अबको समय सिर्जनात्मक बन्नु पर्छ भनेर मेरो चेतनाले भन्दै आएको पनि लामै समय भयो । सृजनात्मकतातिर समाजले केही मात्रामा चासो देखाएको भएपनि तात्कालिन उपलब्धितिर केन्द्रीत हुने चासोले जितिरहेको छ, अर्थात उपभोक्ताबादी साँस्कृतिक संकक्रमणले जाँगीरहेको छ । त्यहाँ जकडिएको मानसिकता बाहिर आएर सृजनशिल अभियानमा आउन धेरै बाँकी छ ।
मैले यस मेसोमा ठ्याक्कै भन्न खोजेको कुरा चाँही सृजनात्मक क्षेत्रमा लागेर, साहित्यकार, लेखक भएर के नै उपलब्धि छ र भन्ने कुरामा केन्द्रीत गर्दैछु । मेरो उमेरका यी आँखाहरुले धेरै मानिसहरुबाट सृजनशिल क्षेत्रबाट उपलब्धि चखाएको देखेको छु । धेरैले समाजका लागि धेरै प्रभाव छाडेर समाज परिवर्तन गराउँदै आएको पनि भेटेको छु । धेरै टाढाको कुरा नगरेपनि यस्ता उदाहरणहरु अव स सानो क्षेत्रबाटै पर्याप्त हुन थालेको छ ।
उत्तरपूर्वी मोरङको उर्लाबारीका मञ्जुल मितेरी मूर्तिकलामा देशमा मात्र होइन विदेशमा समेत चिनिएको नाम हो । ढुंगै ढुंगाको पहाडे गाउँ टाँडी स्थायी बसोबास भएका उनी त्यही ढुंगासँग खेल्दै आफ्नो सृजनात्मक मन ढुंगामा खोप्दै सुन्दर मूर्ति सृजना गरेर जीवनको खुसी उपलब्ध गरिरहेका छन् । हुँदा हुँदा उनी जापानमा भीमकाय पहाडमा भीमकाय ढुंगामाथि बुद्धको शालीन आकृति निर्माण गर्दै त्यहाँ नेपाली कलामा नेपाली बुद्धको शान्ति विस्तारित गरिरहेका छन् ।
सोही नगरकी निकिता चाण्डक यस वर्षको मिस नेपाल बनेर आफ्नो प्रतिभाले उर्लाबारी चिनाइरहेकी छन् । बाहिरी सुन्दरतासँगै सृजनात्मक सुन्दरताको कुराले समाजलाई प्रभाव पार्न उनको प्रभावकारिता छ ।
त्यहीँको आशालाग्दो २५ वर्ष नकटेको ठिटो निशान भट्टराई गायन रियालिटी शोको नेपाल आइडलका लागि उत्कृष्ठ ११ मा छानिएका छन् । फ्रेन्चाइज आइडलको नेपाली संस्करणलाई एपीवान टेलिभिजनले प्रस्तुत गरिरहेको छ । प्रत्येक विहीबार राती ८ : ४५ देखि हुने प्रतियोगिताको रियालिटी शोमा संगीतलाई गहिरोसँग बुझ्ने प्रतिभा निशानको जितका लागि स्थानीय जुटेको निशानका संगीत गुरु हेमन्त रिजालले बताएका छन् । त्यहाँ उनलाई जिताउने अभियानमा स्थानीयले समिति नै बनाएका छन् । आँखाको बाहिरी दृष्टि गुमेपनि भित्री आँखाले गीतसंगीतको फराकिलो क्षितिज देख्ने र आफुलाई त्यही क्षितिजसम्म पुर्याउन प्रण गरेकी विर्तामोडकी मेनुका पौडेल भोटिङका आधारमा बाहिरिएपनि उनी रेडियो नेपालको राष्ट्यि प्रतिष्पर्धामा पहिलो बनेर आइसकेकी प्रतिभा हुन् ।
