नारी–पुरुष एक अर्काका परिपूरक हुन् । नारी पुरुषबीचको सम्बन्ध बिना यो सृष्टि नै असम्भव छ । भनिन्छ, नारीपुरुष अर्थात् श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । यात्राका क्रममा रथ चलाउन दुबै पाङ्ग्रा आवश्यक पर्दछ । एक पाङ्ग्रा मात्र प्रयोग भयो भने यात्रा अधुरै रहन्छ । अर्थात् त्यो यात्रा अपुरो रहन्छ ।

श्रीमान श्रीमती बीचको सम्बन्ध भनेको दुवै शरीर एक हुनु हो। जहाँ लाज, घीन पनि पचिसकेको हुन्छ । वैवाहिक जीवनमा चरम सुख छ । जहाँ माया र समझदारीले भरिएको वैवाहिक सम्बन्ध छ, त्यहाँ स्वर्ग खोज्न कहीँजानुपर्दैन ।

एक श्रीमान–श्रीमतीबीच संवेगात्मक, भावनात्मक यौनिकता जीवनका अधिकांश मिठास अर्थात् चरम आनन्द त्यही सम्बन्ध भित्र पाउन सकिन्छ । जहाँ प्रेममय सम्बन्ध हुन्छ,त्यहाँ श्रीमतीलाई दुख्यो भने श्रीमानले त्यो दुखाइको महसुस गर्छ । श्रीमानलाई दुख्यो भने श्रीमतीले त्यो दुखाइको महसुस गर्दछिन् । सम्पन भएको अवस्था होस् अथवा विपन्न भएको अवस्था होस् त्यो दुःखसुख दुवै श्रीमान श्रीमतीको साझेदारी हुन्छ ।

तर, अहिलेका अधिकांश वैवाहिक जीवनमा भावनात्मक सम्बन्धमा कमी हुँदै गइरहेको पाइन्छ । हाम्रो समाजको परिवेशको वैवाहिक जीवनमा हेर्दा २० प्रतिशत वैवाहिक सम्बन्धमा पूर्ण सन्तुष्टि छन् । अरु २० प्रतिशत सम्झौता र समझदारीमा चलेकै छन् । र, अरु ६० प्रतिशत वैवाहिक जीवन असन्तुष्ट बिताइरहेका छन् ।

कतिपय वैवाहिक सम्बन्धहरु भावनात्मक नभएर औपचारिकतामा सीमित छन् । अहिलेको विज्ञानको चमत्कारी युगमा अति आधुनिक सञ्चार माध्यम, मद्यपान, अभाव, आधुनिकता, व्यस्तताले वैवाहिक जीवनमा पनि भावनात्मक सम्बन्धमा न्यूनता ल्याएको छ ।

वैवाहिक जीवनमा आत्मीयतामा कमी आउनुका केही कारणहरु यस्ता छन्–

१– व्यस्तता

प्रायः धेरैजसोलाई अहिलेको भौतिकवादी सोच र अति महङ्गीमा घर व्यवहार चलाउन निक्कै मुस्किल छ । मानिसहरु पैसा कमाउन निक्कै भागदौड गरिरहेको अवस्था छ । प्रायःजसो श्रीमान श्रीमती नै काममा व्यस्त छन् । घरपरिवारलाई समय दिन नसक्ने बाध्यता सिर्जना भएको छ ।

भावनात्मक ऊर्जा हुनका लागि पनि समयको आवश्यकता पर्दछ । व्यस्त अवस्थामा मानिसहरुको ध्यान कामतिर मात्र केन्द्रित हुँदा भावनात्मक ऊर्जामा कमी आउँछ । अहिलेको व्यस्तताको कारणले पनि वैवाहिक जीवनमा भावनात्मक सम्बन्धमा कमी ल्याइरहेको छ ।

२– अभाव

कतै अभावले भावनात्मक सम्बन्धलाई अवरोध पुर्‍याएको छ। हाम्रो जस्तो गरिब मुलुकमा जताततै, जेसुकैको अभावै अभाव छ ।

मानिसको पहिलो प्रथामिकतामा रहेको गाँस,बास, कपासकै अभावमा तड्पिनेको सङ्ख्या पनि निक्कै छ। त्यसमा पनि महँगीले आकाश छोएको छ ।

भ्रष्टाचार नगर्ने कर्मचारीहरुलाई तलबले महिना दिन टार्न निक्कै कठिन छ । छोराछोरीको शिक्षा दीक्षाले अधिकांशलाई निक्कै भारी बनाएको छ र तनाव थपिदिएको छ ।

अभावै अभावको कारणले तनाव सिर्जना हुन्छ । जब अभावका कारण तनाव सिर्जना हुन्छ, श्रीमान श्रीमतीबीच झगडा उत्पन्न हुन्छ र एक सुन्दर वैवाहिक जीवनभित्र आत्मीयताको कमी उत्पन्न हुन्छ ।

अभावकै कारण कतिपय वैदेशिक रोजगारीले पनि श्रीमान श्रीमतीबीचको सम्बन्धलाई चिसोपन ल्याएको छ । देशमा गरिबी बेरोजगारी बढेपछि अहिलेको समयमा ४० लाख युवायुवती विदेशिएका छन् । लामो समय वैदेशिक रोजगारमा रहँदा श्रीमान श्रीमती अलग रहनुको कारण धेरैजसोको भावनात्मक सम्बन्ध टुटेको यथार्थ छ ।

