त्यस दिन काठमांडौका लागि ढिला गरी ६ः१५ बजे काँकडभिट्टा (झापा) बाट मेट्रो डिलक्सको रात्रीबस छुट्छ । ३५ सिटे गाडीमा लगभग ६० जनाको यात्रा थियो ।

कोँही आउजाउ गर्ने बाटामै थचक्कै बसिरहेका थिए भने कोही चामलको बोरा माथि  बिराजमान थिए, कोही चाही चमेरो तरिकामा दुवै हातले माथिल्लो डण्डीमा समाएर उभिएका थिए । गाडीमा अधिकांश प्यासेन्जर महिलाहरू थिए ,थोरै पूरूषहरू । कुनै महिलाहरूका साथमा त ३ वटा सम्म काखे बाल बच्चा थिए । मंसिरको महिना, अनि तराईको सिरेटो त्यसमा थप बसको अगाडीको सिसा झारम्- झरूम फुटेकोले प्लास्टिकले टेप लगाएर टाँसेको रहेछ । मधेशवादी दलका धर्ति पुत्रहरूले फुटाएका रे ति सिसा चाहि‘ । अगाडीबाट हावा लिक भइरहेको थियो र चिसोले सबैजना कठ्याङरिएकाे  थिए ।

लालाबाला चाँचाँ र चुँचुँ गर्दै थिए  भने कसै–कसैले चाँही एउटै सिटको टिकट ४ जनासम्मका लागि काटेकाले विवाद गर्दै थिए । खलासी भाई यात्रुहरूलाई जवरजस्ती पछाडी धकेल्दै र कोच्दै थिए भने काउण्डरका टिकट काट्नेहरू अरू मानिस थप्ने सुरमा बोलाउदै थिए । मैले पनि टिकट त २ नम्बर सिटको काटेको थिएँ । तर ९ नम्बरमा बस्नु पर्ने सौभाग्य मिल्यो । बसको गुरूजीको ठूलो भुँडी थियो भने कण्डक्टर चाँही लट्टे कपाल पालेको भुसतिघ्रे थियो । तर खलासी मरञ्च्याँसे थियो । यी सब त त्यस बखतको पृष्टभुमि भए ।

गाडीको गति लगभग ८० को भन्दा कम स्पिडमा थिएन होला सायद  त्यसै बिचमा, पछाडीबाट ३ बच्चावाला की आमा उठेर अगाडी जान्छिन् अनि गाडी रोक्नुका लागि अनुरोध गर्छिन् र आफ्ना बच्चाहरूलाई पिसाब लागेको कुरा बताउँछिन् । “गाडी अहिले रोक्न मिल्दैन, हामी कम्पिटिसनमा छौ” । जगल्टे कण्डक्टर कड्किन्छ, “डिलक्स गाडीमा चड्नेले पानी खानु पहिला सोच्नु पर्दैन” ? ऊ अझ ठूलो स्वरमा बम्किन्छ । ति महिला नाजवाफ भएर पछाडी आफ्नो सिटमा फर्किन्छिन्, मैले पनि बाटामा प्यास लाग्न सक्छ भनेर ल्याएको पानी पिउनै लाग्दा झसँङ्ग हुन्छु, किनकी डिलक्स बसको सिस्टम् त यात्रुलाई पिसाब लाग्दा नरोक्ने पो रहेछ । मैले पिउनै लाग्या पानी पिउदिन ।

लगभग १० मिनेट जति पछि १ जना नेपाली–हिन्दी मिश्रित भाषामा पछाडीबाट तराई मूलको केटो कराउँछ—“हाम्लाई पेसाब लागिरहुको छ , हे गुरूजी तनी गारी रोक्नुस् न” । गुरूजीले नसुनेको झै गर्छन् र प्रतिक्रिया दिदैनन् । यही जगल्टे कण्डक्टर पुन : कड्किन्छ,— त्यो केटो पनि चुपचाप हुन्छ । म त झनै डराउँछु र पानी नै नपिउने निधो गर्छु । हिडेको साँढे २ घण्टा जति भएपछि पेडै पेडा पाउने ठाउँभन्दा थोरै पश्चिम पट्टिको एक धानखेत बिचमा पर्ने होटलमा गाडी रोक्छ ।

