रेमिटल्याण्डका रिकुटे मुक्सामसँग भेट भयो । मुक्सामका बिचार, अनुभव र रेमिटल्याण्डले दिलाएको पीडासँग नजिकिने मौका मिल्यो । उनी समाजका यस्ता पात्र हुन् जुन पात्र समाजमा यत्रतत्र छन् । हरेक मुक्सामहरु अरबका खाडीमा छन् । जो रेमिटल्याण्डमा बसेर सुनौलो सपना देख्छन् । जुन सपना हजारौं मुक्सामहरुले देखेका हुन्छन् ।
हरेक समय आफ्ना परिवारसँग मिठा अनुभूतिहरु साटेको दिमागी क्यानभाषमा उतारेर कडा परिश्रम गर्छन् । आफैलाई भुल्छन् । ४० देखि ६० डिग्रीको तापलाई त्यही क्यानभाषले भुलाउने प्रयत्न गर्छन् । त्यसैले त, रेमिटल्याण्डका रिकुटेहरु आफैलाई भुलेर परिवारको लागि तेजिलो दिनको आश्वादन गर्ने लालशमा जिइरहन्छन्–जिइरहन्छन् । यता विदेश जाने चलनले दशै हरियो हुन थालेको छ । तराईमा अन्नको सट्टा घरहरु रोपिएको छ र पहाडमा जग्गाहरु बाँझो राखिएको छ । यो सबै मुक्सामहरुको उडानको कारण नै भएको हो ।
देशले दिएको बेरोजगारीको पीडा ‘रेमिटल्याण्ड’ ले यसरी बोलेको छ । उपन्यासकार श्याम सिङ्गक आफ्ना बिचार, अनुभूतिहरु मुक्साममार्फत् फैलाउँछन् । मुक्साम जो ४० वर्षका छन् । उसका अनुभूतिहरु, पीडाहरुको भारी बिसाउने एउटा चौतारी पाएको छ रुक्मणी । रेमिटल्याण्डले दिएको पीडालाई भुलाउने साथी जो रेमिटल्याण्डकै कारण एक्लिएकी छन्, भावी खुसीको पर्खाईमा । ती पात्रको संयोजन लेखक सिंगकले उसरी नै गरेका छन् । रुक्मणी मुक्सामको तीतो यथार्थको साथी । सबै थाहा छ । तर, पनि यथार्थबाट टाढा भाग्न नसकेका पात्र । सिंगकले यसरी संयोजन गरिदिएका छन् जसको कारणले कथा बग्छ, सलल । हिमालबाट हिउँ पग्लिएर खोला हुँदै नदी, नदी हुँदै समुन्द्रमा पुगेसरी ।
उनीहरुले नै समाजको तीतो यथार्थलाई बाहिर ल्याइदिएका छन् । लेखकले उनीहरुलाई नै भन्न लगाएका छन्, समाजको कथा । उनीहरुले समाजको कथा भन्नको लागि झापाको दमकलाई परिवेश बनाएको छ । आञ्चलिकताको उच्चतम् नमुना पेश गरेका छन् लेखकले उपन्यासमार्फत् । आख्यानमा पूर्वको दमक, गेर्खा, दुधे, झिलझिले, कन्काई माईलाई परिवेश बनाएर लेखिएको यो उपन्यास नै सायद पहिलो होला । त्यही परिवेशका मुक्साम र रुक्मणीले नेपालदेखि विदेशसम्मको कथा बोल्छन् । अहिलेको विकृत समाजको चित्रण गर्छन् । देशले बोकाएको बाध्यतालाई ‘कुरी–कुरी’ गर्छन् । मानव हुन्, देउता त हैनन्, त्यसैले उनीहरुले एउटा सीमा तोड्छन् । समाज नै मुक्साम र रुक्मणी जस्ता पात्रलाई बिकृत बनाउन सदैव उद्दत छन् । त्यस्ता पात्रहरु मुक्सामले देखेका छन् । मुक्सामले धेरै पात्रहरुसँग साक्षात्कार गरेका छन् ।