३– मद्यपान

सूर्य अस्त, नेपाली मस्त भन्ने भनाइ नै छ । यही भनाइ वास्तविक साबित हुन्छ । हाम्रो समाजमा धुम्रपान मद्यपान गर्नेको सङ्ख्या ठूलै छ । मदिरा अर्थात् जाँडरक्सीले खासै फाइदा पुर्‍याएको देखिँदैन । आफ्नो जिम्मेवारी दायित्व नै बिर्सिएर रक्सीमा तल्लीन हुनेको सङ्ख्या पनि निक्कै छ ।

जाँड रक्सीले कतिलाई त करोडपतिबाट रोडपति बनाएको यथार्थ छ । हरेक दिन रक्सीका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि धेरै छ । कतिले त रक्सीकै कारण रोगको उपहार लिएर तड्पिरहेका छन् । रक्सीको उन्मादमा हिंसात्मक घटनाहरु भइरहेका छन् ।

रक्सी पिउनेहरुका श्रीमतीहरु जहिले पनि पीडित देखिन्छन् । धेरैजसो मद्यपान अर्थात् रक्सीका कारणले महिलाहरुले घरेलु हिंसा खेप्नु परिरहेको छ । दिनै रक्सी पिएर पैसाको पनि नास, ज्यानको पनि नाश र घरमा झैझगडा एवं हिंसात्मक क्रियाकलापले वैवाहिक सम्बन्धमा ठूलै क्षति पुर्‍याएर आत्मीयतामा भङ्ग गरेको अवस्था छ ।

४– शिक्षा र स्वतन्त्रता

अहिलेका नारी पुरुष समान रुपमा शिक्षित हुँदै गइरहेको समयमा श्रीमान श्रीमती आआफैँमा सक्षम हुँदै गहिरहेका छन् । अहिलेको शिक्षित वर्गहरु जीवन आफ्नै तरिकाले बाँच्न चाहन्छन् । हाम्रो जस्तो पितृसत्तात्मक समाजमा युगौँदेखि महिलालाई दमन शोषण एवं दासका रुपमा प्रयोग गर्दै आइरहेका थिए ।

नारीहरुले श्रीमानलाई भगवानसरी पुज्दै आएका थिए । तर, अहिलेको शिक्षित वर्गमा महिलाहरु नदबिनुको कारण पनि वैवाहिक जीवनमा आत्मीयता घटाएको छ । पितृसत्तात्मक पुरातनवादी मानसिकता महिलाहरुले नअपनाउनुका कारणले पनि वैवाहिक जीवनमा उतार चढाव ल्याएको छ ।

अहिलेको शिक्षित वर्गको वैवाहिक जीवनमा समझदारी भन्दा वैचारिक द्वन्द्व छ । जहाँ वैचारिक द्वन्द्व हुन्छ । त्यो वैवाहिक जीवनमा आत्मीयता शून्य हुन्छ । वैचारिक द्वन्द्व भएका वैवाहिक सम्बन्धहरु सम्बन्ध बिच्छेद अर्थात् पारपाचुकेसम्म पुग्छन् ।

५– सञ्चार माध्यम

अहिलेको विभिन्न टेलिफोन, सामाजिक सञ्जाल, भिबर, स्काइप विभिन्न सञ्चार माध्यमले पनि वैवाहिक जीवनमा उथल पुथल पारेको छ । अहिलेको समयमा घरको कोठामै बसेर संसार देख्न र संसारका मानिससँग वार्तालाप गर्न सहजै सकिन्छ । अहिलेको आधुनिक समयमा कोही पुरुष होस् अथवा महिला, नयाँ आकर्षण अर्थात् परपुरुष, परस्त्रीतिर झुकाव अर्थात् लगाव भएको देखिन्छ ।

घरमै वैवाहिक सम्बन्धमा रहेर बाहिरी आकर्षणमा वार्तालाप गर्न रुचाउनेको सङ्ख्यामा पनि कमी छैन । अहिलेको केही वैवाहिक जीवनमा तनसँगै भए पनि मनचाहिँ अन्तै भागेको अवस्था छ । अहिलेको सञ्चारले अवैध सम्बन्ध जोड्न सहज वातावरण सिर्जना गरेको छ । एक किसिमको विकृति नै भित्र्यायको छ र वैवाहिक जीवनलाई ठूलै दखल पुराएको छ ।

विविध कारणले अहिलेका अधिकांश वैवाहिक जीवन भावनात्मक नभएर औपचारिकतामा सीमित छन् । हाम्रो समाजमा बढ्दै गएको सम्बन्ध विच्छेदको मुद्दाले झनै हाम्रो समाज कता जाँदै छ रु वैवाहिक सम्बन्धमा बढ्दै गइरहेको असमझदारीले पश्चिमेली संस्कार नभित्र्याउला भन्न सकिँदैन ।

बाबुआमाको बेमेल अर्थात् सम्बन्ध विच्छेदका कारण ससाना लालाबालाहरुले कष्ट भोगिरहेका छन् । बाबुआमा छुट्टिनुको कारण बच्चाहरुको मनोवैज्ञानिक असर परेर कुलतमा लाग्ने सम्भावना बढेको छ ।

हाम्रो समाजमा पारिवारिक बिखन्डन अति नै बढ्दो छ । वैवाहिक जीवनमा आत्मीयता नहुनु भनेको घर बिग्रिनु हो । घर बिग्रिनु भनेको छोराछोरी बिग्रिनु हो । भोलिका कर्णधार बिग्रिनु भनेको समाज बिग्रिनु हो । र, समाज बिग्रिनु भनेको राष्ट्र बिग्रिनु हो ।

त्यसैले यो संवेदनशील विषयमा हामीले समयमै गम्भीरतापूर्वक सचेत हुन अति नै आवश्यक देखिन्छ ।