त्यस होटल बाहेक अन्य घर नै छैन रहेछ त्यहाँ । सुदुरपुर्व बाट राजधानी चल्ने २ वटा गाडी रोकिरहेको छ त्यस होटलको आँगनमा त्यी गाडी पनि भर्खरै रोकेको रहेछ जस्तो देखिन्थ्यो किनकी त्यहाँ पनि कोहि ओर्लदै थिए, कोही टाउको समाएर वाकवाकी गर्दै थिए नजिकै, कोहि पिसाब लाग्या हुँदा पाइन्टको फर्सनर समाउँदै दौडिरहेको देखिन्थे । म पनि सोहि नित्यकर्ममा दौडन्छु पिसाब गर्न तर सात जना पछाडी मेरो पालो आउने रहेछ त्यसैले लाइनमा बसेँ । पालो त आयो तर झण्डै वमिट गरेको मैले । शौचालय यति भेरै दुर्गन्धित थियो कि भनि साध्य छैन । त्यहा छिर्न नसकेर म पिसाब नगरी अलि भित्र पट्टिको शौचालयमा गएँ, त्यँहा पनि त्यस्तै रहेछ । सबैले ढोका बाहिरबाट गर्ने रहेछन् मैले पनि अफ्ठ्यारो मान्दै बाहिर बाटै मुत्र बिर्सजन गरिदिए ।

हात धोएर छेउको बाटो आउँदा–आउदै भान्साकोठा देँखे । राम्–राम्, हेरिनसक्नु रहेछ त्यो किचन पनि, डुङडुङगै गनाइरहेको थियो । भोलिका लागि काटेर राखेको भण्टा र मुला ओइलाइसकेका थिए । भित्र हाँस्दै काम गरिरहेका कुक मित्रहरूको सरसफाइ त झन् फोहोर उठाउदै हिड्ने नगरपालिकाको कर्मचारीहरू भन्दा भिन्न थिएनन् । झ्यालबाट हेर्दा भित्र हिलै–हिलो देखिन्थ्यो । दुर्गन्ध सहन नसकेर हो कि किन हो १ जना वेटर मुखमा माक्र्स लगाएर सरसमान मिलाउदै थियो । मैले पनि त्यस दुर्गन्ध खप्न सकिन र त्यहाबाट हगाडी बढेर आए र टेबलमा गएर बँसे । १ जना वेटर केटो आएर टेबलमा १ खण्डे थाल थपक्क राखिदियो ।

त्यस थालमा फ्राइ गरेको चाउचाउ – १ डाडु जति टमाटर र मूला मिसाएको अचार, अलिकति खसि–बाख्राको आन्द्राको भुटुवा, १ ठूलो चम्मच जति चिसो पुरी २ वटा अनि मस्यौरा र आलुको झोलवाला तरकारी सानो १ कचौरा थियो । खाजाको कम्मिनेसन हेर्दा लाग्थ्यो कि त्यहा‘ जे–जे बाँकी थिए, ति सबै ल्याएका थिए । मैले यो होटलको सरसफाई चाहि अलि भएन, साँहै फोहोर रहेछ भाई भनेर एकजना लगभग १५ वर्षिय वेटर केटोलाई भने । उसले त मलाई उल्टै खाउँला झै गरि हेर्छ र भन्छ “क्या ल्याङ्ग–ल्याङ्ग गर्ने मान्छे रहेछ यार, भेजा फ्राइ गर्ने साइको, खाने भए खाने , नत्र साइट लाग्ने खु?क्क” उसले भन्यो । म त अचम्ममा पो परे तर पनि नखाउ‘ भने दिन भरीको सिकार खाउ‘ भने कान्छाबा को अनुहार भन्ने लागेर चुप बसे र खान थाले ।

त्यस्तो भोक लागेको बेलामा अघिपछि भएको भए त १ माना बजाइन्थ्यो होला तर त्यस बेला बडो मुस्किलले आधा भन्दा बढी खानै सकिन । खादा–खादै भित्तामा टासिएको होटलको मेनुको फ्लेक्स प्रिन्टमा पर्यो । जहा परिकारको नाम मात्र थिए तर दर लेख्ने ठाउँमा टिपेस्ट लगाएर मेटिएको रहेछ । त्यहा हरियो स्टिकर समेत टाँसिएको रहेछ । म अज्ञानीले त्यो बुझ्न सकिन कि, हरियो स्टिकर त जति धेरै फोहोर छ त्यस्तो होटललाई पो दिने हो कि भन्नेमा । आधा खाएर उठे र पैसा तिर्न लाग्दा साहुजीलाई सोधेँ । उसले ४ नं. टेबुल हैन तपाई भनेर सोध्यो । मैले हो भन्ने जवाफ दिए । यसले क्यालकुलेटर थिच्दै २९० को हिसाब निकाल्यो । म त छक्क परेँ कि, त्यति परिकारको २९० भनेर सुन्दा सबै सामाग्रीको उच्चतम् हिसाब गर्दा पनि सायद त्यतिलाई ?.५० भन्दा बढ्ता पर्दैनथ्यो होला । मैले भने–“त्यति धेरै लिए त ठगी गरेको ठहरिनेछ र प्रशासनलाई उजुरी गर्ने अधिकार हामीलाई पनि छ” भनेर बताए ।

