काठमाडौं खाल्डोभित्रको बौद्ध जोरपाटी गाउँकी भावना तामाङलाई उनकी आमा मीनाले अर्काको घरमा भाँडा माझेर, कपडा धोएर डाक्टर समेत बनाएको अन्तवार्ता हेरेपछि मेरो भावुक मन निकै भावुक भयो । उनको सफलताको खुसीमा मेरा आँखा रसाए । भावनाले पनि आमाको दुःख बुझेर सँगै काम सघाउन जाने गरिछिन् । आफु नपढेको भएपनि आमाले छोरीलाई सधैं पढ्ने हौसला बढाइरहिछिन् । आफु भोक भोकै काम गरेर भएपनि छोराछोरीलाई अघाउने प्रयत्न गरिछन् । आमाको उर्जाले भावनालाई हतोत्साही हुन दिएनछ, अझ सृजनशिल बनाएछ । दुःखसँग लड्न सक्ने परिपक्व बनाएछ । दुःख र अभावसँग हारेर पढ्न नछोडी अगाडि बढिछन् । पढाउन ज्यादै मुस्किल परेको अवस्थामा ज्यादै कम खर्चमा पढ्न पाइने समता स्कुलमा पुगेपछि उनको तेज पढाईले छात्रबृत्ति नै पायो अनि उनको सहनशिल र संघर्षशील जीवनको यात्राले गति लिने वाटो भेट्यो । एकजना व्यक्तिले झण्डै २५ लाख रुपैयाँ खर्च गरेर भावनालाई डेन्टिस पढ्न सहयोग पुर्याएपछि उनी यसबेला डाक्टर बनेको चकत्कारिक जस्तो लाग्ने जीवन यात्रा पढें । आफ्नो नाम बाहिर ल्याउँदा अरुको सहयोगमा पढेकी भनेर भावनामाथि नै अप्ठेरो पर्ला भनेर आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरेका रहेछन् । आफुलाई त्यसरी सहयोग गर्नेलाई उनले आफ्नो जीवनको परी अर्थात अप्सरा मानेकीरहिछन् । सानो सहयोग गर्दैमा के के न गरें भनेर मिडियावाजी गर्ने र आफ्नो प्रचारमा समय खर्चिने प्रचारमुखी समयकाबीच यति धेरै सहयोग गरेर पनि आफ्नो नाम नभन्ने मान्छे सुन्दा उनको संयोगपूर्ण कथा रोचक लाग्यो । यही कथा पहिले वीवीसीमा लामो समय काम गरेका अग्रज पत्रकार सुमन खरेलले कान्तिपुर टीभीमा प्रस्तुत गरेको अन्तरवार्ता साउन १४ गतेको विहानै हेरेको हुँ । त्यो हेरिसक्नासाथ मेरो ल्याटपमा देखा पर्यो नेपाल आइडलको रियालिटी शो । प्रतिभाहरुको प्रतिभा र मेरा जीवनका आदर्शका स्रोत चलचित्रकर्मी तुलसी घिमिरेको आतिथ्यताको शो हेरें । त्यहाँ एसएसएम भोटिङका आधारमा प्रतिभा सर्टलिष्टिङमा पर्दै गरेको विडम्बना पनि थियो । कम भोट पाएर आउट भएकी प्रतिभा सन्ध्या जोशीले हार्नुको पीडा हाँसी हाँसी सहेर जीवनको आरोह र अवरोह स्वीकारेको दृढता थियो त्यहाँ । यी दुई अवस्थाबीचका कुरा लेखिसकेपछि मेरा औंला किबोर्डमा अलमल परे । केही लेख्न अघि बढेनन् । यही बेला मेरो दिमागले सम्झियो अभाव भोग्दै क्यान्सरको सिकार भएका वाँसुरी धुनले मोहित पार्ने रत्नजुनेली थापामगर । तात्कालिन राजा महेन्द्रले उनको बाँसुरी कलाबाट प्रभावित भएर जग्गा बक्सिस दिएको कुरा मनले सम्झँदै लग्यो । अनि क्यान्सरकै शिकार भएर बोली मै समस्या भोगिरहेका जाँतेका सर्जक प्रकाशचन्द्र (जीवन ) तिम्सिनालाई