काठमाडौं/ साउन १२ गते फेसबुकमा स्टाटस लेखेर एक युवकले आत्महत्या गरे ।

[caption id="attachment_47524" align="alignleft" width="473"] Dead body in a mortuary[/caption]

उदयपुरका सुशील कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्नुपूर्व आफ्नो मृत्युको घोषणा गरे ‘समाप्त’ लेखेर । पत्नी र दुई छोराका पिता २९ वर्षीय सुशीलले मृत्युको केही दिन अघिदेखि निरन्तर फेसबुकमा आफू विरक्तिएका स्टाटस लेख्दै आएका थिए ।

उनले लेखेका गीत तथा मुक्तक पनि मृत्यु र हारको वरिपरि थिए । साहित्य तथा गीतका माध्यमबाट उनले आफ्नो बह फेसबुकमा पोखिरहेका थिए निरन्तर रूपमा ।

जुन दिन मेरो मृत्यु तय हुनेछ त्यो दिन तिम्रो मनमा धेरै भय हुनेछ दुनियाँले भन्छन् आत्महत्या होला तर त्यहाँ कुनै रहस्यमय हुनेछ

उनले आफ्नो फेसबुकमा लेखेका अन्य स्टाटसजस्तै यो स्टाटस पनि मृत्युसँग सम्बन्धित छ । स्टाटस मात्र होइन, उनले कविताजस्ता लाग्ने केही गीत पनि आफ्नो स्टाटसमा लेखेका छन् स्टाटसमा । युवापुस्तामा जोश हुन्छ । जाँगर हुन्छ । आक्रोश हुन्छ । उनीहरु, सोच्छन्, ‘यो जोशले हामी संसार जित्न सक्छौं ।’

युवा जोशका लागि गोर्खालीका नारा, राजनीतिप्रतिको झटारो, प्रेम र सम्बन्धजस्ता कुरालाई आफ्ना गीतमा प्रस्तुत गर्थे नेपाली र्‍यापरले पनि । पुराना र्‍याप गीत सुन्ने हो भने गीतमा श्रंगार र वीरताको प्रभाव पाइन्छ । पश्चिमा संस्कृतिबाट भित्रिएका यस्ता खाले गीतलाई 'सडक गीत' पनि भन्ने गरिन्छ ।

तर समाज फेरिँदै जाँदा गीतको लय पनि फेरिँदै गएको छ । युवापुस्ता केही गर्ने जिम्मेवारीभन्दा बरु मर्न ठीक भन्ने सोचको विकास हुँदै गएको मनोचिकित्सक संघ नेपालका सह–सचिव डा. रितेश थापा बताउँछन् ।

‘युवापुस्ताले कला, साहित्य र गीतको माध्यमबाट आफ्नो पीडा व्यक्त गर्न थालेका छन् ।’ यसको कारण पश्चिमी संस्कृति भित्रिदै जानु र अर्कातिर यस्ता खालको संस्कार नेपाली समाजले सहजै स्वीकार गर्न नसक्नु भएको डा.थापा बताउँछन् । ‘करिअर, जिन्दगी, प्रेम र बेरोजगारीजस्ता समस्याले युवापुस्तालाई गाँजेको छ’ उनले भने ।

खासगरी युवापुस्तामाझ लोकप्रिय ‘र्‍याप गीत’ मा पनि आजभोलि गुनासो तथा निराशाका ऐना बन्न थालेका छन् । पछिल्लो समय बजारमा आएका धेरै गीतमा यस्तै समेटिएका हुन्छन् । बेलायतमा परिवारसँगै बस्दै आएका चर्चित र्‍यापर यमबुद्ध (अनिल अधिकारी) ले गत माघ १ गते लण्डनस्थित आफ्नै निवासमा आत्महत्या गरे । मृत्युपछि रिलिज भएको उनको एल्बम् ‘खतरा’ मा समावेश प्राय गीत निराशामै अल्झेका छन् ।

उनको चर्चित गीत ‘साथी’ मा कुलतमा फसेका युवाको कहानी त समेटे तर उनले त्यही गीतमा पनि जीवनको निराशालाई नै महत्त्व दिए । उनको युवामाझ बढी रुचाइएको गीत सम्भवतः 'साथी' नै हो । त्यसो त गीतमा निराशा बढी चल्ने चलन धेरै पुरानो हो । स्वरसम्राट नारायणगोपालका धेरै गीत पनि यस्तै निराशाको भुमरीमा रुमल्लिएका छन् नै । तर युवाको जोशले गोर्खाली इतिहासमाथि गाइएका कैयन् गीतलाई पनि चर्चित गराएकै हो । पछिल्ला गीतमा भने आशाभन्दा बढी निराशा थपिनुले युवाको मनोविज्ञानलाई पक्कै सकारात्मक असर पार्दैन ।

