मैले भर्खरैजसो साहित्य लेखन अगाडि बढाउँदै थिएँ । लेख्ने रहरमा सिर्जना भएका रचनाहरु सुनाउन जहाँ पुग्नु परेपनि नथाक्ने मन थियो । नाटकहरु गर्दै कविता, गीत, मुक्तक लेख्ने क्रममा थिएँ । गजल भर्खरैजसो लेख्न थालेको अवस्थामा दमकमा ‘कोठे साहित्य यात्रा’ नामक संस्था रहेछ । पथरीकी विमला तुम्खेवाले त्यहाँ पुर्याइन् । दमकको पुरानो बजारमा आचार्य प्रभा र केशव आचार्य दम्पत्तीको घरको कोठामा कोठे साहित्यिक गतिविधि हुँदो रहेछ ।

पूर्वमा चर्चामा रहेको साहित्यकारका रुपमा प्रभा दिदी त्यो बेला नै चिनिनुहुन्थ्यो । उहाँ गजलकार र गीतकारका रुपमा चिनिएको मान्छेसँग भेट हुँदा निकै खुसी लाग्यो । ०५३ सालताका दिदीको शब्दमा पवित्रा सुब्बाले गाएको ‘पाएँ मैले चिठ्ठी तिम्रो प्रेमको निशानी’ ले उहाँलाई चिनाएको थियो । यी सामान्य कुरा जानकारी पाएको म, विमला, सुमन राई, रोहित पराई समेत पथरीबाट प्रत्येक महिनाको अन्तिम शनिवार कोठे साहित्य यात्राको साहित्यिक भेटघाटमा सहभागी हुन थालेका थियौं । प्रभा दिदीकै अगुवाईमा ०५२ सालदेखि काठे घरको कोठामा भेला भएर मुख्यत हामी गजल लेख्नमा बढी आकर्षित बनेको समय थियो । घरको एउटा कोठामा भेला भएर सृजना सुन्ने र सुनाउने काम भएकाले नामै कोठे साहित्य यात्रा रहन गएको थियो । दिदीले पनि भर्खरैजसो गजल लेख्दै हुँनुहुँदोरहेछ । त्यो बेला मैले जान्दा पूर्वी मोरङ र पश्चिम झापामा साहित्यिक गतिविधि हुनेस्थलका रुपमा कोठे यात्रा नै थियो । त्यहाँ पुगेर आफ्ना रचना सुनाउन पाउँदा हामी निकै ठूलो उपलब्धि हाँसिल गरेको अनुभूति संगाल्थ्यौं । विमलाले हामीलाई थप उत्साह भर्थिन् । जति टाढाको साहित्यिक कार्यक्रममा जानुपर्दा पनि कता कताबाट खर्च जुटाउँथिन र हामीलाई जान उत्प्रेरित गर्थिन् ।

