्बोधन गर्नुहुने अनभिज्ञ बिरामीले अस्पताल भर्ना भएर घर फर्किंदासम्म (अन्जान) अस्पतालको वातावरण बुझेर ‘को डाक्टर, को सिस्टर’ भन्ने पहिचान गरेर फलोअपमा आउँदा नमस्ते डाक्टर साब भन्दै ओपीडी छिरेका उदाहरण पनि नभएका होइनन् । कर्म गरिरहनुपर्छ, सम्मान आफैं पछि लागेर आउँछ ।
हामी चिकित्सकले पनि आफू ड्युटीमा हुँदा, ओपीडीमा बस्दा सेतो कोट लगाउने, सम्भव भएसम्म सेतो कोटमा आफ्नो नाम प्रस्ट देखिने गरी लेखाउने वा परिचयपत्र झुन्ड्याउने, आफूले काम गर्ने संस्थाको पोसाक भएमा सोही पोसाक वा नभएमा औपचारिक पोसाकमा प्रस्तुत हुने बानी बसाल्ने हो भने एकातिर आफ्नो पेसाप्रतिको अनुशासन झल्किन्छ भने अर्कोतर्फ बिरामीरबिरामी पक्षलाई परोक्ष रूपमा आफूलाई चिकित्सकरडाक्टरका रूपमा चिनाउन सजिलो पर्छ । त्यसैगरी सहकर्मी चिकित्सक साथीहरू वा स्वास्थ्यकर्मीले कोही महिला डाक्टरलाई पटकपटक सिस्टर भनेर सम्बोधन गरेको सुनिएमा सरल अनि शिष्ट भाषामा उहाँ डाक्टर हो भनेर चिनाइँदा पनि आइपर्ने यस्ता अवस्था सजिलै व्यवस्थापन हुन्छन् ।
एक चिकित्सकको नाताले आफ्नो सहकर्मी पुरुष चिकित्सकसरह ‘डाक्टर’ शब्दले सम्बोधित हुन पाउँदा हामीलाई अवश्य राम्रो लाग्छ । आर्जेको योग्यता, ज्ञान र सीप त सधैं रहिरहने नै छ ।