त्यति भन्नासाथ एउटै कान २ ठाउँमा छेडेर बन्दुगको गोली आकारको दुबै कानमा टप लगाएको १ जना दादा जस्तो देखिनेले आएर जोडले मलाई थर्कायो । घिच्ने बेलामा घिच्छस् अहिले पैसा तिर्ने बेलामा बाह«–सत्तरी ल्याङ्ग–ल्याङ्ग गर्छस् भनेर हकार्यो । पर बाट १ जना थप आएर “ठोक न सालेलाई” भनेर झन् थप्यो । म हल्का डराएँ किनकी उनीहरूका पाखुरा नै मेरो तिघ्रा भन्दा ठूला देखिन्थे तर पनि रिस चाहिँ साह« उठ्यो यद्यपि त्यहा बिवाद गरेर रामधुई खानुभन्दा पैसा खटक्क तिर्नै बेस् भनेर पूरै पैसा तिरेर गाडीमा गएर आफ्नो सिटमा बसे । भूँडी हल्लाउदै टुथपीक मुखमा च्यापेर गुरूजी होटलको काउण्टरमा आएको झ्यालबाट देखेँ । उनलाई होटलको साहुले ?.१००० को नोट हातमा थमाईरहेका थिए । म झनै छक्क परे ।

सिटमा ढल्किए‘, गाडी गुड्यो सबैजना खाजाको बिषयमा आपसमा गुनासा गर्दै थिए । मैले पनि कण्डक्टरलाई किन यस्तो फोहोर होटलमा गाडी रोकेको भनेर सोधेँ– उही जगल्टे कण्डक्टरले हातमा लिएको सोप फ्वाँक्क फाँको मार्दै टुथपीक्ले दाँत कोट्यार्उदै जवाफ दिन्छ–‘गाडी किन्ने बेलामा पैसा लगानी गरिदिने साहुजी पो हो त त्यो होटलवाला, हाम्रो साहु र त्यो होटलवाला साहु पार्टनरसिपमा बिजनेस गर्ने गर्या छन् के सोल्टी’ । म त पुरै अज्ञानी पो रहेछु किनकी राजमार्गका अधिकांश ठूला होटलहरूको त ‘चेन बिजनेस’ पो हुने रहेछ , ठूलो संजाल रहेछ त्यहा‘ त । तब त त्यस्ता चुल्ठे मुन्द्रे पालेका रहेछन् अनि एकान्त स्थानमा होटल बनाएका रहेछन् , ता कि त्यस मोटरका कुनै पनि प्यासेन्जरले अरू पसल होटलमा गएर केहि नखाउन् र बाध्यकारी भएर त्यहा जे छ सोही खानु परोस् ।

सिटमा ढल्किए‘, आखाँ चिम्म पारेँ तर त्यस २९० को झझल्को आइरहन्थ्यो । म एकजना मात्र होइन त्यहा त दिनमा कयौ गाडी रोक्दा हुन् अनि म जस्ता सयौ यात्रु ठगिदा‘ हुन् भन्ने मनमा खेलिरह्यो । मोटर आफ्नै गतिमा मिठो आधुनिक गित बजाउदै दौडिरहेको थियो, म निदाउनै सकिन धेरैबेर सम्म तर बाहिर अन्धकार भएकाले  होला कुन ठाउँ आएको चाल पाइदैन थियो । बिहानको १२ः२५ मिनेटमा गाडी घ्याच्च रोकिन्छ । खाना खान सब उत्रिनुस् है खलासी कराउँछ । सबैजना आँखा मिच्दै ओर्लन्छन् कतिपय अघि कै बमिटकाे इपिसोट् पुरा गर्न पट्टी लाग्छन् भने कतिपय ट्वाइलेट तिर । त्यो ट्वाइलेट पनि उही सप्तरीको भन्दा अझ खस्केको । परैबाट गन्ध आइरहेको थियो । कतिपय ट्वाइलेट नगई बाटामै अध्याँरो कुना पट्टि । म खाना खान आउँछु ।