यमबुद्धका पछिल्ला गीत मलामी, ताज, सपना लगायतका गीतमा यस्तै निराशा मात्रै छन् । यमबुद्धमात्र होइन, पछिल्ला समयका धेरै र्‍यापरका लागि निराशा नै र्‍यापमा सफल हुने आशा बनेको देखिन्छ । पुराना चल्तीका गायकले र्‍यापमा प्रेम र राजनीतिलाई बढी जोड दिएका पाइन्थ्यो तर पछिल्ला गीतमा निराशाले किन यति धेरै बढवा पायो तरु मनोविद् रितेश भन्छन्, ‘युवापुस्ता बिग्रने समस्या बढ्दै गएको छ, यसको कारण परिवार र पश्चिमी संस्कृतिको प्रभाव हो ।’, उनी थप्छन्, ‘गीत मात्र हैन, अन्य माध्यमबाट पनि निराशा पोख्न थालेका छन् युवाले ।’

त्यसो त अहिले मायाप्रेम र राजनीतिलाई व्यङ्ग्य गरिएका गीत नै नगाइएको भन्ने होइन । तर समाजको बदलिँदो धारलाई र्‍यापरहरुले आफ्ना गीतमा स्थान दिएका छन् । यो लर्कोमा लाउरे, युनिक पोयट, योद्धा, महाकाल, गिरीश खतिवडा लगायतका र्‍यापर पनि थपिएका छन् । र्‍यापर बन्ने सपना देख्ने धेरै युवाका लागि पनि यिनै समस्या रोजाइमा पर्ने गरेका छन् । त्यसो त द युनिटी, गिरीश खतिवडा, नेप्सडाइज, बिएट लगायतका ब्याण्डले प्रेमिल गीत गाउन छोडेका भने होइनन् ।

के हरुवा गीतले असर गर्छ ? मनोचिकित्सक डा. रितेश थापाका अनुसार यस्ता खालका गीत गाइनुको प्रमुख कारण समाज नै हो । हुन त यस्ता गीत गाइने चलन पश्चिमी संस्कृतिमा बढी नै भएपनि नेपालमा पनि पछिल्लो समय र्‍याप गीत शहरी युवापुस्तामा मात्र नभएर गाउँतिरका युवावर्गले पनि रुचाउन थालेका छन् ।

तर सामाजिक रुपमा नकारात्मक सन्देश दिने गीतले पूरै युवालाई समस्या पार्न सक्ने थापाको भनाइ छ । ‘परिवारबीच हुने झगडा तथा पश्चिमा बन्न खोज्ने सस्तो प्रतिस्पर्धाले यस्ता गीत गाइएको हुन सक्छ ।’ उनी थप्छन्, ‘यसको असर पूरै समाजलाई पर्छ ।’

गीतलाई गाउनु र सुन्नुलाई मनको भावना अभिव्यक्त गर्ने माध्यमका रुपमा पनि लिने गरिन्छ । केही साथीहरु विदेश गएर प्रगति गरेकै आधारमा नेपालमा भएका साथीलाई हिनतावोध हुँदा पनि युवापुस्ताले नकारात्मक सोच बनाएको थापा बताउँछन् ।

युवापुस्तामा वृत्तिविकास, प्रेम तथा जिन्दगीको चिन्ता त छ नै । शैक्षिक रूपमा सक्षम भएर पनि आफूले जागिर नपाउने बेरोजगारीपन पनि उत्तिकै बढ्दो छ । यसैले गर्दा पनि प्रेमभन्दा जीवनप्रति निराशा भएका गीत सुनिन थालेको थापाको बुझाइ छ ।

युवापुस्ता गीतको माध्यमबाट मात्र होइन, ब्लग तथा अन्य समस्याको माध्यमबाट पनि आफ्नो समस्या पोख्ने गरेका छन् । फेसबुक तथा ट्वीटरमार्फत स्टाटस लेखेर समस्या सुनाइनु पनि सामान्य बनिसकेको छ । यस्ता वैरागी गीतले युवालाई कमजोर बनाउन भूमिका खेल्ने मनोचिकित्सकहरुको बुझाइ छ ।

‘विदेशी मिडियामा गायकले आत्महत्या गर्दा अरुलाई असर नपरोस् भनेर ‘मार्गदर्शन’ बनाएर समाचार सम्प्रेषण गरिने चलन छ, नेपालमा यसको सही प्रयोग भएको पाइँदैन ।’ थापा भन्छन्, ‘युवापुस्तामा सफल मान्छेले त आत्महत्या गर्छन् भने हामीले त को हौं र भन्ने धारणाको विकास हुन्छ ।’ समाज परिवर्तनका लागि कलाकार पिन सकारात्मक बन्नुपर्ने थापाको धारणा छ ।

लाेकान्तरबाट