एजेन्सी/अरू कसैले बोल्दाबोल्दै उसको भनाइ नसकिँदै बीचमै आफनो कुरा राख्ने धेरै मानिसको बानी हुन्छ । कतिले त नजानेर पनि यस्तो गर्छन् । घर, परिवार, सामाजिक जमघट र कार्यालय जहाँ पनि हामी यस्तो स्थितिको सामना गर्छौं । कसैले बोल्दाबोल्दै बीचमै आफनो कुरा राख्न हतार गर्ने बानी राम्रो होइन । तपाईं बारम्बार यस्तो गर्नुहुन्छ भने समय बित्दै जाँदा यसले तपाईंको व्यक्तित्व/प्रतिष्ठामा नै आँच पुर्याउँछ भन्ने करियर एक्स्पर्टहरूको भनाइ छ ।
‘हामी निरन्तर हिडिरहन्छौं, हामी धेरै छिटो हिड्छौं, छिट्छिटो बोल्छौं, मिटिङमा कसैले बोल्दाबोल्दै उसको कुरा सकिनुअगाडि नै हामी हाम्रो कुरा राख्छौं, कसैले प्रश्न पूरै सोधी नसक्दै उत्तर दिन थाल्छौं,’ करियर एक्सपर्ट तथा नेतृत्व विकास कम्पनी ब्ल्याकशिपका जेफ ब्ल्याकले भने । ‘यस्तो गरेर हामी अति नै हतारमा भएको देखाउँछौं, आफू पागल भएजस्तै देखाउँछौं, सबै खत्तम नै भइसक्यो जस्तो व्यवहार गर्छौं,’ उनी भन्छन् । यस्तो बानी राम्रो नभएको र बोल्दा बिस्तारै बोल्नुपर्ने धारणा ब्ल्याकको छ ।
साथै हतारमा बोलेर पछि पछुताउनुभन्दा भनेको कुरा राम्ररी बुझाउने गरी बोल्ने बानी बसाल्नु अनि बोल्नुभन्दा अगाडि केही क्षण गम खानु सबैभन्दा राम्रो हुने उनी बताउँछन् । अरूको मनमा लागेका कुरा उसलाई पुरा बोल्न नदिने बानीलाई सबैले नकारात्मक रूपमा हेर्ने भएकाले अरूको कुरालाई बीचमा काट्नुअघि आफू २ सेकेण्डमात्रै रोकिने बानी बसाल्यो भने पनि आफुलाई थप मित्रवत् देखाउन सकिन्छ भन्छन् ब्ल्याक । कार्यालयमा सचेत रहेर आफनो क्रिया र अभिव्यक्तिलाई केही सुस्त बनाउँदा आफैंलाई सहज हुन्छ र अब के गर्ने वा बोल्ने भन्ने सोच्न पनि बढी समय मिल्छ ।
‘यसले धेरै ठूलो परिवर्तन ल्याउँछ,’ सीएनबीसीसँगको कुराकानीमा ब्ल्याकले भने । ब्ल्याक भन्छन् यस्तो बानी नहुँदा अस्तव्यस्त देखिने मानिस यस्तो बानी अपनाएपछि शान्त र विश्वस्त देखिन्छ । यसो भन्दैमा अरूलाई अप्ठ्यारो र दिक्क लाग्ने गरी लामो समय रोकिएर मात्र बोल्नु भने हुँदैन । तैपनि, बोल्नुभन्दा अगाडि एक पटक सोच्नैपर्छ भन्नेमा उनी जोड दिन्छन् । केही क्षण रोकिने बानीले मानिसलाई अझ बढी विचारशील बनाउने र यस्तो बानी कार्यालय होस् वा कुनै समूह जहाँको पनि नेतृत्व तहमा भएका मानिसका लागि निकै लाभदायक हुने धारणा उनको छ ।
कति बेला शान्त हुने र कति बेला अरूले भनेको कुरा सुन्ने ? यस्तो ज्ञान असल नेतृत्वमा हुनुपर्ने महत्वपूर्ण तत्व हो । तपाईं नेतृत्व तहमै हुनुहुन्छ र आफ्नो निर्णय गरिसक्नुभएको छ भने पनि अरूले फरक र प्रभावकारी रणनीतिक सुझाव दिन सक्छन् । त्यसैले आफ्नो समूहका सबै सदस्यले भन्न लागेको कुरा सुन्नुपर्ने र उनीहरूको सम्मान गर्नुपर्ने उनको भनाइ छ । कसैको भनाइमा आफ्नाे प्रतिक्रिया दिनुभन्दा अगाडि राम्ररी उसको कुरा सुन्ने र केही क्षण गम खाने बानीले अरूको अगाडि उदारचित्त र चिन्तनशील देखिने हुन्छ अनि यसले अरूलाई पनि तपाईंले भनेको कुरा सुन्न प्रेरित गर्न सक्छ भन्ने ब्ल्याक बताउँछन् । त्यसैले कहिलेकाँही चुप लाग्नुको पनि ठूलो महत्व हुन्छ ।