१ जना लगभग १० बर्ष जतिको देखिने कानमा मून्द्रा लगाएको सानो बालक टेबुल पुछ्दै आउँछ । मैले यति सानो बालक अनि यो मध्यरात सम्म काम लगाउने कस्ता शोषक साहु होलान् किन यिनको मनमा दया नभएको होला बालबालिका संरक्षण तथा बालअधिकारको क्षेत्रमा काम गर्नेहरूले पनि किन नदेखेका होलान् जस्ता कुरा एक्कासी मनमा खेल्छ अनि त्यस सानो केटोलाई सोध्छु ‘भाई तिम्रो घर कहाँ हो ’? ‘खाँवा गाड्या ठाउँमा’ उसले ठाडो उत्तर दिन्छ । म छक्क पर्छु । वल्लो पल्लो टबुलमा बस्ने सबै गलल्ल हाँस्छन् म हल्का सर्माउछु । बिहानको १२ः२५ मा त्यो सानो बालक जुठो गिलास—प्लेट उठाउदै किचनमा छिर्छ र अर्कोले खाइरहेको चुरोट मागेर तान्न लाग्छ । म अचम्ममा पर्छु । त्यति सानो उमेरमा जुठो गिलास प्लेट उठाउने काम अनि धुम्रपान । उसलाई चुरोट दिने व्यक्ति चाहि ३५ बर्ष जत्रो देखिन्थ्यो । अचम्म रहेछ त्यहा‘ त किनकी त्यस होटलमा काउण्टरको अगाडी “बालश्रम निषेधित क्षेत्र” भन्ने स्टिकर टाँसेको थियो ।

मेनुमा मासु भातको २२० लेखिएको रहेछ । त्यो खाना पनि लगभग त्यस दिनको होइन भन्नेमा निश्चिन्त हुँदा पनि मगाएर आधा मात्र खान सक्छु । पैसा तिर्न लाग्दा साहुले ३४० माग्छ , मैले २२० भन्दा नतिर्ने अड्डी कस्छु किनकी मेनुमा मूल्य त्यहि छ भनेर । तर “नाकाबन्दीमा २२० मा मासुभात कँहा पाइन्छ” भनेर साहुजीले हर्काछ । म झनै चकित हुन्छु किनकी नाकाबन्दीमा २२० को भ्यालु ३४० हुने रहेछ भन्ने लागेर । तर पनि गुणस्तर नभएको र बढी पैसा नतिर्ने जिकिर गर्दै जिद्दि गर्छु । त्यहा पनि २ जना भुसतिघ्रे आएर जोड हर्काछ । कुटुम्ला झै गर्छ म बाध्य भएर तिर्छु । त्यहा‘ पनि गुरूजीलाई होटलको साहुले ?.१५०० हातमा थमाउदै धन्यवाद ज्ञापन गर्छ । म अन्यौलग्रस्त हुन्छु र थपक्क आफ्नै सिटमा गएर पल्टन्छु । मोटर आफ्नै गतिमा मिठो आधुनिक गित बजाउदै दौडिरहेको थियो, ।

“ल ट्वाइलेट् वाथरूम्, खाजा–साजा खान झर्नुस्” खलासी भाई र होटलमा काम गर्ने अर्को १ केटोको चिच्याईले ब्युँझिए‘ । यसो घडी हेरेको त बिहानको ४ बजेर ९ मीनेट गएको रहेछ । आँखा मिच्दै यात्रुहरू ओर्लदै थिए । प्राय ट्वाइलेट तर्फ मोबाइलको टर्च अन गरेर लम्किरहेको देखिन्थे । म पनि सोही गतिमा गएँ । ट्वाइलेट चाहि पूर्वबर्ति भन्दा फरक थिएन । उही फोहोर, उही अवस्था कै थियो । तापनि नाक थुनेर काम सकेँ अनि मूख धोइओरी अगाडी गए‘ ।  ‘खाजा तयार छ , तात्तातो छिटो बस्नुहोला’ भन्दै साहु भन्दै थियो । मैले कति बेला बनाएको यो खाजा भनेर सोधे , उसले ‘अहिले भर्खरै' भन्ने जवाफ दियो ।