उर्लाबारीकी मिश्र बैजयन्ती साहित्यमा, पथरीशनिश्चरेकी सरोजा खड्गी चित्रकारितामा उसैगरी देशमा चिनिएका नाम हुन् । गायनबाट महेश बुढाथोकी उसैगरी चिनिएका छन् । पूर्वीमोरङमै मात्रै पनि गीत संगीत, अभिनय, साहित्य, कला क्षेत्रमा देशमै चिनिएका अरु दर्जनौं नाम छन् । यी नामकोबीच यसबेला बेलबारीकी तारा पराजुली दोहोरो रुपमा थप चिनिन पुगेकी छन् ।
मैले करिव १० वर्षअघिदेखि चिनेको र कविताको प्रभाव त्यहीबेलाबाट फैलाएकी तारा ‘ढाकाकुमारी पराजुली’का नामबाट यसबेला बेलबारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर आफ्नो परिचयको क्षेत्र थपेकी छन् । देशमै कविताको प्रभावले आफुलाई चिनाउन थालेकी ३६ वर्षीय उनी मुलत कवि हुन् । त्यसका अलावा गीत, गजल लेख्छिन् । विद्यालयको शिक्षिका समेत हुन् ।
साहित्य लेख्दै राजनीतिक रुपमा समेत सक्रिय बन्दै आएकी ताराले यसबेला स्थानीय तहको जनताको सेवामा समर्पित भएर राजनीतिक उचाईलाई अझ माथि ल्याइन् । केही महिना अघिमात्र बिवाह बन्धनमा बाँधिएकी उनी अव उसैगरी सामाजिक सेवाको वन्धनमा अझ दर्विलो गरी बाँधिएकी छन् । नगरको न्यायिक कामको अगुवाईको जिम्मा आएको छ । उनी उम्मेदवार बनेकै बेला मैले आफ्नो लेखमा उनी, अर्की कवि लीला अनमोल तथा अन्य कलाकार उम्मेदवारको प्रसंग ल्याएको थिएँ । भाषा, साहित्य, कला, संस्कृतिको मर्मको पाटोमा गहन रुपले हेर्ने र चेतनाको विकासलाई जोड दिँदै समाज चेतनशिल, सृजनशिल र कर्मशिल बनाउने कुरा आजको टड्कारो आवश्यकता हो । मान्छेहरु पैसामुखी हुँदै समाजलाई त्यतै डोर्याउँदै तत्काल उपलब्धि हात पर्ने काममा मात्र लाग्ने चिन्तनले हस्तक्षेप गरिरहेको विडम्वनापूर्णस्थिती छ । यसखाले प्रवृत्तिमा भ्रष्टाचार, अत्याचार, अनियमितता, बेथिती मौलाउने गर्छ । अर्धसामन्ती चिन्तनबाट गुज्रिएको समाजमा हुर्किएका हामीबीच सृजनशिलताको महत्वले ठाउँ पाएको छैन ।
अग्रजले टीका लगाएर आशिर्वाद दिँदा ‘ठूलो मान्छे हुनु, धेरै पैसा कमाउनु’ भन्ने कुराले हाम्रो बालशुलभ मस्तिष्कमा जसरी पनि धेरै पैसा कमाउने भन्ने सिकाई जान्छ । जीवनयापन गर्न पैसा आवश्यक परेपनि पैसा नै सवथोक हो भन्ने कुराले प्राथमिकता पाउँदा समाजमा मान्छेले मान्छेलाई उचाल्ने, पछार्ने, मिच्ने र ठूला ठूला अपराध गर्ने प्रबृत्ति हावी हुन्छ र यो समय त्यसैमा भ्रमात्मक छ । यसकारण, यो समाजलाई मात्र प्रेम, सद्भाव, सहयोग, इमानको समतामुलक समाजतर्फ उन्मुख बनाउन चेतनाको विकास अत्यन्तै आवश्यक छ । सृजनशिल काम गरेर समाजलाई सृजनशिलतातर्फ डोर्याउने शुत्र प्रत्येक जीवनका शुत्र बन्नु पर्छ । ठूलो मान्छे होइन, असल मान्छे बन्नु पर्छ भन्ने मुलमन्त्र समाजमा स्थापित गर्नुपर्छ । यो निर्वाचनमा सवै दल र सवै उम्मेदवारहरुका गहन योजना विहीन तात्कालिन उस्तै उस्तै खाले प्रतिवद्धता थिए ।
