[caption id="attachment_65414" align="alignleft" width="322"] चाेत्लुङ[/caption]

धरानः विगतमा सांस्कृतिक एवं व्यापारिक नगरको परिचय बनाएको धरानले उपमहानगरपालिका राजधानी हुने चर्चा अहिले चुलिएको छ । प्रदेश १ को राजधानी यो ठीक, त्यो ठीक भन्ने क्रम जारी छ । इटहरी र विराटनगरलगायतका प्रदेश १ का शहरहरू यस वर्ष जलमग्न मात्रै भएनन्, डुबे पनि । धेरैले सामाजिक सञ्जालमा तर्क राखे डुब्ने ठाउँ भन्दा नडुब्ने ठाउँ नै राजधानी त्यसकारण धरान नै उपयुक्त होला । उनीहरूले त्यो समयमा भनिरहे–धरानलाई राजधानी बनाउन यही समयमा जोडदार आवाज उठाऔं । धेरैले आवाज पनि उठाए । धरानलाई प्रादेशिक राजधानी बनाइनुपर्ने माग गरिएको छ । सबैखाले पूर्वाधार भएको भन्दै प्रादेशिक राजधानी धरानलाई नै बनाइनुपर्ने माग गरिएको छ । सोमबार बिहान पत्रकार सम्मेलन गरेर उपमहानगरले नै यस्तो दावी गरेको हो । धरानलाई प्रदेश राजधानी बनाउँदा उपयुक्त भौतिक सुविधा सम्पन्न पूर्वाधारको खोजी गरि सरकारलाई लिखित जफाव पठाइसकिएको धरान उपमहानगरपालिकाकी नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारीले पत्रकार सम्मेलनमा जानकारी गराएकी छिन् । यसैगरी धरानका बासिन्दाले पनि पूर्वाधार पहिल्यै तयार रहेकाले धरानलाई नै राजधानी बनाइनुपर्ने माग गरिरहेका छन् । प्रादेशिक राजधानी कहाँ होला भन्ने अन्योलकै बीच १ नम्बर प्रदेशको राजधानीका लागि सरकारले विराटनगर, इटहरी, धरान र धनकुटामा आवश्यक भौतिक संरचनाको अवस्थाबारे लगत संकलन गरिसकेको र धरान नै उपयुक्त हो भन्ने देखाउन भौतिक संरचना र विभिन्न पूर्वाधारसहितको प्रतिवेदन सार्वजनिक गरेको उनले बताइन् । धरानलाई राजधानी बनाउँदा, मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशप्रमुख लगायतका कार्यालयहरुको व्यवस्थापन समेत गरिसकिएको पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । उपमहानगरपालिकाले संस्थागत रुपमा कानुन सम्बत, बौद्धिक र तार्किक निष्कर्ष सहितको पत्र सरकारलाई पठाएर प्रदेश राजधानी माग गरेको पत्रकार सम्मेलनमा नगरउपप्रमुख भण्डारील बताइन् । ‘वातावरणीय, भौगोलिक अवस्था र पूर्वाधारको आधारमा सबैभन्दा उत्कृष्ट धरान नै छ’, उनले भनिन् । प्रदेश सभा र प्रदेश सरकारको लागि कार्यालयहरु राख्न सकिने पूर्वाधारको अवस्थाको विषयमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । प्रदेश सभाको सचिवालय, सभाहल, सभामुख र उपसभामुखको कार्यालय, मन्त्री निवास, मन्त्रालय राख्न सकिने विकल्पसहितका आधार धरान उपमहानगरले प्रस्तुत गरेको छ । जसअन्तर्गत धरान ८ को सभागृहलाई प्रदेश सचिवालयको सचिवालय र सभाहललाई उपयुक्त स्थान रहने जनाएको छ । त्यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरभित्र