म मेरी सानी छोरीलाई ‘तपाईं’ भनेर सम्बोधन गर्छु । हामीले जे भन्यो त्यही सिक्ने र त्यही गर्ने वालवालिकाको वालसुलभ मष्तिस्क हुन्छ । त्यही कुरा ख्याल गरेर उनलाई ‘तपाईं’ भन्दै अरुलाई ‘तपाईं’ भन्न सिकाउनु पर्छ भनेर उनी जन्मनु भन्दा वर्षाैै अघि नै मनन् गरेको कुरा लागू गरिरहेको छु । तर यो कुरा त्यस्तो अचुक र नौलो कुरा भनें होइन । म चाँही अरु भन्दा जान्ने भएर भनेको पनि होइन । तर मैले यो समाजका ग्रामिण मात्र नभएर सहरी वस्तीहरुमा पनि वालवालिकालाई कसरी राम्रा कुरा सिकाउने भन्ने कुरामा समस्या देखिरहेकाले यो कुरा गरिरहेको हो । खेल खेलाउँदै पढ्न सिकाउने मन्टेसोरी शिक्षण विधिले वालवालिकालाई कसरी असल कुरा सिकाउने भन्ने सिकाई आत्मसाथ गरेको हुन्छ । पूर्व प्राथमिक विद्यालयका रुपमा प्रसस्त मात्रामा खडा भएका मन्टेसोरी मध्ये मैले केही मन्टेसोरी विद्यालयको अवलोकन गरेको छु । यसै प्रसंगमा मेरै नगरी पथरीशनिश्चरेमा रहेका क्यापरोज, ज्ञानकुञ्ज, सिडलिङ तथा अन्यत्रका समेत मन्टेसोरी समेत नियाल्ने क्रममा पछिल्लो पटक सिडलिङ मन्टेसोरीको अभिभावक भेलाको जमघटमा आमन्त्रित भए । त्यसअघि मैले बुझेको र त्यस कार्यक्रमपछि मनन् भएका विषय र प्रसंग उल्लेख गर्नु आम वाललालिका र तिनका अभिभावकका लागि सान्दर्भिक ठानेको हुँ । भेलामा भेटिएका इटहरीस्थित सीटीएफ नेपाल पूर्वाञ्चल संयोजक डिल्ली निरौलासँगको भेटले मलाई थप उर्जाशिल बनाएको समेत प्रसंग हो यो । वालवालिकाको मनोविज्ञान अध्ययन गरी उनीहरुलाई सरल तरिकाले सिकाउने मन्टेसोरी विधिको सिकाईमा उनी केन्द्रीत थिए । आफ्ना छोराछोरीलाई कसरी के सिकाउने भन्ने उनका व्यवहारिक कुरा मलाई निकै घतलाग्दा लागे । म पनि मन्टेसोरीमा औपचारिक ज्ञानसँगै व्यवहारिक जीवन सिक्दै गरेकी छोरीको अभिभावकको नाताले मैले यी सवै कुरा मेरी छोरीसँग जोड्दै सम्झिदै गएँ । वालवालिकालाई सवभन्दा पहिले राम्रा एवम् असल कुरा सिकाउनका लागि घरपरिवारका मानिसले सोहीखाले व्यहार गर्नुपर्छ । झर्किने, रिसाउने, गाली गर्ने, पिट्ने जस्ता व्यवहार प्रदर्शनले वालवालिकाले पनि त्यही सिक्छन् । खाली तथा उत्सुक दिमाग भएका उनीहरु काँचो माटो हुन्, जसलाई जस्तो आकार दिन पनि सकिन्छ । राम्रो आकार दिने कुशल कुमालेको काम हो अभिभावकको भूमिका । वालवालिकालाई सानै उमेरदेखि उनीहरुले सक्ने काम सिकाउन थाल्नु पर्छ । सानैछ उसले सक्दैन भनेर भन्दै गइयो भनें ठूलो हुन्जेलसम्म उसले केही गर्दैन । ठूलो भइसकेपछि सिकाउन खोजियो भनें पहिले त उसले टेर्दै टेर्दैन । दवावमा काम लगाउन खोजियो भनें पनि उसको सिक्ने वानी नै नभएर समस्यामा पर्छ । उसलाइ सिक्न ज्यादै गाहे हुन्छ । सानोमा सक्दैन, जान्दैन भनेर पन्छाएपछि उनीहरुले ठूलो भएपछि त्यो काम सिक्दै सिक्दैनन् । यसकारण ३ वर्षको उमेर भएदेखि नै उसले बुझ्ने र सक्ने कुरा सिकाउँदै जानुपर्छ, सिक्ने अवसर दिनुपर्छ । सामान्य काम पनि सिकाउँदै गर्नुपर्छ । अहिले कतिपय छोेराछोरीहरु एसएलसी