समाजको कथा भन्न उनी रेमिटल्याण्डबाट उदाएका छन् । सायद लेखक सिंगकले पनि आफ्नो अनुभूति त्यसरी व्यक्त गरेका हुन् । पढ्दै जाँदा यस्तै अनुभूतिले बास गर्छ । मुक्साममा उनको छायाँ देखिन्छ । नमेटिने छाँया । जसरी सूर्य ढल्किदै जान्छ । त्यसरी नै छाँया पनि प्रष्ट हुँदै जान्छ । त्यही छाँया पात्रले आफ्ना बिचारहरु, अनुभवहरुलाई कथामार्फत् देशको बल्दो कथालाई अभिमूख गराएका छन् रेमिल्याण्डमार्फत् । पूर्वमेचीदेखि पश्चिम कालीसम्म यस्ता पात्रहरु समाजमा यत्रतत्र छन् । समाजमा आफूलाई स्थापित गराउन अरबका कुनै न कुनै देशमा टेको लगाउने युवाहरु हाम्रै समाजका हुन् । उनीहरु बाध्यता भनौं या त रहर । उनीहरु खुसी खोज्न भौतारिएका छन् । तर, जव फर्कन्छन् । तव, उनीहरुको खुसी नजोडिने गरी खोसिसकेको हुन्छ । सपना जस्तै लाग्छ उनीहरुलाई । यस्तै प्रसङ्गमा नारायण भन्ने पात्रले भनेको छ, ‘नयाँ नेपाल, नयाँ नेपाले भन्थे यही र छ । नयाँ नेपालमा विदेश जाने बुढीहरुले लभचाहिँ खुव गर्ने भए ।’
रेमिटले चलेको देशमा आफ्ना युवाहरु विदेशिएकोमा खुसी छ । समाज भत्किएकोमा कुनै चासो छैन यो देशका शासक, प्रशासकहरुलाई । उनीहरु रेमिटमा चोबलिएका छन् । डुबुल्की मारेका छन् । शासक प्रशासकलाई रेमिटमा डुवाउने युवाहरु अरबको ५०–६० डिग्रीको रापमा पसिनाले डुबेका छन् । रातोदिन मेहनत गरेर आफ्नो देशको अर्थतन्त्रलाई डुब्न दिएका छैनन् । उनीहरु देशको शीर उचो राख्न कुनै कसर छाडेका छैनन् । तर, देश यति ‘निर्दयी र नकचरो’ छ कि हरेक युवाको पीडा बुझ्ने दुस्साहस गर्दैन । अर्का पात्र नयराज भन्छ, ‘राज्यले रेमिटेन्स प्राप्त गरेबापत हाम्रो समाजले बेहोर्नुपरेको मूल्य हो यो । हाम्रो समाज रेमिटेन्सले नै चलिरहेको हो भने यसलाई समाजले पचाउँदै जान्छ । नपचाएर अर्को विकल्प पनि त छैन् ।’ त्यही चपेटामा परेका पात्र हो मुक्साम । जसले ९–९ वर्षसम्म साउदी अरबमा गएर भोकै, तिर्खै आफ्नो परिवारलाई नयाँ सपना देखाउन हिड्यो । फुङ्साको लागि रातदिन भनेन । तर, फर्कदा फगत रित्तो हात । भएको उसको मायाको डोरी पनि सधैको लागि चुडाएर अर्कैसँग उडेकी छे । त्यसैले आज उसलाई विरक्तिनबाट रुक्मणीले रोकेकी छे । तर, रुक्मणी पनि उस्तै जलनबाट पिल्सिएकी छे । मान्छेलाई सांसारिक सुख चाहिन्छ । प्रकृति भन्दा पर त छैन नि मान्छे । यौवनमा जैविक र प्राकृतिक आवश्यकता पनि त केही हो । यस्ता कुराहरुलाई सुक्ष्म ढङ्गले केलाउन सफल सिंगकले ‘रेमिटल्याण्ड’ मार्फत् समाजको चित्रलाई पानाहरुमा उतारेका छन् । २०५० को दशकपछि हालसम्मको अवस्थालाई मज्जाले चित्रण गरेका छन् । सामाजिक बन्धन, मुक्ती, लोभ, पाप र संसारिक माया मोहलाई नजिकबाट देखेका, भोगेका सिंगकले सुन्दर ढङ्गले प्रस्तुत गर्दै पठनीय पनि बनाएका छन् ।