सम्झिएँ । अनि सम्झिएँ टाउकाको क्यान्सर भएर सवैको सहयोगमा उपचार गरी फर्केपनि यसबेला विरामी परेर बम्बईमा उपचाररत विपन्न परिवारका वालक उत्सव धिमाललाई । मृगौलाले काम गर्न छोडेपछि उपचार गर्न नसकेर छटपटी गरिरहेका गोरेबहादुर दर्जी, दुर्गाबहादुर विष्ट, प्रकाश थापाहरु पनि उसैगरी मेरो मानसपटलमा आएर बसे । सम्झिँदै जाँदा नेपाली चलचित्रमा योगदान दिएका गोपाल भुटानी उपचार खर्चको अभावमा राजधानी काठमाडौंमा ज्यान गुमाएको पीडा । आफ्नो भएभरको उर्जा नेपाली चलचित्रमा सुम्पिएका तुलसी घिमिरेलाई अनागरिक भनेर अपमान गरेका दुखाइहरु । दुःख पाएकैहरुलाई रोगले पनि च्याप्नु पर्ने । उपचार अभावमा तड्पिनु पर्ने । अर्कातिर दुःख पाएकाहरुले अवसर पनि प्राप्त गरेको कुराले जीवनमा उर्जा भर्दाे रहेछ । यत्तिका दुःखका खात खात व्यथाहरुबीच दुःखले नै हुर्काएको र दुःखले नै जीवन सिकाएको भावनाको जीवनले माथिका सवै पीडितहरुका मृत्यु नै जित्ला जस्तो लाग्ने । ठीक्क यहाँनेर मैले अल्ट्राधावकका रुपमा विश्व किर्तिमान राख्ने भोजपुरकी साहसी युवती मीरा राई पनि मेरो दिमागमा टुप्लुक्क आइपुगिन् । अभाव र दुःखलाई जितेर अगाडि बढेकी मीरा भीरपाखामा दौडिरहेकी छन् । भावना अव मान्छेका छात्तीभरी अभावका भीरहरुमा जीवन फूलाउने देवता र औषधि बन्ने यात्रामा छिन् । भावन र उनका व्यथा हुवहु सत्य हुन् भनेर मैले मानिरहेको छु । त्यही भएर पनि भावना र उनकी आमाका समस्या भएकाहरु यी वस्तीहरुमा थुप्रै देखिरहेको छु । उनीहरुले अरुलाई जीवनको प्रेरणा भरिरहेका छन् । घामपानी भोगेर परिपक्व जीवन बाँच्न उत्साह भरिहेका छन् । दुःखसँग नआत्तिन आव्हान गरिरहेका छन् । पैसाको अभावमा जीवनको उर्जा निम्भु हुँदैन भनेर वकालत गरिरहेका छन् । पैसा नभएकै आधारमा कुनै न कुनै रोगबाट मानिसहरु मर्नु हुँदैन भनेर सरकारमा हुनेहरुलाई झक्भक्याइरहेछन् । प्रतिभालाई पैसाको बारले छेक्नु हुँदैन र त्यसरी कहिल्यै छेक्न पनि सकिदैन भनेर सम्झाइरहेछन् । भोको पेट र खाली खल्तीले जती जीवन संसारको कुनै पनि विश्वविद्यालयले सिकाउन सक्दैन भनेर चरितार्थ पारिरहेछन् । अभावले जिन्दगी वुझ्ने सुनौलो अवसर दिने कुराको पाठ पठाइरहेछन् । अव भावनाहरुले अभावमा पिल्सिएका जीवनका उर्जाशिल भावनालाई बँचाउनु मात्र होइन अमर बनाइराख्नु पर्छ । भावनाहरुले मीना जस्ता आफ्नी आमाको दुःखका आँशु सुखका हाँसोमा परिणत गर्नुपर्छ । भावनालाई सहयोग पुर्याउने परीजस्तै प्रत्येक वस्तीमा पनि परी बन्ने औकात भएकाहरु परी बन्न निस्किनु पर्छ । भावनाका सम्भावनाहरु प्रत्येक मीनाहरुले बुझ्न तयार हुनुपर्छ ।

दुःखसँग जिन्दगीले हार्न सक्दोरहेनछ ।

अभावले कसैलाई मार्न सक्दोरहेनछ ।