विषय प्रवेश पूर्व क्षेत्रकै मनोहर र ऐतिहासिक शहर धरान उपनगरपालिकाअन्तर्गत सर्दू खोलापारि करीब हजार फिट उँचाइको माछामारा डाँडामा १२ बिघा क्षेत्रफलमा पैmलिएको मनोरम स्थान छ । त्यस मनमोहक स्थानमा धरानका अत्यन्त जाँगरिला, विकासप्रेमी, समाजसेवी, शाहसी र दानी ब्रिटिस गोर्खा भूपूहरु तथा तिनका परिवारहरुको शाहसबाट उक्त मनोरम स्थलमा ब्रिटिस गोर्खा भूपूहरुको दुई सय वर्षको इतिहास तथा पूर्वाञ्चलकै इतिहासमा पहिलोपटक ठूूलो लगानीमा अत्यन्त आकर्षक गोर्खा मेमोरियल पार्कको निर्माण भइरहेको छ । संसारभरि छरिएर बसेका ब्रिटिस गोर्खा भूपू तथा कार्यरत् गोर्खाहरुको प्रतिनिधित्व हुने गरी युद्धस्तरमा यो ऐतिहासिक गोर्खा मेमोरियल पार्कको निर्माण भइरहेको हो । यसले विशेष गरी ऐतिहासिक विजयपुर क्षेत्रको इतिहासमा नयाँ आयाम थप गर्नेछ । यसको जस विशेष गरी आर्थिक तथा शारीरिक रुपमा योगदान पु¥याउने पार्कका अध्यक्ष श्री दानबहादुर राई तथा उनकै संयोजकत्वमा रहेको निर्माण समितिम रहेका सदस्य ब्रिटिस गोर्खा भूपू सङ्घका सुनसरी अध्यक्ष श्री गजेन्द्र इस्बो, पार्कका परिकल्पनाकार श्री रमेश राई, महिला कमिटी अध्यक्ष श्रीमती सुमित्रा राई र श्रीमती चन्द्रमाया मावो लिम्बूहरुले पाउने छन् । यो गोर्खा मेमोरियल पार्कले दुई सय वर्षसम्म इतिहासको गर्भमा समाहित भइसकेको वीर पुर्खाहरुको वीरगाथाको इतिहासलाई गर्भबाट सतहमा ल्याउन प्रयास गर्नेछ । सुगौली सन्धिपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले पहिलो महायुद्ध आरम्भ हुनुपूर्व वार्षिक १० लाख भारु लिने शर्तमा नेपालबाट मात्रै ९ लाख ५० हजार योद्धा भारत पठाए भने ब्रिटिसले नेपालस्थित आप्mना गल्लावालहरुबाट २ लाख नेपाली योद्धा भर्ती ग¥यो । त्यस्तै सन् १९४७ को त्रिपक्षीय सन्धिअनुसार भारतीय र ब्रिटिस सेनामा भर्ती भएर ठूलो सङ्ख्यामा वीरगति प्राप्त गरेका योद्धाहरुका वीरगाथाबाट अनभिज्ञ नेपाली नागरिकहरुलाई त्यसबारे जान्ने अवसर पक्कै पनि यो गोर्खा मेमोरियल पार्कले दिनेछ । यो पार्क अप्रत्यक्ष रुपमा युद्ध र महायुद्धहरुमा शत्रुसित लड्दालड्दै वीरगति प्राप्त गरेका लडाकू भूपूहरुको दिवंगत आत्माहरुको समाधिस्थल हुनेछ । सम्भव भएसम्म र थाहा भएसम्म विश्वभर जहाँ–जहाँ वीर योद्धाहरुका समाधिस्थलहरु छन्, त्यहाँबाट एक मुठी माटो ल्याई यस पार्कभित्र एउटा संयुक्त समाधिस्थल निर्माण गरी त्यहाँ राखिने निर्माणकर्ताहरुले प्रकाशमा ल्याएका छन् । यो अति नै सकारात्मक सोँच हो । यसै क्रममा यो पङ्क्तिकारले सुनेको तथा लेख–रचनाहरुबाट थाहा पाएको मन छुने विषय यस लेखमा जोड्न लागिएको छ । भारतको मणिपुर प्रान्तको एक ठाउँमा दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका गोर्खाहरुसमेत १५ सय योद्धाहरुको समाधिस्थल छ । ती समाधिस्थलमध्ये एउटा समाधिको शिलालेखमा लेखिएको छ– ुत्यमबथ धभ नबखभ यगच षिभ ायच थयगच तयmयचचयध।ु यस्तो मार्मिक भनाइ कोरिएको समाधिस्थलमा निर्माणकर्ताहरु नपुगेका भए एकपटक पुगेर त्यहाँबाट पनि एक मुठ्ठी माटो ल्याउने प्रयास भए राम्रो हुने थियो । गोर्खा र ब्रिटिसबीच पहिलो युद्ध ः वि.सं. १७७९ मा जन्मिएका पृथ्वीनारायण शाह वि.सं.