सायद पठनीय नहुन्थ्यो भने रेमिटल्याण्डका रिकुटेहरुको कथा अहिलेको अवस्थामा मार्मिक हुन्नथ्यो । सिंगो देश नै रेमिटल्याण्ड बनेको अवस्थामा युवा–युवतीको दर्दनाक कथालाई ‘मुक्साम र रुक्मणी’ को प्रेमप्रणयमार्फत् उजागर गर्ने प्रयास गरेका छन् । मुक्साम यहाँ चलाख पात्रको रुपमा पनि अभ्युदय भएका छन् । हरेक समय मुक्साम आफ्नो शारीरिक आवश्यकतालाई तिलाञ्जली दिन्छन् । उनी सम्झन्छन् । उनी कसैको हुन् । त्यसैले मैले त्यो पवित्र भूमिमा पाइला हाल्नु हुन्न भन्ने बुझेका छन् । र, सदैव सर्तक हुन्छन् । एउटा लिम्बू र बाहुनको कथालाई पस्केर अहिलेको जातिबादी अहमतालाई चिर्ने प्रयत्न गरेका छन् लेखकले । त्यहाँ पनि लेखकीय क्षमता देखाएका छन् सिंगकले । सिंगक कहिकतै मुक्साम हुन् भन्ने देखिन्छ । किनकी उनले आफूलाई आफ्नो परिवारसँग बच्नको लागि प्राकृतिक मूल्य मान्यतालाई पनि आफ्नो ‘वस’ मा राख्ने प्रयत्न गरेका छन् । मैले लेखकलाई सोधे, ‘तपाईको आफ्नो कथाँ हो कि क्या हो ? उनले सम्हालिएर भने, ‘त्यहाँ मेरा पनि विचारहरु, अनूभूतिहरु राखिएका छन् । पात्र म हैन । तर, पात्रको विचार चाही मेरो हो ।’ लेखक सिंगकको ‘रेमिटल्याण्ड’ हरेक पाठकको लागि नयाँ स्वाद लाग्न सक्छ । किनकी उनको प्रस्तुत गर्ने शैली नयाँ छ । समाजमा देखेका, सुनेका पात्र नै हुन । तर, आफैले भोगेको कथाहरु जस्तो । पात्रलाई समान्यिकरण गरेका छन् । जसले गर्दा उपन्यास पढुञ्जेल कुनै बाधा अड्चन बिना नै उपन्यास तुरिन्छ । अझ हरेक पानाहरुको पेज नम्बर बढ्दै जाँदा उपन्यासका पात्र मुक्साम र रुक्मणीले तानिरहन्छे । पाठकलाई अव के होला ? अव के होला ? भन्ने कौतुहलताले गिजोलिरहन्छ । त्यसैले सामान्य भन्दा सामान्य पाठकको लागि पनि यो पठनीय हुन सक्छ । गाउँघरमा सुने, जानेकै पात्र भएकाले पनि आफू नै मुक्साम हो कि, आफै नै रुक्मणी हो कि भन्ने मनमा लागिरहन्छ ।
अन्य पात्रको संयोजन पनि अल्छीलाग्दो तरिकाले गरेका छैनन् । ठिक ठिक ठाउँमा ठिक ढंगले पेश गरेका छन् । जसका कारणले रेमिटल्याण्डको गहिराही भित्र प्रवेश गरिरहन मन लाग्छ । तर, कतिपय अवस्थामा लेखकले बढी नै रुक्मणीलाई पर्दापण गराइरहन्छन् । र, रुक्मणीको छोरो बीच बीचमा हराउँछ । जव, मुक्साम र रुक्मणी नजानिदो तवरले मायामा बिटुलिन थाल्छन् । त्यो बेला लेखकले यस कुरामा ध्यानसमेत नपु¥याएको देखिन्छ । हैन रुक्मणीको छोरो चाही कता हराउँछ ? कहाँ गएछ ? भन्ने पाठकलाई बेला बेला सोच्न बाध्य बनाउँछ । किनकी उनी दमकमा डेरा गरेर बसेकी पात्र हुन् । त्यसैले छोराको रेखदेखको लागि अर्को कुनै पात्र खडा गरिएको छैन । जसरी मुक्सामको छोरी धरानको बाझोगरा आफ्नै दिदीको घरमा बसेकी छ । त्यस अर्थमा लेखक चुकेका छन् । मुक्साम र रुक्मणीलाई भोली हुने बारे थाहा भए पनि जानी जानी जीवन भोग्न बाध्य बनाउँछ लेखकले । काल कुनै दिन आउने छ भनेर जाँन्दा जाँन्दै पनि उनीहरु त्यो भूमरीमा फस्न तयार छन् । लेखकले कथालाई त्रिकोणात्मक तवरले निरुपण गरेका छन् । लेखक सिंगकले भइरहेको कथालाई पेचिलो तवरले प्रस्तुत गर्दै समाजको यथार्थलाई उतारेका छन् । एकपटक पढ्नै पर्ने उपन्यासको रुपमा ‘रेमिटल्याण्ड’ सायद पर्छ होला यो दशकमा । किनकी यो दशक नै रेमिटल्याण्ड दशक हो ।