रहेको निर्वाणा कन्ट्री क्लबको भवन सभामुख र उपसभामुखको कार्यालयसहित मन्त्रीको कार्यालय राख्न उपयुक्त हुने भनेको छ । मन्त्रीहरूको कार्यालय राख्नको लागि भने नेपाल टेलिकम, मालपोत तथा नापी कार्यालयको भवन, क्षेत्रीय हावापानी कार्यालय, पब्लिक भवन, पुरानो बजारमा रहेको अस्पताल अध्यापनको लागि तयार पारिएको भवन लगायत अरू पनि विकल्प सहितको स्थान तोकिएको छ । प्रदेश १ को मन्त्री स्तरीय पहिलो बैठक बस्न पनि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनस्र्थापना केन्द्र उपयुक्त हुने बताइएको छ । ‘विराटनगर र धरानमध्ये एउटा हुने भनिएको छ, त्यसैले धरान नै पार्नका लागिसबैले लविङ सुरु गर्नुप¥यो’, उपप्रमुख भण्डारीले भनिन् । धरानका राजनीतिक दलहरूको संयुक्त बैठकले धरानलाई राजधानी बनाउन आआफ्नो तह र तप्काबाट लागिपर्ने समेत प्रतिबद्धता जनाएका छन् । संयुक्त बैठकद्वारा सो कुराको निर्णयसमेत गरेर अघि बढेको नेकपा माओवादी केन्द्रका चोत्लुङले बताए । ‘प्रादेशिक मन्त्रालयका लागि भौतिक संरचना र प्रशस्त सरकारी जमिन यही छ’, उनले भने । करिब ४५ लाख मानिसको बसोबास रहेको १ नं. प्रदेशको राजधानीका लागि धनकुटा, इटहरी, गोठगाउँ र विराटनगरले पनि लविङ थालिसकेका छन् । धरानलाई प्रदेशको राजधानी बनाउन ‘धरान प्रदेश नं. १ को राजधानी बनाउ अभियान स्वतन्त्र समिति गठन भएको छ । समितिमा राजनीतिक दलका नेता कार्यकता, सामाजिक संघ–संस्थाका पदाधिकारी, अधिकारकर्मी र व्यवसायी समेत छन् । नेकपा माओवादी केन्द्र सदस्य अइन्द्रविक्रम वेघाको संयाजकत्वमा बनेको समितिमा सह संयोजक हिमाल राई, सचिव श्याम पोखरेल, सहचिव ताजुवकुमार लिम्बू, कोषाध्यक्ष विजय डाँगा रहेका छन् । सदस्यहरुमा व्यवसायी खजाञ्चीदास अग्रवाल, महिला सञ्जालकी अध्यक्ष शिला बज्राचार्य, अधिकारकर्मी राधिका गजमेर, शिवकुमार राई, युनिस रानामगर, शशि शाह, डम्बर गुरुङ, गिरिधारी सापकोटा र पवन अग्रवाल रहेका छन् । मागलाई अझ बुलन्द आवाज दिई केन्द्र समक्ष पु¥याउन समिति गठन भएको पत्रकार सम्मेलनमार्फत् संयोजक बेघाले जानकारी दिए । ‘धरान सबै हिसाबले उपयुक्त छ, कुनै कुराले पनि कमी छैन, त्यसैले हामीले आन्तरिक रुपमै आ–आप्mनो तर्फबाट माथिसम्म कुरा चलाइरहेका छौं’, उनले भने । धरानलाई विकल्पको रुपमा हेरिए धरानेवासी हात बाँधेर बस्ने अवस्था नरहेको उनको भनाइ थियो । राजधानी बनाउन विशेष आधारहरुको पहिचान गराई राजधानीका लागि पहल गर्न जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने सहसचिव ताजुब लिम्बूको भनाइ छ । स्वतन्त्र समितिले जनदबाव सिर्जना गर्नका लागि पुस ४ गते भानुचोकको लोकतान्त्रिक चौतारीमा भेला प्रदर्शन गरी राजनीतिक