१७९९ मा १२ हजार घरधुरी भएको सानो मुलुक गोर्खाका राजा भए । उनी अत्यन्त चतुर, दूरदर्शी र बहादुर हुनाका साथै राज्य विस्तारमा महत्वाकाङ्क्षी थिए । उनी १७९९ मा राजा बन्दा भारत वर्षमा मुगल साम्राज्य विघटन उन्मुख थियो । ब्रिटिसहरु त्यस बेला व्यापारमा लिप्त मात्र होइन, भारत वर्षको राजनीतिमा समेत चाख लिन थालेका थिए । मुगल साम्राज्यलाई कमजोर बनाउन उनीहरु विद्रोही राजाहरुलाई गोप्य रुपमा सहयोग तथा हातहतियार पनि बिक्री गर्थे । मुगल साम्राज्यअन्तर्गतका राजारजौटा र नवाबहरु पनि स्वतन्त्र हुन थाले । यही क्रममा मुगलबाट स्वतन्त्र भएका बङ्गालका नवाब सुरज दोलाहसित सन् १७५७ मा कलकत्ता नजिक प्लासिमा भएको युद्धमा ब्रिटिस फौज विजयी भयो । दोस्रोपटक मुर्सिदावादमा भएको युद्धमा नवाब मारिए सन् १७६३ मा । त्यसपछि सम्पूर्ण बङ्गाल ब्रिटिसहरुको अधिनमा गयो । त्यस बेला बङ्गालका ब्रिटिस शासक लर्ड क्लिभ थिए । त्यसताका वर्तमान बिहारको आधा भूमि बङ्गालमा पथ्र्यो । त्यस बेलासम्म हाल भन्ने गरिएको ‘ग्रेटर लिम्बूवान’ को सिमाना जोगबनी र पूर्णियाको बीचमा पर्ने जलालगढ थियो । काठमाडौँका राजा जयप्रकाश मल्लले राजा पृथ्वीनारायण शाहासित युद्ध गर्न ब्रिटिससित मद्दत मागे । उनलाई सैनिक सहयोग गर्न ब्रिटिसले क्याप्टेन किनलकको नेतृत्वमा २४ सय सैनिक काठमाडौँ हान्न पठाए तर सिन्धुलीगढीमा गोर्खा फौजसित भएको युद्धमा नराम्रोसित पराजित भई ब्रिटिस सेना फर्कियो । यो गोर्खा र ब्रिटिसबीचको पहिलो युद्ध थियो । पहाडिया नेटिभहरु ब्रिटिस फौजमाः ब्रिटिस र गोर्खा राज्यबीच पहिलो युद्ध सन् १७६७ मा भएको थियो । दोस्रो युद्ध सन् १८१४ र १८१५ मा भयो । इतिहासअनुसार सन् १७६७ को युद्ध हुनुभन्दा एक वर्षअगाडि अर्थात् सन् १७६६ मा पहाडिया आदिवासीहरु पछि गोर्खा इम्पायरबाट एक बथान नेटिभहरु तत्कालीन भारत वर्षको मद्रास प्रदेशको भेलोरमा भर्ती हुन पुगे । उनीहरु कर्णेल डोनेल्ड क्यामबेलेको नेतृत्वमा गठन भएको ‘द टेन्थ नेटिभ इन्फेन्ट्री’ मा भर्ती भए । उक्त पल्टनमा भारतीय नेटिभहरु पनि सामेल थिए । इतिहासका अनेकौं उतारचढाव र कैयौं परिवर्तनको सामना गर्दै सन् १८९० तिर यो इन्फेन्टिभ पल्टन पूर्ण रुपमा गोर्खा जातिको पल्टन हुन पुग्यो र सन् १९०१ मा ‘द टेन्थ गोर्खा बटालियन’ बन्न पुग्यो । सन् १९९४ मा उक्त ऐतिहासिक पल्टनको विघटन भयो । गोर्खा राज्यसित भएको दोस्रो युद्ध हुनुपूर्व यो पल्टनले भारत वर्षमा ब्रिटिस तथा गोरा सिपाहीसित मिलेर कयौं युद्धहरुमा वीरतापूर्वक लडिसकेको थियो । स्न १७८१ र १७८२ मा मैसूरका सुल्तान हैदरअलीसित भएको युद्धमा पनि लड्यो । सुल्तान हैदर अलीका छोरा टिपु सुल्तानसित भएको सन् १७८९ को र सन् १७९१ मा भएको युद्धमा वीरताको परिचय दिन सफल भयो । यो पल्टनले सन् १७९९ मा टिपु सुल्तानसित भएको अन्तिम युद्धमा ठूलै बहादुरी देखायो । उक्त निर्णायक युद्धमा टिपु सुल्तान मारिए । सन् १८०३ मा मरहठ्ठासित भएको दोस्रो युद्धमा उनीहरु ड्युक अफ वेलिन्टनले नेतृत्व गरेको फौजमा सरिक भई वीरतापूर्वक लडे । सेनापति ड्युक अफ वेलिन्टनलाई आप्mनो वीरताको परिचय दिन उनीहरु पछि परेनन् । त्यति धेरै युद्धमा सहभागी भई