धरान/भारतको जम्मुको हमिरपुरमा कार्यरत् रहेका बेला पाकिस्तानी क्षेत्रबाट भएको फायरिङमा परी दिवङ्गत भएका धरान–११, सोलिङमार्गका विमल तामाङको अहिले परिवार शोकमा डुबेको छ ।एक दिनअघि छोरा विमलको हालचाल बुझेका पिता बलबहादुर र आमा नरमाया स्याङ्बो तामाङ यतिखेर शोकमा डुबेका हुन् । ‘लक्ष्मीपूजाको दिन बिहान नानी के गर्दैछस्, कस्तो छ तँलाई भनेर फोन गरेको थिएँ’, शोकमा रहेका पिता बलबहादुर भन्छन्, ‘लडाइँ चलेको सुनिन्छ । सजग रहनू है भनेर भनेको थिएँ ।’यसरी सम्झाएको एक दिन नबित्दै त्यसै समयमा पेट्रोलिङमा जाँदा फायरिङमा परेर छोराको मृत्यु भएको खबर बलबहादुरले प्राप्त गर्दा उनी अवाक भए ।
अघिल्लो दिन मात्रै आपूmले पत्रपत्रिका र टिभीमा लडाइँ भइरहेको खबर आइरहेको बताउँदा उनले ‘पत्रपत्रिका र टिभीले बढाइचढाइ गरेर लेख्छ, त्यो हेरेर आत्तिनु पर्दैन’ भन्दै छोराले जवाफ फर्काएको उनलाई अहिले जस्तो लागेको छ । यसो भनेको ठीक ४० घण्टामा फायरिङमा उनको मृत्यु भएको जानकारी उनी कार्यरत् ७÷११ गोर्खा राइफलमा कार्यरत् नेपालीबाट बुबाले थाहा पाए ।एक दिनअघि मात्रै नआत्तिन सम्झाएको छोराको मृत्युको खबरले परिवारमा बज्रपात नै भयो । मृत्युको खबरको पीडासँगै छोराको अनुहारसम्म देख्न नपाई काजकिरिया गर्नु पर्दा पीडाको पहाडले उनलाई थिचेको छ । जसले उनलाई खबर गरेका थिए, उसले अहिले पनि फायरिङ भइरहेको र शव ल्याउन नसकिएको जानकारी गराएको उनले बताए ।मृत्यु भएको झण्डै १२ घण्टापछि मात्रै करीब १० बजे राति छोराको शव मङ्गलबार उतै दाहसंस्कार गरेपछि परिवार थप पीडित भएको छ । परिवारले उनको सम्झनामा फोटो राखेर बौद्ध धर्मशास्त्रअनुसार संस्कार गरिरहेको छ ।
छोरासँग फोनमा कुराकानी गरेको दिन लक्ष्मीपूजा थियो । साँझ लक्ष्मीपूजा गर्दा दियोसमेत निभेको उनले बताए । श्रीमती नरमायाले समेत लक्ष्मीपूजा गर्दा ‘के बिर्सिएको, के बिर्सिएको जस्तो हुन्छ’ भनेर भनेको उनी बताउँछन् । ‘सानीमा चाहिँले लक्ष्मीपूजा गर्दा बत्तीको दियो नै निभेको थियो रे’, उनले भने, ‘श्रीमतीलाई पनि के बिर्सेको, के बिर्सेको जस्तो भाथ्यो अरे ।’सबैतिर तिहारको माहौल छाइरहँदा उनले आप्mना कान्छा छोरा गुमाए । उनलाई तिहार पनि नरमाइलो भयो । छोराको मृत्युको खबरले उनको हातगोडा नै चलेन । तीन छोरामध्ये दुईजना गोर्खा पल्टनमै थिए । कान्छा छोराको मृत्यु भएको थाहा पाएपछि अरुणाञ्चलमा कार्यरत् अर्का छोरा छुट्टी मिलाएर घर आइपुगेका छन् । जेठो झापामा कुखुरा फारम चलाएर बसेका छन् । मोरङको बयरवन–८ बिहीबारेबाट १२ वर्षअघि बलबहादुर धरान आइपुगेका थिए ।छोराहरु कमाउने भएपछि मनमा शान्ति भएको उनले बताए तर अहिले यस्तो खबर आएपछि उनमा बेचैनी बढेको छ । त्यसो त बेचैनी जम्मुमा फायरिङ भइरहेको छ भन्दा नै उनलाई हुने गरेको थियो । दैनिक राति १ बजेसम्म ‘आजतक’ च्यानल हेर्थे र मनलाई बुझाउँथे । छोरालाई हालखबर सोध्थे ।
छोराले ‘आत्तिनु पर्दैन’ भन्ने जवाफ फर्काउँदा मात्रै उनी मनमा भएको पीरको भारी बिसाउँथे । ‘छोराहरु फौजी भएपछि डरत्रासमै बाँचेको छु । त्यसमाथि पनि जम्मुमा परेको थियो’, उनी भन्छन्, ‘आजतक हेरेको हे¥यै गर्थें रातको १ बजेसम्म ।’२० वर्षमा हिँड्दै गरेका विमल धरानको फुस्रेबाट २०७० साल असार १३ गते भर्ती भएका थिए । भर्तीपछि तालिम सकेर लखनउ बसेर जम्मु पुगेको छ महिनाअघि गत जेठमा मात्रै उनी जम्मु पुगेका थिए । त्यसै क्रममा हरेक दिन गरिने पेट्रोलिङका क्रममा फायरिङमा परी उनको मृत्यु भएको थियो । ज्ञानोदय उच्चमाविमा कक्षा ११ मा अध्ययन गर्दागर्दै उनी आर्मी भएका थिए । माहिलो छोरो किशोर एलेभेन जीआरमा कार्यरत् छन् । चाहिँदो मात्रै बोल्ने विमलले भारतीय आर्मीमै जाने कुरा गर्ने गरेको बलबहादुर बताउँछन् ।
पेट्रोलिङमा ६ जनाको टोली गएको बेला छोरा अन्तिममा रहेकाले गोली लागेको हुनसक्ने अनुमान बलबहादुर लगाउँछन् । त्यही पल्टनको हेडक्वार्टरमा कार्यरत् दीपेश राईका अनुसार एकपटकमा दिनमा ६ जना र रातमा ८ जना पेट्रोलिङमा पठाउने गरिन्छ । भारत र पाकिस्तानका फौजको क्याम्प करीब ६५ मिटरदेखि सय मिटरको हाराहारीमा रहने गरेको उनी बताउँछन् । त्यहाँ फायरिङ हुने हुँदा जतिखेर जे पनि हुन सक्ने उनको भनाइ छ । विमल सेभेन एलेभेन जीआरको डेल्टा कम्पनीमा राइफल म्यान पदमा थिए । त्यहाँबाट भारत–पाकिस्तान सीमा करीब ६५ मिटर टाढा छ । ‘पाकिस्तानले मेरो हो, भारतले मेरो हो भनेर त्यहाँ लडाइँ चल्छ’, विमलकै घरमा बुधबार भेटिएका दीपेश भन्छन्, ‘त्यसलाई लाइन अफ कन्ट्रोल क्षेत्र भन्छन् ।’