दलहरुको प्रतिबद्धतासभा निर्णय गरेको सचिव श्याम पोखरेलले बताए । प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरेअनुसार हुने संवैधानिक व्यवस्था छ । कुन स्थानमा राजधानी उपयुक्त होला भन्ने अन्योलताकै नै छ । प्रादेशिक मन्त्रालयका लागि भौतिक संरचना र प्रशस्त सरकारी जमिन हुनुपर्छ । प्रदेश नं. १ को राजधानीका लागि धरान, धनकुटा, इटहरी, गोठगाउँ र विराटनगर चर्चामा छन् । हिमाल, पहाड र तराई क्षेत्र मिलाएर बनाइएको यस प्रदेशको सबै जातिको बसोबास छ । उच्च हिमाली जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु, पहाडी जिल्ला उदयपुर, खोटाङ, ओखलढुङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम साथै तराईका जिल्ला झापा, मोरङ, सुनसरी मिलेर यो प्रदेश निर्माण गरिएको छ ।

धराने नेताका प्रतिबद्धता यस्ता थिए दोस्रो चरणको स्थानीय चुनावमा भाग लिएका राजनीतिक दलका उम्मेदवारहरुले धरानको नयाँ आवश्यकता र चाहना अनुसार चुनावी एजेण्डा नै यसैलाई बनाएका थिए । धरानका प्रमुख दलका सबै उम्मेदवारहरुको साझा निश्कर्ष के छ भने विगतमा रौनक देखिएको धरानको साख क्रमशः गुम्दै गइरहेको छ । र, अब धरानको साख पुनस्र्थापित गर्नुपर्ने खाँचो छ । धरानमा मेयरमा निर्वाचित मेयर तारा सुब्बाले धरानको विकास निर्माण साथै धरानलाई राजधानी बनाउन पहल गर्ने बताएका थिए । काङ्ग्रेसका तिलक राईले पनि प्रदेशको राजधानी बनाउन लागिपर्ने बताएका थिए । त्यस्तै, माओवादी केन्द्र–फोरम गठबन्धनका अइन्द्र विक्रम बेघाले प्रदेशको राजधानी बनाएर धरानको साख फर्काउने बताएका थिए । यस्तै, भर्खरै निर्वाचित सांसद जयकुमार राई र प्रदेशसभाका निर्वाचित सांसद प्रदीप भण्डारीले पनि धरानलाई राजधानी बनाउन लाग्ने बताएका थिए । यति मात्रै होइन जयकुमारसँगै चुनाव लडेका अशोक राई, भण्डारीसँग चुनाव लडेका किशोर राईलगायतले पनि धरानलाई राजधानी बनाउने प्रतिबद्धता जनाएका थिए । नेकपा माओवादी केन्द्रको धरान कमिटीले नवनिर्वाचित मेयर तारा सुब्बालाई ज्ञापनपत्र बुझाइसकेको छ । केन्द्रका धरान नगर संयोजक चोत्लुङको नेतृत्वमा गएको टोलीले मेयर तारा सुब्बालाई उनकै कार्यकक्षमा ज्ञापनपत्र बुझाएको थियो । केन्द्रले धरानलाई १ नम्बर प्रदेशको राजधानी बनाउन नगर सभाबाट प्रस्ताव पास गरी नगर सरकारले पहल गर्नुपर्ने माग गरेको छ । यस्तै, धरान नै राजधानी हो भनेर देखाउने उपयुक्त आधार र पूर्वाधार देखाउने अहिले माओवादी केन्द्र भएको छ । उसले सङ्घीय प्रशासनिक पुनःसंरचना समितिमा लिखितरूपमा दाबी पेश गरेको छ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै उसले धरानलाई प्रदेश १ को राजधानी बनाउन उपयुक्त रहेको ठहर गरेको थियो । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मुक्सामहाङ मेन्याङ्बो(मुकेश) को नेतृत्वमा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठसहित धरानका प्रबुद्ध व्याक्तिहरुको प्रतिनिधि मण्डलले यसअघि नै अधिकार सम्पन्न संघीय प्रशासनिक पुन संरचना समितिको अध्यक्ष मन्त्री बस्नेतलाई सिंहदरबारस्थित कार्यकक्षमा भेटी ज्ञापनपत्र बुझाइसकेका छन् । वाणिज्य मन्त्री मिन विश्वकर्माले अभियान चलाउनुपर्ने नै बताउँदै आएका थिए । राज्य पुनर्संरचना समितिले राजधानीको लागि सामान्यतः चारवटा आधारहरुलाई पेश गरेको छ । जस बमोजिम अन्तर्राष्ट्रिय सीमानाकाबाट ५० किलोमिटर टाढा हुनुपर्ने, भौतिक पूर्वाधार निर्माणको लागि पर्याप्त जग्गाको उपलब्धता, यातायातको सुगमता र जलासयको सम्भावनालाई मध्यनजर गरी राजधानी प्रस्ताव गर्ने गरेको छ । यसै आधारमा पनि धरान उपयुक्त रहेको वाणिज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन बिकले बताउँछन् ।

जनता पनि जाग्नुपर्ने धरान–१६ की पूर्णकला ढकाल अभियान चलाउने कुरामा जनता पनि सचेत हुनुपर्ने बताउँछिन् । ‘इटहरी, विराटनगर डुब्छ भनेर सबैलाई थाहा छ तर नेता जनता नै चुप छन् ।’ धरान–९ की विमला श्रेष्ठले जनताले आवाज उठाएपछि मात्रै नेताले कान ठाडो पार्ने बताउँछिन् । ‘जनताले नेता, नागरिक समाजलाई जगाउनुपर्ने बेला आएको छ’, उनले भनिन्, ‘सबैले आवाज उठाउनुपर्छ । ‘यहाँका मुख्य कार्यालय त अन्तै सर्न थालिसके, यहाँका नेता नै दरिलो भएनन्’, धरान–१२ का प्रविन शाक्यले भने, ‘राजधानी बनाउने कुरा त परकै भइहाल्यो नि ।’ तर पनि दलहरूले संयुक्तरूपमा आवाज उठाए सम्भव हुने उनको कथन छ । धरान–१३ विष्णु लिम्बूले अभियान चलाए राजधानी धरान बनाउन सहयोग पुग्ने बताउँछन् ।

ओलीको बोलीः यसो भनेका थिए भाषणमा एमालेका अध्यक्ष केपी ओलीले प्रदेश नम्वर १ को राजधानी इटहरीलाई बनाउनुपर्ने बताएका थिए । इटहरी उपमहानगरपालिकाको प्रथम नगर परिषदको उद्घाटन सभामा उनले भनेका थिए–‘धरान साँघुरो छ, विराटनगर भद्रगोल भइसक्यो, अव इटहरीमा राजधानी बनाउन उपयुक्त छ ।’ इटहरी उपमहानगरपालिकाको स्थानिय तहको निर्वाचन ताका एमालेको उपमहानगरलाई प्रदेशको राजधानी बनाउने उल्लेख गरेको थियो । उनले प्रदेश नम्वर १ को राजधानी बनाउन आवश्यक पर्नेे पूर्वाधारको गुरु योजना बनाएर विकास गर्नुपर्ने धारणा राखे । उनले भने, ‘राजधानी बनाउने मात्रै भनेर हुँदैन । शिक्षा, स्वास्थ्य, सडक, यातायातलगायतका पूर्वाधार कहाँ कसरी बनाउने हो, त्यसको गुरु योजना बनाउनु पर्दछ ।’ गुरु योजना बनाउने दायित्व यहाँका जनप्रतिनिधीको भएको भन्दै विकासमा राजनीति नगरी योजना बनाउन र विकास निर्माणमा लाग्न उनले सुझाए । ओलीले भने,‘इटहरीबाट नजिकै बराहक्षेत्र धाम छ, यही आसपासमा बोटिङ, ¥याफ्टिङ गर्ने ठाउँ छन्, भुगोलले पनि साथ दिएको छ ।’

