bharatगुहाटी /  करिब एक साता लामो वर्षासँगै आएको बाढीका कारण डुबानमा परेका हजारौँ मानिसलाई उनीहरुको बस्तीबाट सुरक्षितस्थलतर्फ उद्धार गरिएको छ । उक्त क्षेत्रमा बाढीका कारण लाखौँ मानिस घरबारबिहीन बनेका छन् भने विगत केही दिनयता ५२ जनाको मृत्यु भएको छ । वर्षाका कारण आसाममा मात्र २६ जनाको मृत्यु भएको र बाढीले सडक भत्काउँदा डुबानमा परेका मानिसको उद्धारमा समस्या परेको स्थानीय अधिकारीले बताएका छन् । बाढीले सडक छेउमा गाडिएको बिजुली तथा टेलिफोनका पोलहरु लडाउँदा ठाउँठाउँमा विद्युत् एवम् टेलिफोन सेवा अवरुद्ध बनेको छ । आसाममा बाढीका कारण दर्जनौँ मानिसको मृत्यु भएपछि डुबान क्षेत्रमा हेलिकप्टरबाट भ्रमण गरी फर्किएका भारतीय गृहमन्त्री राजनाथ सिंहले आसाम क्षेत्रमा डुबानका कारण गम्भीर सङ्केत देखिएको बताए । भारतको उत्तरी प्रदेश विहार राज्य सरकारले डुबान क्षेत्रमा ३५० भन्दा बढी अस्थायी सहायता केन्द्र स्थापना गरी विस्थापित मानिसलाई खाना तथा अन्य अतिआवश्यकीय कुराको अभाव टार्ने प्रयास भइरहेको बताईएको छ । बाढीका कारण काजिराङ नेशनल पार्क जुन एकसिङ्गे गैँडाको बास्थानका लागि महत्वपूर्ण निकुञ्ज पनि डुबानमा परेको छ । जसका कारण हजारौँ वन्यजन्तुलाई प्रभावित तुल्याएको छ ।