सकिसक्दा पनि चिया समेत पकाउने नगरेको देखिन्छ । नकारात्मक असरै पर्ने हिसावले चाँही होइन तर जीवनलाई बुझ्दै जाने हिसावले उनीहरुलाई दुःख र संघर्षको कुरा पनि थोरै थोरै सिकाउँदै जानोस् । घरको आफ्नो आर्थिक अवस्था पनि सिकाउनु पर्छ । मैले यसरी कमाई गरेर, दुःख गरेर पढाएको छु भन्ने कुरा नानीहरुलाई बुझाउन सक्नु पर्छ । सँग सँगै इमान्दारिताको पाठ सिकाउनु त आजको झनै टड्कारो आवश्यकता हो । स्कूलबाट घर आएपछि उनीहरुलाई तत्काल कपडा फेर्न लगाउने र फेरेको कपडा मिलाएर एक ठाउँमा राख्न लगाउनु होस् । हेंगर छ भनें उनीहरुले भेट्ने ठाउँमा झुण्ड्याइदिएर त्यहाँ मिलाएर राख्न लगाउनुहोस् । जस्तै पहिलो अड्काउने किलामा सर्ट, दोस्रोमा पाइन्ट, तेस्रोमा गञ्जी राख्न लगाउनुहोस् । यही क्रममा सधैं कपडा राख्ने वानी वसाइयो भनें जथाभावी काम गर्ने तथा कुनै कुरामा केयरलेस गर्ने वानी हट्छ । सक्ने हुन थालेपछि आफ्नो कपडा आफैं धुन लगाउनुहोस् । घर सफा गर्न लगाउनुहोस् । फकाएर, कथा सुनाएर, गीतको शैलीमा नाचेर र नाँच्न लगाएर यी सवै कुरा सजिलै गराउन सकिन्छ । जस्तै, एउटा कथा सिर्जना गरी कपडा धुने कुराका लागि आफु जलदेवता वन्ने र नानीलाई किसान बनाउने । जल देवताले माथिबाट पानी हालिदिने र किसानले तल कपडारुपी खेतमा पानी लगाउने गरेर कपडा धुने खेल शैलीको कामले उनीहरुलाई त्यसो गर्न रमाइलो लाग्छ र यसो गर्दा गर्दै उनीहरु त्यो काम गर्न वानी हुन्छन् । फकाएर, कुरा बुझाएर कुनै पनि कुराको वानी हुन २१ दिन लाग्छ । नानीहरुबाट सानो गल्ती भयो भनें त्यसलाई ठूलो नवनाउनुहोस् । यस्तो गल्तीले यस्तो असर पर्यो भनेर सम्झाउनुहोस् । मानौं, चक्कुले हात काट्यो भनें त्यसलाई अति सामान्य नै बनाउनुहोस् । यसलाई गम्भीर बनाएर चक्कुको छेउ नै पर्न दिनुभएन भनें उसले चक्कुसँग डराएरै चक्कु नै छुँदैन । तर चक्कुले एकपटक हात काटेको छ भनें उसले जीवनमा कहिल्यै विर्सदैन र सावधानीपूर्वक चक्कु चलाउने ज्ञान पस्छ । कुनै सामान वच्चाले हरायो भनें त्यसलाई पनि ठूलो रडाको मच्चाउने काम नगर्नाेस् । हरायो भैगो चिन्ता नलेउ भनेर तत्काल सान्त्वना दिने । केही दिनपछि मैले कति दुःख गरेर जोडेको सामान हरायो के गर्नु अव मैले फेरि कसरी त्यो सामान किन्न सक्छु र भनेर वच्चलाई गाली नगरी बरु आफैं एक्लै रुनुहोस् । त्यसपछि उसलाई मैले ठूलो गल्ती गरेंछु भन्ने आफैं पर्छ र उसले अवका दिनमा सामान जतन गर्ने वानीको विकास हुन्छ । मानिसको जीवनमा हराएको सामान खोज्दा जीवनको २ वर्ष समय नास हुन्छ र त्यसले ५ वर्षससम्म तनाव दिन्छ । घरका परिवारका सदस्यलाई घरमा नभएको बेला पनि उस्को भाग छुट्याएर राखेको वच्चाले देखुन् । अनि मात्र वाँढेर खानुपर्ने कुराको वढी ख्याल हुन्छ । साथीहरुलाई पनि केही वाँढेर खानु पर्छ भन्ने सिकाउनुहोस् । नत्र क्याम्पस पढ्न अथवा जागिरका लागि अन्त साथीसँग डेरा वस्नु पर्दा पनि कि खानेकुरा लुकाईरहने र खानै परेपनि लुकाएर खाने कुरा त्यो उमेरमा निकै