किशोर राई भन्छन्–राजधानी बनाउन ४१ वटा त निवेदन नै परेका छन्, प्रधानमन्त्री देउवा आउँदा ज्ञापनपत्र दिएका थियौं

नेपाली काङ्ग्रेसका नेता किशोर राईले विगतदेखि अहिलेसम्म धरानलाइ एक नम्बर प्रदेशको राजधानी बनाउन धराने जनताको तर्फबाट मन्त्रालय र आयोगमा ४१ वटा त निवेदन परिसकेको बताएका छन् । कांग्रेसको पहलमा उद्योग वाणिज्य संघ लगायत आफुहरुले धराने जनताको तर्फबाट धरानलाइ राजधानी बनाउन इमानदार प्रयास गरेको जारी राखेको बताए । ‘वाणिज्य मन्त्री मिन विश्वकर्माले काठमाण्डौंमा गर्नु भएको अथक मेहनत र खेल्नु भएको प्रभावकारी भूमिकाले गर्दा आयोगमा एक नम्बर प्रदेशको प्रस्तावित राजधानीको रुपमा धरानको नाम दर्ज भएको नै छ ।’ उनले भने । धरानलाई राजधानी बनाउन धरानको ऐतिहासिक आधार, भौतिक पूर्वाधार, भौगोलिक अवस्था, मौसम र यातायातको हिसाबले सबैको सहज पहँुचमा रहेको स्थान भएकाले धरान उपयुक्त भएको उनको कथन छ । नेपाली कांग्रेस धरान उपमहानगर तथा क्षेत्र नम्बर १ सुनसरीले धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग यसअघि नै गरिसकेको उनले बताए । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष विकास निर्माणसम्बन्धी २० बुँदे ज्ञापत्रपत्र बुझाउदै कांग्रेस धरान तथा क्षेत्र नम्बर १ कमिटिले यस्तो माग गरेको उनको भनाइ छ । भौगोलिक अवस्थिति, अनुकुल हावापानी, शिक्षा, स्वास्थ्य, सडक, प्रशासनिक सुगमता लगायत आवश्यक पूर्वाधारहरु पर्याप्त भएकोले धरान प्रादेशिक राजधानी हुन उपयुक्त भएको ज्ञापनपत्रमा उल्लेख छ । साथै, प्रदेशको केन्द्र भागमा रहेको र पूर्वाग्राहीतवरले विगतमा यहाँबाट विभिन्न सरकारी कार्यालयहरु हटाइएकोले पनि त्यसको क्षतिपूर्ति स्वरुप प्रदेशको राजधानी बनाउन माग गरिएको छ । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति पार्टीको नगर भेलामा सहभागी हुन धरान आएका बेला यस्तो माग गरिएको थियो ।

निर्वाचित सांसद आफू अनुकुल पार्न खोज्दै इटहरीः प्रदेशसभामा निर्वाचित सांसद प्रादेशिक राजधानी आफूअनुकूल स्थानमा राख्नुपर्ने भन्दै आन्दोलन तताइरहेका छन् । प्रदेश १ को राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ बनाउने भन्ने विवाद छ । यसै विषयलाई लिएर तीनवटै ठाउँमा चर्किएको आन्दोलनमा प्रदेशसभा सांसदको भूमिका अग्रणी छ । प्रदेश राजधानी बनाउनुपर्ने माग राखेर मोरङको विराटनगर र गोठगाउँ, सुनसरीको इटहरी र धनकुटामा अहिले दिनहुँ प्रदर्शन भइरहेका छन् । ती सबै प्रदर्शनमा एमएलएहरू सहभागी भएर चर्का भाषण गरिरहेका छन् । एमालेबाट मुख्यमन्त्री दाबी गरिरहेका जीवन घिमिरे, कांग्रेसका केदार कार्की र