अबको यति वर्षमा समाज यस्तो बनाउने भन्ने शुक्ष्म अध्ययन गरी दृष्टिकोण बनाइएको देखिदैन । गुरुयोजना बनाइएको छैन । नगर र गाउँपालिका गुरुयोजनाविहीन हिसावले मात्र तात्कालिन अवस्थामा भोट तान्ने मुद्धा र बुँदाहरुमा प्रतिवद्धतापत्र केन्द्रीत थिए । ठोस योजना सहित समाजको सुन्दर अनुहार निर्माणका लागि सर्जकहरुको सुन्दर सिर्जना जस्तै सुन्दर गुरुयोजना बनोस् । भौतिक विकास मात्र विकास बुझ्ने प्रबृत्तिमाझ चेतनाको विकास सवै विकास र मानवीयताको मेरुदण्ड हो भन्ने कुरालाई योजनावद्ध रुपमा अगाडि बढाइयोस् ।
सर्जक बाहेककासँग कुनै भिजन नै हुँदैन चाँही भन्न खोजेको होइन । सृजनशिल भिजन भएकाहरुको एकता होस् । अरुको लहै लहैमा लाग्नु भन्दा एक दुई जनाले नै भएपनि यी चिन्तनका विषयमा चिन्ता जाहेर गरेर योजना बनाउन सकियो भनें हाम्रो लोकतन्त्र, संघीयता, सिंहदवारको अधिकार गाउँ गाउँमा सार्थक रुपमा फूल्ने र फल्ने वातावरण हुन्छ । ताराले आफुले लेखेको कविता जस्तै सुन्दर र मानवउपयोगी योजना आफ्नो नगरमा ल्याएर कार्यान्वयन गराइन् भनें अरु नगर र गाउँपालिकाले पनि त्यो सिक्नेछन् ।
अनि आफु साहित्यकार भएर सृजनामार्फत विकृतिमाथि प्रहार र असल मानव बन्ने चेतना प्रवाह गरेको कुरा टोल टोल, वस्ती वस्ती पुग्न सकोस् । हुन त त्यहाँ रेखा सुवेदीहरुको अगुवाईमा केही वर्षअघिदेखि नगरपालिकाको सहयोगमा साहित्यिक समिति नै खडा भएको र केही गतिविधि भइरहेको छ । त्यो गतिविधि अझ सक्रिय बन्दै वडा तहमा समेत भित्रिन सकोस् । साहित्यले सर्वसाधारण मानिसलाई समेत छुने, उनीहरुको दुखसुखमा साथ दिने वातावरण बनोस् । सवै नगर र गाउँपालिकामा प्रत्येक वडामा एउटा एउटा पुस्तकालय खडा गर्न सकिए सृजनशिलताको निकै राम्रो मलजल हुने थियो ।
ती पुस्तकालयमार्फत जीवन उपयोगी प्रेरणादायी सामग्री अध्ययन गर्नाले समाज स्वाभिमानपूर्वक दर्विलो बन्ने थियो । अव पनि समाजसँग साहित्य जोड्न सकिएन भनें साहित्यकार साहित्यकारबीच साहित्य सुन्ने र सुनाउने लहडी कुरामै सिमित बन्नु साहित्यको मुल मर्ममाथि प्रहार गर्नु हो । यो निर्वाचनमा जनप्रतिनिधि बनेका ताराहरु अलि बढी सृजनशिल लाग्छन् । कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले लामो समय प्राध्यापन क्षेत्रका व्यक्तित्व हुन् । धरान नगर प्रमुख तारा सुब्बा पनि त्यो मर्मलाई बुझ्ने व्यक्ति भन्ने मैले ठानेको छु । यी र यस्ता थुप्रै ताराहरु अव यो समाजको आकाशमा अँधेरी रात विरुद्ध नौलाख तारा बनुन् । चेतनाकर्मका लागि राक्षसी प्रबृत्तिहरुको अन्त्य गर्न शक्तिशाली दुर्गा बनेर छाउन् । शुभकामना ।