बहादुरी कमाइसकेको पल्टन सन् १७९६ मा फस्र्ट बटालियन टेन्थ रेजिमेन्ट मद्रास नेटिभ इन्फेन्ट्रीले गोर्खासित १८१४ र १८१५ मा गरेको युद्धमा सहभागी भएको देखिँदैन । गोर्खा भर्तीको आधार ः ब्रिटिसले पहिलोपटक गोर्खा साम्राज्य अर्थात् गोर्खा फौजसित युद्ध गरेको हुनाले दोस्रो युद्ध समाप्तिपछि उनीहरुले खडा गरेका पल्टनहरुलाई गोर्खा रेजिमेन्ट नामकरण गरे र सिपाहीहरुलाई पनि ‘गोर्खा सिपाही’ भन्न थाले । दोस्रो युद्ध हुनुपूर्व राजा पृथ्वीनारायण शाह र उनीपछिका राजाहरुले कयौं स–साना राजा रजौटाहरुलाई पराजित गरी वा आप्mनो अधिनमा पारी गोर्खा राज्यको सिमाना पश्चिममा सतलजसम्म पु¥याए । त्यस बेला ठूलो भू–भाग ओगटिरहेको गोर्खा राज्यलाई ब्रिटिसहरु ‘गोर्खा साम्राज्य’ तथा ‘गोर्खा इम्पायर’ भन्ने गर्थे । ब्रिटिसहरुले हारको बदला लिन उही दिन कसम खाएका थिए जुन दिन सिन्धुलीगढीबाट पछि हट्न बाध्य भए । युद्ध भएको केही वर्षमा राजा पृथ्वीनाराणय शाहको मृत्यु भयो । ब्रिटिसहरु भारत वर्ष कब्जा गर्न व्यस्त थिए । भारत वर्ष पूरै कब्जा गरिसकेपछि बदला पूरा गर्ने सोँच बनाए पनि बीचैमा अनावश्यक निहुँ खोज्न थाले । त्यसको लागि गोर्खा राज्य तयार थिएन । उनीहरु ब्रिटिसबाट पुनः आक्रमण हुने आशङ्कामा थिएनन् । राज्यको आर्थिक स्थिति कमजोर थियो, सेनाको सङ्ख्या पनि कम थियो । कम सेनाले लामो सिमानाको रक्षा गर्न सम्भव थिएन । दरबार सत्ता तानातानमा व्यस्त थियो । यी सबै हालखबर ब्रिटिसहरुले जासुसहरुद्वारा निरन्तर पाइरहेका थिए । त्यस विषयमा गोर्खा दरबार अनभिज्ञ थियो । यही मौका पारी ब्रिटिसले अचानक आक्रमण ग¥यो जसको कारण वर्तमान नेपालको निर्माण भयो । गोर्खा मेमोरियल पार्कको ऐतिहासिक दायित्व ः दिवंगत गोर्खाहरुको सम्झनामा निर्माण भइरहेको गोर्खा मेमोरियल पार्कले पूर्वाञ्चलभरिका दिवंगत गोर्खाहरुलाई मात्र नभई वर्तमान नेपाल र विश्वभर छरिएका दिवंगत गोर्खाहरुको पनि प्रतिनिधित्व अवश्य गर्नेछ । विश्व भन्नाले पहिलो महायुद्धमा फ्रान्स, इजिप्ट, वागदत, मेसोपोटामिया, पर्सिया, प्यालेस्टाइन, ग्यालिपोली तथा दोस्रो महायुद्धमा नर्थ अफ्रिका, तब्रुक, इटाली, बर्मा, इन्डोचिन, मलाया, सिङ्गापुर, जाभा र इन्डोनेसिया र अफगानिस्तान आदि मुलुकहरुमा दिवंगत भएकाहरुलाई पनि यस पार्कले पक्कै स्मरण गर्नेछ । भुटान र चीनसमेत पुगी ब्रिटिस साम्राज्यका लागि ज्यान दिने गोर्खालीहरुको इतिहासलाई पनि यस ऐतिहासिक पार्कले स्मरण गर्न चुक्ने छैन । साथै फोकल्यान्ड, कोसोभो, इराक र अफगानिस्तानमा समेत प्राणको आहुती दिनेहरुलाई सम्मानजनक स्थान दिनेछ यो पार्कले । अन्त्यमा ः यो पार्कले पूर्णता पाएपछि भूपूहरुका लागि मात्र नभई सम्पूर्ण धरान उपमहानगरपालिकाका बासिन्दाहरुको साझा सम्पत्ति तथा सम्पदाको रुपमा परिचित हुनेछ । यो बहुआयामिक पार्कले भूपू हरुको अस्तित्वलाई मात्र स्थापित गर्ने छैन, यो धरान उपमहानगरपालिकाको आयस्रोतको माध्यम पनि हुनेछ । देशी–विदेशी पर्यटकहरुको गन्तव्य बन्न सक्ने यो गोर्खा मेमोरियल पार्कले भूपूहरु सँगसँगै सम्पूर्ण धरानवासीको नामको सुवास विश्वभरि छर्नेछ र कालान्तरमा यो पार्क सबैका लागि जिउँदो म्युजियम बन्नेछ ।