त्यो बेला कोठे यात्रामा गणेश सम्पाङ ( रवि, पाँचथर) , शरण सुब्बा, खिन्द्र घिमिरे, प्रदिप घिमिरे, ( हाल काठमाडौंका पत्रकार), धनकुटे कान्छा, लोकेन्द्र बञ्जारा सहितका उर्जाशिल श्रष्ठाहरुसँग भेट हुन्थ्यो । पछिल्लो समयमा प्रकाश आङ्देम्बे सहितका साथीहरु पनि सहभागि भए । दमकका साहित्य कला संगम र प्रतिभा निकेतन पछि जन्मिए । त्यसअघि गोविन्द भट्टराइहरुको अगुवाईमा केही साहित्यिक गतिविधि भएका थिए । त्यसपछाडिको खाली समयमा साहित्यिक उर्जा भर्ने काम कोठेले गर्न पुग्यो । यात्रा लामो समयसम्म जारी नरहेपनि यसको मासिक श्रृंखलाको योगदान निकै महत्वपूर्ण रह्यो । मैले पनि त्यो संस्थालाई आफ्नो साहित्यिक यात्राको गुरु ठानेको छु । त्यसपछि केही संस्थाहरुबाट साहित्यिक गतिविधि भइरहेपनि त्यो बेलाको इतिहाँस मनमा गढिरहेको बेला पढ्न छात्रबृत्ति पाएर गएका छोरीहरुका साथ प्रभा दिदी अमेरिका बस्न थाल्नु भयो । बीचमा दमक आएको बेला १,२ पटक बाहेक उहाँसँग भेट हुन पाएन । १४ वर्ष अमेरिका बसाईपछिको १ वर्ष दिदी र भिनाजु दमकमै हुनुहुन्छ । उहाँहरु अमेरिकाको कोलोराडोमा बसेर साहित्यिक गतिविधिमा निरन्तर सरिक भइरहनु भएको थियो । भेना केशवले त्यति लेख्न छोड्नु भएपनि उहाँको साहित्य मोह औधी छ । कोठेको स्थापनाकालदेखिको हिसाव गर्ने हो भनें ठ्याक्कै २२ वर्षपछि मोति जयन्तीको सन्दर्भ मिलेर ०७४ भदौ ३ गते हामी फेरि प्रभा दिदीकैमा कोठे साहित्यिक यात्राको सम्झनामा ठूलो कोठामा एकाकार भयौं । मोति जयन्तीको अवसरमा साहित्य कला संगमले दिउँसो गरेको कार्यक्रममा अतिथि रहनु भएकी दिदीले सवैलाई त्यहीँबाट साँझमा आफ्नो निवासमा सृजनाभलाकुसारीको निम्तो दिनुभयो । एउटा मीठो अतित र स्मरणीय इतिहाँसको नाममा हामी साँझमा भेला भयौंं । त्यो बेलाको कोठेको काठेघर त्यहाँ थिएन । त्यसको पश्चिमउत्तरमा पक्का घरमा हामी त्यो यात्राको स्मरणमा रमायौं । राती १ बजेसम्म हामी गजल, गीत सहितका गतिविधिमा रमाउँदै समय वितायौं । कोठेका त्यो बेलाका सहयात्रीमध्ये म, रोहित पराई र लोकेन्द्र बञ्जारा यो बेला सहभागि भएका थियौं । साथमा थिए विन्दु दहाल, विवश वलिभद्र कोइराला, जय आचार्य, घनश्याम पथिक, विष्णु न्यौपाने, विमला चिमोरिया, सोमु शेर्पा, युवराज काफ्ले, कुशल, धनकुटाका रोशन परियार, खगेन्द्र खिलाफी, इटहरीका सानु कार्की लुरेहरु । नव युवा पुस्ताका साथीहरुको दमदार गजल सामु हामीले उही इतिहास भँजाएर मात्र गजलकारको इज्जत जोगाउन हम्मे पर्यो । केशव भेनाका भाई मिशाल बजार सञ्चालक मनोज र बुहारी मञ्जिता पनि सामेल भएर सृजनाको रसास्वादनमा रमाए ।

पारिवारिक भलाकुसारी पनि भयो । अव केही महिनामा अमेरिका जाने र आउँदै जाँदै गर्ने कुरा दिदीले सुनाउनु भयो । त्यो बेलाको इतिहास बोक्नु भएका भेनालाई पनि साहित्यिक लेखन जारी राख्न हामीले अनुरोध गर्यौं । त्यो बेला चर्चामा रहेका झापाका २ केशव थिए । माइपारीका दार्इ केशव आचार्य र माइवारीका भेना केशव आचार्य । आफु अलि अल्छि भएको र आफुसँग संग्रह पुग्ने कविता रहेको र अव नियात्रा लेख्ने भेनाले सुनाउनु भयो । त्यो रमाइलो क्षणमा हामी गजल लेख्नेहरुका लागि झनै खुसीको कुरा हाम्रा साथीहरु गजलकै नामबाट पुरस्कृत बन्दै थिए । मोती जयन्तीकै सन्दर्भमा लोकेन्द्र अनाममण्डलीको गजल पुरस्कार र विवश विराटनगरको राजेश्वर रेग्मी स्मृति गजल पुरस्कारबाट पुरस्कृत बन्दै थिए । पूर्वमा गजल अभियानमा सामेल कोठे यात्रादेखि गजल पुरस्कारसम्मको संयोगपूर्ण एउटै भेटले जीवनमा सृजनाको थप उर्जा भर्न पुगेको छ । उर्जाशिल इतिहास, उर्जाशिल समय, उर्जाशिल मान्छेहरुका सामु सधैं उर्जाशिल गतिविधिमा सामेल भइरहन पाइयोस् । यही सृजनात्मक उर्जा नै जीवनका उर्जा हुन्, वास्तविक जीवन हुन् ।