संघीय समाजवादी फोरम नेपालका जयराम यादवले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई भेटेर विराटनगरलाई राजधानी बनाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन् । यी तीनैजना प्रदेशसभातर्फ मोरङबाट विजयी सांसद हुन् । प्रजिअ आचार्यमार्फत मोरङका एमएलएले सरकारलाई बुझाएको ज्ञापनपत्रमा प्रदेश नम्बर १ को राजधानी बनाउन सबैभन्दा उपयुक्त स्थान विराटनगर भएको जिकिर गरिएको छ । निर्वाचनमा मत माग्दा पनि राजधानीलाई अजेन्डा बनाएका मोरङ, सुनसरी र धनकुटाका सहरी क्षेत्रका प्रदेशसभा सांसदलाई ‘राजधानी’ आफ्नो आधार क्षेत्रमा तान्न दबाब परेको छ अहिले । ‘राजधानी बनाउन जनता पनि सडकमा उतार्न तयार छौं,’ कांग्रेसका एमएलए कार्कीले भने, ‘विराटनगरलाई राजधानी घोषणा गनुपर्छ सरकारले ।’ सुनसरीबाट प्रदेशसभा सांसदमा विजयी नेताहरूले राजधानीलाई आफूहरूको ‘राजनीतिक भविष्य’ सँग जोडेर हेर्न थालेका छन् । प्रदेश १ का सबै क्षेत्रका लागि सुनसरी नै पायक पर्ने भन्दै उनीहरूले राजधानी पनि आफ्नै आधार इलाकामा राख्न लबिङ तीव्र पारेका छन् । सुनसरी २ (ख) बाट प्रदेश सांसदमा विजयी कांग्रेस नेता राजीव कोइरालाले इटहरीलाई प्रदेशिक राजधानी बनाउनुको विकल्प नभएको बताए सुनसरी २ (क) बाट प्रदेशसभा सांसदमा विजयी एमाले नेता सर्वध्वज साँवाले इटहरीलाई प्रदेश १ को राजधानी बनाउन सक्रियता बढाएको बताए । ‘प्रदेशसभाको पहिलो बैठक कहाँ बस्ने टुंगो छैन,’ उनले भने, ‘राजधानी इटहरीलाई बनाउन पहल र प्रयत्न हरेक ढंगले जारी छ ।’ प्रदेश १ को राजधानी धनकुटा बनाउनुपर्ने माग राखेर त्यहाँ दिनुहँ प्रदर्शन भइरहेको छ । आन्दोलनमा भर्खरै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित पनि सहभागी भइरहेका छन् । धनकुटामा शुक्रबारबाट सुरु भएको राजधानी बनाउने आन्दोलनमा प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्यहरू निरन राई र ईन्द्रमणि पराजुली सहभागी भइरहेका छन् । यस्तै, प्रदेशसभाका निर्वाचित धरानका प्रदीप भण्डारी, भोजपुरका शेरधन राई, सुनसरी क्षेत्र नं. ४ का सांसद भीम आचार्य पनि आ–आप्mनै लविङमा छन् ।

धरानः प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश नं १ को राजधानी धरान बनाउन एक मन्त्री आफैंले ज्ञापन पत्र बुझाए थिए । राजधानीका लागि धरान नै उपयुक्त भएकोले नेपाली कांग्रेसका नेता तथा वाणिज्य मन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । यस क्षेत्रका स्थानिय नेता, कार्यकर्ता तथा वद्धिजिवीहरुसँगै ज्ञापन पत्र वुझाउन प्रधानमन्त्रीकोमा पुगेका मन्त्री विश्वकर्माले धरानलाई कुनैपनि हालतमा राजधानी बनाउनुपर्ने भनेका थिए ।

(लेखक माअाेवादी केन्द्रका धरान उपमहानगर संयाेजक हुन्)