अव्यवहारिक वानीले सताउँछ । केटाकेटीसँग नराम्रा शब्द प्रयोग गर्दै नगर्नुहोस् । अनि अर्काे कुरा सिस्टमलाई सिकाउनुहोस् । आज उसले कल गरेर चाहिने भन्दा धेरै कुरा माग्यो भनें उसलाई दिएर वानी नपार्नुहोस् । चाहिने भन्दा वढी दिनु भयो भनें उसको जिद्दीले ठाउँ पाउँदै गयो भनें उ कुनै कुरामा सहमत नहुने जिद्दी वानीको विकास हुन्छ र त्यसले उसको जीवनमा जिद्दीपनले धोका दिलाउँछ । गाली गरेर त कोही पनि मान्न तयार हुँदैन । डर देखाएर क्षणिक रुपमा प्रभाव पार्न सकिएला तर दीर्घकालीन रुपमा स्वतस्फूर्त वानीको विकास गराउन सकिदैन । गाली गरेर र कुटेर उसलाई नकारात्मक असर पर्छ र तपाईलाई उस्ले कहिल्यै पनि सकारात्मक रुपमा लिँदैन । मानौं त हात्तीलाई उ सँगसँगै झगडा गरेर आफ्नो नियन्त्रणमा लिन सकिदैन । तर एउटा लुरे मान्छेले उसको मनोविज्ञान वुझेर उसलाई फकाउँदै माउतेका रुपमा गजवले नियन्त्रणमा लिएको हुन्छ । अरुका छोराछोरी कस्ता ज्ञानी छन्, हाम्रा त यस्ता छन् भनेर अरुसँग तुलना गरेर आफ्ना छोराछोरीलाई कहिल्यै वेकामे नवनाउनुहोस् । वालवालिकाले आफुलाई नराम्रो बनाएको कुरा कहिल्यै स्वीकार्ने मनस्थिती हुँदैन । त्यसो गरियो भनें उनीहरुले राम्रो कुरा सिक्दैनन्, झन थेत्तरो बन्छन् र दिमागमा नकारात्मक असर पर्छ । उनीहरुको उमेर मात्रै सानो हो तर स्वाभिमान र इच्छा सानो हुँदैन । तपाई विचार गर्नुहोस् न, सानो टुक्रो स्याउ दियो भनें उसलाई त्यो भन्दा ठूलो टुक्रा चाहिन्छ । खाना पनि ठूलो थालमा चाहिन्छ । त्यस्तो बेलामा ठूलौ दिनुहोस र विस्तारै सम्झाउँदै जानुहोस् उस्ले त्यो बानी छोड्छ । अरु पढेर पुरस्कार ल्याउछन्, यसले चाँही खेलेर ( खेलकुदमा) पुरस्कार ल्याएर के काम र भनेर कहिल्यै नभन्नुहोस् । कसैलाई पढाईमा वढी र कसैलाई खेलकुद, गीत संगीत र सृजनशिलतामा बढी रुची हुनसक्छ । प्रत्येक वर्षको एसएलसीमा बोर्ड फष्ट भएका सवै मानिस जीवनका गतिविधिमा प्रख्यात छन् र ? पढाई र व्यवहार भन्ने कुरा उस्तै होइनन, धेरै फरक कुरा हुन् । यसकारण पढाई भनेको ज्ञान मात्र हुनसक्ला । तर जीवनमा ज्ञान, शिप, संस्कार र जिम्मेवारी व्यवहारले सिकाउँछ, अभिभावकले सिकाउँछन् अनि समाजले सिकाउँछ । यो कुरा मन्टेसोरी विधिले सिकाइरहेको छ । यिनै कुराहरुमा डिल्ली निरौलासँग छलफल भयो । मेरो अवधारणाको सृजनशिलताका गतिविधिका कुरालाई जोडेर गाउँ वस्तीमा वालवालिका र तिनका अभिभावकलाई यसखाले कार्यशाला सञ्चालन गर्ने काममा मैले मेरो भूमिका अघि बढाउने थप योजना बनाएको छु । अहिलेको पछिल्लो पुस्ता प्रविधियुक्त समयले हामीभन्दा कैयौं गुणा जानकार हुन्छन् । तर त्यो जानकारी अहमतामा परिणत भयो भनें उनीहरुले हामी कोही पनि अभिभावकलाई आफुभन्दा नजान्ने बेवकुफ ठानेर हामीलाई स्वीकार्ने छैनन् । यदि वालवालिकालाई लापरवाह छोडिउँ र आफुहरु पनि उनीहरु सामु लापरवाही गरिरह्यौं भनें अवको पुस्ता असल ज्ञानयुक्त, शिपयुक्त, संस्कारयुक्त र जिम्मेवारीयुक्त वन्न निकै गाहे छ ।