पुनः घडी हेरेँ भर्खरै ४ः२३ भएको रहेछ । मलाई पत्यार लागेन । खाजाको परिकार हेर्दा लाग्थ्यो त्यो त अघिल्लो दिनको पनि होइन कि जस्तो २/३ दिन अगाडीको जस्तो लाग्थ्यो ।  मन मानेन, त्यो बासी जस्तो लाग्ने खाजा नखाने नै निधो गरेँ र चिया मात्र खाने निक्र्याैल गर्दै कालो चिया मागे र पिएँ । पैसा तिर्न लाग्दा त्यहा पुन तर्सिए । कालो चियालाई पनि ३५ रूपैया रे । मैले अब चाहि तर्क दिएर बोल्नु उचित ठानिन किनकी सबै प्यासेन्जर मलाई वाच गरिरहेका थिए । कस्तो कच्कचे मान्छे रहेछ भन्लान् जस्तो लाग्यो र सरक्क तिरे । १ जना यात्रु पनि खाजाको मोलको बिषयमा साहुजी सँग झगडा गर्दैथियो । म नजिकै गएँ त्यहा पूरी–तरकारीको १७० संसारमा कँही पनि पर्दैन भनेर यात्रु भन्भनाउदै थियो तर साहुजी चाहि “यो धार्के हो धार्के, यँहाको चलनै यस्तै छ खुरूक्क तिर्नुस् नत्र फेरी....।” धम्की पुर्ण स्वरमा कराउँदै थियो । म मनमनै सर्तक भएँ कि धार्के (धादिङ्ग) त खतरा पो रहेछ भनेर ।

गाडी आफ्नै गतिमा बढ्यो सबै यात्रु चढिसके पछि म मनमनै सोचे–यो राजमार्गको चलन नियमै यस्तै होला । ठिक ६ः३० मा कोठामा पुगे र गाता च्यातिएको पुरानो १ किताब पल्टाएँ जुन उपभोक्ता संरक्षण ऐन र त्यसको नियामावली लेखिएको किताब थियो । जहाँ स्पष्ट ?पमा उल्लेख गरेको थियो–यात्रुलाई असुबिधा व्यबहार गर्न नहुने, ठगि गर्न नहुने तथा असुबिधा गर्न नहुने यदि सवारी साधन तथा त्यसका कर्मचारीहरूबाट त्यस्तो व्यबहार भएमा लाइसेन्स निलम्वन,  १०,०००।– सम्म जरिवाना, ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्नेछ साथै उपभोक्ता ठगि गर्ने महासयहरू लाई पनि कसुर अनुसार कडै कानुन हुने रहेछ ।

म पुन चकित भएँ र भाव मुद्रामा पूनः सोच मग्न भए अनि आफ्नै ठाउँको शासन प्रतिको गुनासो तथा कार्यान्वयनको फितलोपनामा वाक्क लागेर आयो । सम्झिएँ ति काउण्टरका दलालदेखि बसका यात्रुहरूलाई असहज यात्रा गराउने यात्रुबसका मरञ्च्याँसे र भुसतिघ्रे सबैलाई, बासी खानालाई दोब्बर भन्दा बढी पैसा असुली गर्ने सबैलाई, बालश्रमको शोषण गर्ने देखि फोहोरै–फोहार भएको होटललाई हरियो स्टिकर प्रदान गर्ने गुणस्तर नापतौलका कर्मचारी सबैलाई, कर्तव्य पालना गरे नगरेको भनि नियमनकारी निकायका सपत खाएका प्रहरी कर्मचारीहरू समेतको मौन स्वीकृत तथा मुकदर्शकपना भइ व्यबहार गर्ने सम्मलाई, मधेसवादी दलका धर्तीपुत्र नेताहरू तथा तिनका कार्यकर्ताको निसाना–यात्रुबसको सिसा देखि ?. ५ समेत नपर्ने समानलाई ७ गुणामा वृद्धि गरि आफै मुल्य निर्धारण गर्ने चिया पसलका साहु सम्मलाई ।

सोच्दा–सोँच्दै हैरान भएँ अनि सोच्नै छोँडे किनकी त्यस कुकृतयको अनुगमन गर्ने नियमनकारी निकाय स्पष्टै रूपमा उल्लेख छ कानुनमा । कानुन छ, ऐन छ, नियमवाली छ, कार्यविधि छ, सबै छ  तर हामीमा छैन त केवल मानवता । उफ्....... हामीसँग नियमको अभाव नभई नियतकै अभाव रहेछ ।